अर्थ

राजधानीमा नवौं संस्करणको फर्निचर एक्स्पो

आगामी असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ। नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो। 

नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको संघका अध्यक्ष दिनेश अग्रवालले बताए।

आर्थिक गतिविधिहरू सुस्त भइरहेका बेला एक्स्पोले बजार चलायमान बनाउन सघाउने विश्वास लिइएको बताउँदै उनले स्टल बुकिङ खुल्ला भएकोले फर्निचर व्यवसायमा आबद्ध व्यवसायीहरूलाई सहभागिताका लागि अनुरोध गरे।

एक्स्पोका संयोजक निकुञ्ज अग्रवालका अनुसार संघको डिल्लीबजार चारखालस्थित सचिवालयका साथै युनियन पार्क नजिकै रहेको इभेण्ट सोलुसनको कार्यलयमा सम्पर्क गरी स्टल बुकिङ गर्न सकिनेछ। साथै अनलाइन माध्यमबाट स्टक बुकिङ गर्ने व्यवस्था गर्ने अन्तिम तयारी भएको पनि आयोजकले जनाएका छन्। एक्स्पोमा १०० भन्दा बढी स्टल रहनेछन्। एक्स्पोमा सहभागी हुन चाहनेहरूलाई समयमनै स्टल बुकिङ गर्न एक्स्पो संयोजक अग्रवालले आग्रह गरेका छन्।

एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिने आयोजकले जनाएको छ। साथै एक्स्पोले राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्रान्डलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्नका लागि सहज मार्गनिर्देशन गर्नेछ भने ग्राहकलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीद्वारा उत्पादित विभिन्न सामग्री उपलब्ध गराउन विशेष भूमिका खेल्ने विश्वास आयोजकले लिएका छन्।  

प्रकाशित: २२ जेष्ठ २०८० ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App