अर्थ

आर्थिक नीतिमा स्थायित्व नहुँदा समस्या

मुलुकको अर्थतन्त्र संकुचित भएको सर्वविदितै छ। कतिपय व्यवसाय बन्द भएका छन्। राजस्व पनि २०-२२ प्रतिशतले घटिरहेको छ। सरकारले चालु खर्चका लागि आन्तरिक र बाह्य ऋण लिएर परिचालन गर्नुपर्ने अवस्था आएको छ। आर्थिक नीतिमा स्थायित्व नभएका कारण यो सबै भइरहेको हो। हाम्रो मुलुकमा ३-३ महिनामा आर्थिक नीति परिवर्तन भइरहेको छ। केही गरी त्यस अवधिमा भएन भने ६-६ महिनामा परिवर्तन गर्ने चलन छ। नेतृत्व परिवर्तन हुने वित्तिकै अर्को कुरा आइहाल्ने गरेको छ। आर्थिक नीतिमा स्थायित्व नभएकै कारण अर्थव्यवस्थामा चुनौती छ।  

अर्थतन्त्र चलायमान हुन सरकारले प्रोत्साहनमूलक योजना ल्याउनुपर्यो। उद्योग व्यवसायी र आमजनताले जुन महँगी भोगिरहेका छन्, यसलाई समेटने किसिमको योजना यो बजेटमा पाउन सकिएन्। यसले बजेट ‘हात्ती आयो हात्ति आयो फुस्स’ भनेजस्तै भयो। सुरुमा यो हुनेछ त्यो हुनेछ भन्ने पछि कार्यान्वयन नहुने गर्छ। यो दुःखको कुरा हो। 

बजेटको सकारात्मक पक्षमा इआइए ३० दिनभित्र हुने भन्ने छ। जडीबुटीजन्य कुराको उत्पादन र निर्यातको कुरा छ, यो छिटो गर्नुपर्यो। गिट्टी ढुङगाको कुरामा पनि प्राकृतिक संरक्षणको विषयलाई ध्यानमा राखेर निकासी गर्नुपर्यो। आर्थिक एजेण्डामा पक्ष विपक्ष गर्नु भएन। मुलुकको हित हेरेर सबैको एउटै आवाज हुनुपर्छ।

हाम्रो मुलुकले विषेशगरी कृषि, पर्यटन, जलस्रोत, आइटीमा ध्यान दिनुपर्छ। कृषिको कुरामा स्थानीय उत्पादनलाई प्रवद्र्धन र उपभोग गरेर अनलाइन गेटवेमा जडिबुटीजन्य कुराहरू छन् भने प्रत्यक्ष निर्यात हुने गरी पहुँच बिस्तार गर्नुपर्छ। विना बिचैलिया काम गर्ने वातावरण हुनु पर्यो। मुलुकलाई आत्मनिर्भर बनाएर विश्वमा निर्यात गर्ने के के हुन सक्छ त्यसतर्फ ध्यान दिनु पर्यो। उत्पादनलाई प्रवद्र्धन गर्नतिर लाग्नुपर्यो।  

सरकारी निजी पार्टनरसिपमा लगानी भयो भने जलविद्युत्क्षेत्रको व्यापारघाटलाई नियन्त्रण गर्न सकिन्छ। पर्यटन क्षेत्रमा ठूलठूला होटल बनाउन थालिएको छ। यसलाई प्रदेश तथा स्थानीय तहमा बिस्तार गर्नुपर्छ। होमस्टेको अवधारणा, स्थानीय संस्कृतिहरूको प्रचारप्रसार, स्थानीय स्रोत साधनको प्रवद्र्धन गरेर नेपाल आएका पर्यटक बस्ने समय र खर्च बढाउन कोसिस गनुपर्यो।  

सूचना प्रविधि क्षेत्रमा यसपटक ९÷१० हजार विद्यार्थी उत्पादन भइरहेका छन्, यसको उपयोग कसरी गर्ने? त्यसतर्फ ध्यान दिनु पर्यो। हुन त अर्थतन्त्रको सूचक नेपालमा मात्र होइन, विश्वभरि नै नकारात्मक देखिएको छ। छिमेकमा रहेका ठूला मुलुकहरू के गरिरहेका छन् त्यसलाई हेरेर पाठ सिक्नुपर्छ।  

अहिले हरेक मानिस आर्थिक मन्दीले आक्रान्त छन्। त्यसको कारण के हो भनेर सरकारले अध्ययन गर्नुपर्यो। यो त सबभन्दा ठूलो समस्या हो। अहिले उद्योगी, व्यापारीलाई परेको समस्या भनेका बैंकको ब्याज हो। विगतमा साढे सात प्रतिशतमा लिएको ऋणको ब्याज १४-१५ प्रतिशत पुगेको छ। यसले गर्दा खर्च गर्ने प्रवृत्तिमा व्यापक परिवर्तन भएको छ। के खाने, के लाउने अवस्थामा पु¥याएको छ। बैंक ब्याज बुझाउँदा बुझाउँदै हैरान हुने अवस्था छ।

(नेपाल रिपव्लिक मिडियाले आयोजना गरेको गोलमेच बैठकमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष मल्लले राखेको धारणाको सम्पादित अंश।)

प्रकाशित: २४ जेष्ठ २०८० ०२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App