अर्थ

चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैंडा शिकार

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारीले गैंडा मारेका छन्। जगतपुर बेलहठ्ठा हरियाली मध्यवर्ती सामुदायिक वनमा खाग झिकेको अवस्थामा मृत गैडा फोला परेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए। चितवन निकुञ्जमा वि.सं. २०७१ सालको वैशाख २० गते यता तस्करहरुले गैंडा मारेका थिएनन्। 

घटना स्थलमा रहेका जगतपुरको केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष सनबहादुर तमाङका अनुसार गैंडाको टाकोमा गोली लागेको अवस्था छ। गैंडा चोरी शिकार शून्य भएको तीन वर्ष मनाउने तयारीका साथ विशेष सुरक्षा योजना सञ्चालन भइरहेको समयमा फेरि गैंडा शिकार भएको हो। यही बेलामा गैंडा स्थानान्तरणको कामसमेत चलिरहेको छ । 

निकुञ्ज मुख्यालय कसराबाट लगभग तीन किलो मिटर पश्चिममा नै सो घटना भएको हो। यसअघि ७१ साल वैशाख २० मा पनि सोही क्षेत्र वरपर नै तस्करहरुले गैंडा मारेका थिए। गैंडाको खागका लागि तस्करहरुले गैंडाको हत्या गर्ने गरेका छन् । केही वर्षअघि चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा तस्करहरुले वर्षमा ३७ वटासम्म गैंडा मारेका थिए। 

 

प्रकाशित: २६ चैत्र २०७३ ०७:३७ शनिबार

चितवन राष्ट्रिय निकुञ्जमा फेरि गैंडा शिकार