अर्थ

पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मिडियासँग सम्झौता

काठमाडौं– नेपाल पर्यटन बोर्डले विश्व बजारमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिबिसी, रोयटर्स र ट्रिप एडभाइजरसँग सोमबार सम्झौता गरेको छ। सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशी, बिबिसीका विशाल भट्टनागर, ट्रिप एडभाइजरका भरतनाथ पाल र रोयटर्सका दक्षिण एसिया निर्देशक एसएन वादरीले हस्ताक्षर गरेका छन्।

बोर्डका कार्यकारी प्रमुख जोशीले नेपालमा पर्यटन प्रवद्र्धन गर्न इतिहासमै पहिलोपटक सम्झौता भएको बताए । यसरी अन्तर्राष्ट्रिय सञ्चार माध्यमसँग सम्झौता हुँदा नयाँ आयम सुरु भएको जोशीको भनाइ छ ।

जोशीका अनुसार सम्झौता अनुसार पहिलो ६ महिनासम्म बिबिसीले दिनमा नेपालसम्बन्धी १० देखि १२ भिडियो प्रसारण गर्नेछ। यसका लागि बोर्डले बिबिसीसँग ६ लाख ५० हजार डलरमा सम्झौता गरेको जोशीले जानकारी दिए ।

रोयर्टसमा मे १ देखि तीन महिनाका लागि सम्झौता भएको छ । रोयटर्ससँग नौ लाख ७५ हजार डलरमा दुई सम्झौता भएको जोशीले जानकारी दिए । ट्रिप एडभाइजरले नेपालको पर्यटनबारे मंगलबारदेखि लेख, भिडियो तथा विज्ञापन प्रसारण गर्ने सम्झौतापत्रमा उल्लेख छ । यसका लागि दुई लाख ५० हजार डलर बजेट छ ।

भूकम्पपछि नेपालको पर्यटन उद्योग उकास्न नसकिएको र अन्तर्राष्ट्रिय बजारमा अझै प्रभावकारी सन्देश पुग्न नसकेको भन्दै पर्यटन बोर्डले प्रचारप्रसारको रणनीति लिएको हो । बोर्डको चालु आर्थिक वर्षको बजेटबाटै उक्त सम्झौता गरिएको जोशीले जानकारी दिए ।

सम्झौता भएका मिडियामा लेख, विज्ञापन तथा भिडियो राष्ट्र अनुसारको भाषा र छुट्टाछुट्टै फिचर भिडियो तथा फोटो प्रसारण हुने जोशीको भनाइ छ । उक्त सामग्रीले दिने सन्देश भने एउटै हुने छ । अन्तर्राष्ट्रिय मिडियामा प्रस्तुत हुने सामग्री नेपाली कला, संस्कृति, प्राकृतिक दृश्य र मौलिक पहिचान झल्कने संस्कृतिसमेत रहने बोर्डले जनाएको छ ।

कार्यक्रममा बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले नेपाल विश्व पर्यटनमा पहिलो रहेको दाबी गर्दै अन्तर्राष्ट्रिय पर्यटन बजारमा मिडियाकै माध्यमबाट अघि बढ्नुपर्ने धारणा राखे । नेपालमा पर्यटन प्रवद्र्धनसँगै भौतिक पूर्वाधारको विकास र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छरितो ढंगले दुई वर्षमा सम्पन्न गराउनुपर्ने अधिकारीले बताए । नेपालमा हवाई टिकट महँगो भएकाले पनि यस्को सम्भाव्यता अध्ययन गर्दै सरल ढंगबाट पर्यटक भिœयाउने स्किम ल्याउनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २२ चैत्र २०७३ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App