काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितलाई आवास पुनर्निर्माणका लागि सहुलियत तथा विशेष कर्जा सहज रूपमा उपलब्ध गराउन नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ ।
भूकम्पपीडितलाई आवास पुनर्निर्माणका लागि सहुलियत तथा विशेष कर्जा सहज रूपमा उपलब्ध गराउन नेपाल राष्ट्रबैंकलाई निर्देशन
प्राधिकरणका प्रवक्ता यमलाल भुसालले प्रक्रिया सरल बनाई सहज रूपमा कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउन मंगलबार राष्ट्रबैंकलाई लिखित निर्देशन दिएको बताए । ‘हालसम्म करिब ५० करोड रुपैयाँको हाराहारीमा सहुलियत कर्जा प्रवाह भएको जानकारी प्राप्त भएको छ’, भुसालले भने, ‘कतिपय पीडितबाट सहुलियत तथा विशेष कर्जा प्राप्त गर्न कठिनाइ भएको गुनासो आएकाले निर्देशन दिएका हौं ।’
क्षतिग्रस्त घर पुनर्निर्माण गर्न बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन इच्छुक भूकम्पपीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा ऋण लिन सक्ने व्यवस्था राष्ट्रबैंकको कार्यविधिमा छ । उक्त कार्यविधिअनुसार काठमाडौं उपत्यकाभित्र २५ लाख र उपत्यकाबाहिर १५ लाख रुपैयाँसम्म विशेष आवास कर्जा पाउँछन् ।
लाभग्राहीको व्यवस्था मिलाउन समिति
यसैबीच प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा जग्गासम्बन्धी प्रमाण अभावले अनुदान सम्झौता हुन नसकेका लाभग्राहीका लागि आवश्यक व्यवस्था मिलाउन पहल गर्ने भएको छ ।
मंगलबारको कार्यकारी समिति बैठकले सो कार्यका लागि कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरेको छ । समितिलाई लालपुर्जालगायत जग्गासम्बन्धी प्रमाण अभावमा अनुदान सम्झौता हुन नसकेका लाभग्राहीको तथ्यांक यकिन गरी केकस्तो नीतिगत व्यवस्था गर्न सकिन्छ भन्ने सुझाव एक साताभित्र पेस गर्ने जिम्मेवारी दिइएको छ ।
लालपुर्जा नभएका तथा जग्गासम्बन्धी प्रमाणको अभावमा भूकम्प प्रभावित १४ जिल्लाका ७७ हजार सात सय ८१ जना लाभग्राहीस“ग आवास पुनर्निर्माणका लागि अनुदान सम्झौता हुन नसकेको प्राधिकरणले जनाएको छ ।
यसैगरी भूकम्प कम प्रभावित १७ जिल्लाबाट थप ४४ हजार चार सय ४३ घरधुरीलाई लाभग्राही सूचीमा समावेश गरेको छ । प्राधिकरणले सर्वेक्षण सकिएकामध्ये दोस्रो चरणमा ती लाभग्राहीलाई सूचीकृत गरेको हो । प्राधिकरणले पहिलो चरणमा १५ हजार सात सय ४३ घरधुरीलाई लाभग्राही सूचीमा समावेश गरेको थियो । लाभग्राही सूचीमा परेकाले निजी आवास पुनर्निर्माणका लागि तीन लाख रुपैयाँ अनुदान पाउँछन् ।
प्रकाशित: २३ चैत्र २०७३ ०३:३० बुधबार