अर्थ

माइस टुरिजमः पोखरासँग अवसर छ, पूर्वाधार छैनन्

पोखरामा हालै भएको पाटाको सम्मेलन। तस्बिरः नागरिक

पोखरामा हालै आयोजित एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्टको एउटा उद्देश्य पोखरालाई ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) को गन्तव्यको रुपमा पहिचान दिलाउन प्रयास गर्ने पनि थियो।  

पोखरा क्षेत्रले साहसिक पर्यटकीय गन्तव्यको रुपमा लामो समयदेखि पहिचान बनाइसकेकोले भविश्यमा पोखरालाई माइस टुरिजमको गन्तव्यको रुपमा चिनाउन पाटा सम्मेलनले सघाउने उद्देश्य राखेको थियो। तर, पोखरा आफैमा पर्यटकीय सहर भएर पनि यसले माइस टुरिजमबाट उत्तिसारो लाभ लिन नपाएको गुनासो यहाँका व्यावसायीले गर्दै आएका छन। त्यसो हुनुमा पूर्वाधार अभाव रहेको भन्ने व्यवसायीले बताउँदै आएका छन्।  

व्यावसायीका अनुसार ‘माइस टुरिजम’ को राम्रो पक्ष भनेको यसले खर्चालु पाहुना भित्र्याउने अवसर दिलाउँछ र सबैखाले व्यावसायीले यो समूहबाट लाभ लिन सक्छ। तर, पोखराले माइस टुरिजमका लागि आवश्यक पूर्वाधार अभावमा सोचेजति फाइदा लिन नसकेको उनीहरुको भनाई छ।  

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले अहिले सानो आकारमा मात्र गतिविधि भईरहँदा ठुलो क्षमताको सभा,सम्मेलन, गोष्ठि जस्ता कार्यक्रम गर्न पोखरा अझै असक्षम रहेको बताए। ‘एक–डेढसय जनासम्मका लागि हामीसँग पर्याप्त पूर्वाधार छन। तर, एउटै इभेन्टमा एकहजार पाहुना आउने हो भने त्यो आकारमा सभा–सम्मेलन आयोजना गर्ने क्षमता पोखराले राख्दैन,’ श्रेष्ठले भने,‘अहिले साना आकारका कार्यक्रमबाट लाभ लिन सकेपनि क्षमता बढेर पाहुना आउँदा पोखराले धान्न सक्दैन।’

उनका अनुसार माइस टुरिजम भनेर भित्रिएका जति नै सुकै धेरै पाहुना भएपनि उनीहरुका लागि खानपिन र बसोबासमा समस्या नभएपनि व्यवसायिक छलफल, मिटिङ, सभा सम्मेलन गर्ने बलियो क्षमता भने पोखराले राख्न सक्दैन। ‘आवश्यक होटल, कोठा, रेस्टुरेन्ट, पहूँच लगायतमा समस्या छैन। तर, ठूलो समुहका लागि यहाँ अझै पनि पूर्वाधार अभाव छ,’ उनले भने। यहाँका होटलमा बढीमा पाँचसय जनासम्म पाहुनालाई सभासम्मेलनका लाग राख्न सकिने भएपनि त्यो भन्दा बढी क्षमतामा सभासम्मेलन गराउन सकिने अवस्था नरहेको उनले बताए।

‘माइस टुरिजमबाट पर्याप्त लाभ लिन सकिन्छ। अहिले पनि पोखराले सानो आकारमा लाभ त लिएको छ। तर, त्यो बढाउने क्षमता राख्न सकेको छैन,’ उनले भने। उनका अनुसार माइस टुरिजम अन्तर्गत भित्रिने पाहुनालाई सरकारले आकर्षण गर्न विभिन्न प्याकेज ल्याउन सक्छ। माइस टुरिजम बढाउनका लागि टुर अपरेटर संचालन गराउने निकायलाइ आकर्षण गर्नेगरि सरकारले प्याकेज ल्याउन जरुरी रहेको उनले बताए। कम्तिमा एउटा ठुलो समुह माइस टुरिजमका लागि आउने हो भने त्यो समुहलाई कुनै सुविधा दिन सकिने उनले बताए। ‘पाटाले आयोजना गरेजस्तै ठुला आकारका कार्यक्रम पोखरा भित्र्याउने  सक्ने हो भने त्यसको लाभ पर्यटनमा हुन्छ,’ उनले भने।  

पर्यटन बोर्ड पोखराका निर्देशक काशिराज भण्डारीका अनुसार इन्सेन्टिभ टुरिजमका लागि पोखरा उपयुक्त गन्तव्य हो इन्सेन्टिभ टुरिजम अन्तर्गत ठुला कम्पनिले आफ्ना कर्मचारीलाई वर्षमा एकपटक घुमाउन लैजाने गर्छन। त्यो बेला कर्मचारीका लागि कम्पनिले खर्च गर्छन। त्यस्तो बेला हजारौंको संख्यामा पनि कर्मचारीको मुभमेन्ट हुन्छ। त्यसबाहेक कर्मचारीको परिवारको खर्च पनि कतिपय कम्पनिले बेहोर्ने हुन्छन। त्यस्ता पाहुना तान्न सक्ने हो भने त्यसको लाभ पर्यटनले कमाउन सक्ने भण्डारीले बताए।  

‘माइस टुरिजमको अभ्यास काठमाडौंमा छ। पोखरासँग पनि यसको सम्भावना पर्याप्त छ। तर, ठुला सभासम्मेलन गर्ने हल नभएकोले पोखराले क्षमता देखाउन सकेको छैन,’ भण्डारीले भने, ‘माइस टुरिजमका लागि ठुला आकारमा सभाहल नै पूर्वाधार मानिन्छन्।’ सभासम्मेलनका लागि आउने समुहले यहाँ सभासम्मेलन, बैठक, गोष्ठि लगायतका गतिविधि गर्ने भएकोले पनि फराकिला आकारका पूर्वाधार चाहिने उनले बताए।  

‘आर्थिक रुपमा ठुलो रकम माइस टुरिजममा खर्च भएको हुन्छ। तर त्यसका लागि ठुला पूर्वाधार आवश्यक हुन्छन। सानातिना कार्यक्रम त होटललमा पनि हुन्छन, तर, पोखरामा उत्तिसारो ठुला आकारका सभास्थल छैनन,’ भण्डारीले भने। पोखरालाई माइस टुरिजमको गन्तव्यको रुपमा विकास गर्ने हो भने हालको सभागृहलाई व्यवस्थित बनाउनुपर्ने उनले बताए ।‘माइस टुरिजममा आउने पाहुनाको सुविधाका लागि खुला ठाउँ हुनुपर्छ। कम्तिमा १५ सय देखि २ हजार जनासम्म पाहुना अट्ने क्षमताको पूर्वाधार विकास हुनुपर्छ। त्यसो भएमा ती सहरले माइस टुरिजमबाट लाभ पाउन सक्छ,’ उनले भने।

उनका अनुसार साना आकारका सभा सम्मेलनका लागि पोखराका होटल उपयुक्त छन। तरपनि ठुला सभाहल भने यहाँ छैनन। ‘पोखरामा साना साना कार्यक्रम आइरहन्छन । शैक्षिक भ्रमण पनि इन्सेन्टिभ टुर जस्तै हो। त्यसैले यस्ता गतिविधि गर्नका लागि लगानी ग¥यौ भने भविश्यमा लाभ लिन सकिन्छ,’ उनले भने।  

भण्डारीका अनुसार यो बेला भारतमा अधिक गर्मि छ। यस्तो बेला केहीदिन नेपाल घुमेर गर्मि छलौ र त्यसका लागि पोखरामा सभासम्मेलन, बैठक गरौ भनेर पाहुना तान्न सकिने पनि उनले बताए। ‘माइस टुरिजमका लागि ठुला कम्पनिले पहिलो पटक नै ठुला आकारका हल छन् वा छैनन भनेर सोध्छन। यहाँ पूर्वाधार नपाएर अन्यत्र गएका छन्। कतिपय ठाउँमा निजी क्षेत्रले पनि बनाएको हुन्छ,’ उनले भने, ‘सबै ठाउँमा सरकारले नै यस्ता पूर्वाधार बनाउनुपर्छ भन्ने छैन । पोखरामा पनि यस्ता पूर्वाधार चाहिन्छ, निजी क्षेत्रले पनि बनाउन सक्छ।’

माउन्टेनिरियङ, पदयात्रा जस्तै माइस टुरिजम पनि महंगो हुने उनले बताए। ‘पैसा खल्तिमा भएको कम्पनिले गर्ने गतिविधिमा यो पर्छ,’ उनले भने। उनका अनुसार पाटाका यस्ता एडेभेन्चर मार्ट यसअघि पनि पोखरामा भएको थियो। यस्तै खालका सभासम्मेलन मासिक रुपमा कुनै न कुनै निकायले गर्ने हो भने पर्यटनलाई आर्थिक रुपमा सहज हुने उनले बताए। 

‘ठुला कम्पनि, संस्थाले गर्ने यस्ता गतिविधि भएकोले पनि आवश्यक पूर्वाधार खडा गरेर पहुँच बढाउनुपर्छ,’ उनले भने। उनले पनि अहिले पोखरामा खानपिन र बसोबासका लागि समस्या नभएपनि सभासम्मेलनका लागि क्षमताले नधान्ने उनले बताए। ‘पोखरासँग आकर्षण गर्न सक्ने सबै सुविधा छ। अहिले पनि सानातिना कार्यक्रम त भएकै छन । ती कार्यक्रमले पनि लाभ दिएको छ,’ उनले भने, ‘तर, ठुला पूर्वाधार अभाव छ।’

पोखरा महानगरको पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेल माइस टुरिजमका लागि पोखरा उपयुक्त गन्तव्य भएपनि ठुला पूर्वाधार अभाव रहेकोले उत्तिसारो लाभ पाउन नसकेको बताउँछन। ‘पर्यटनमा महानगरले पूर्वाधारमा सहयोग गर्ने हो। विभिन्न योजना ल्याउने तयारी महानगरको छ,’ उनले भने। उनका अनुसार पोखराको प्रदर्शनी केन्द्रमा ३ हजार मान्छे अट्ने सभाहल बनाउने तयारी छ। करिब दुइअर्ब रुपैयाँ लगानीमा सभाहल बनाउने योजना सरकारको रहेको उनले बताए।

‘अहिले पनि पोखराले माइस टुरिजमबाट थोरै लाभ लिएको छ। तर, यसको अवसर धेरै छ,’ उनले भने, ‘पोखरा पर्यटकीय सहर भनिरहँदा आवश्यक पूर्वाधारको खोजी भईरहेको छ। माइस टुरिजमलाई सहज हुनेगरि पूर्वाधारको खाँचो पोखराले अनुभव गरेको छ।’  

प्रकाशित: २१ जेष्ठ २०८० ११:४५ आइतबार

माइस टुरिजम पोखरा पूर्वाधार छैनन्