अर्थ

सेयर कारोबार गर्न मुख्य सहर छिरे ब्रोकर

काठमाडौं- सेयर कारोबार गर्न ब्रोकरहरु मुख्य सहर छिरेका छन्। ब्रोकर कम्पनीहरुले आइतबार पहिलोपटक नेपालगन्ज, बनेपा र विर्तामोड शाखाबाट पनि सेयर कारोबार सुरु गरेका छन्। नारायणघाट, बुटवल र विराटनगरमा यसअघि नै केही ब्रोकरले शाखा विस्तार गरे पनि नेपालगन्ज, बनेपा र विर्तामोडमा भने लगानीकर्ताले पहिलोपटक सेयर खरिद–बिक्री गर्न पाएका हुन्।

नेपालगन्ज, बनेपा र विर्तामोडका लगानीकर्ताले पहिलोपटक आइतबारदेखि आफ्नै सहरमा सञ्चालनमा आएका ब्रोकर कम्पनीका शाखाबाट सेयर कारोबार गर्न पाएका छन्। धितोपत्र बोर्डले शाखा विस्तार रोक्न निर्देशन दिए पनि नेप्सेको दबाबका कारण ब्रोकरहरुले आइतबारदेखि नै उक्त स्थानमा सेवा विस्तार गरेका हुन्।

यसभन्दा पहिले देखि नै नौवटा कम्पनीको शाखाहरु उपत्यकाभन्दा बाहिरका सहरहरुमा सञ्चालनमा थिए। आशयपत्र प्राप्त गरिसकेका अन्य व्यवसायीले शाखा सञ्चालनको लागि पूर्वाधार तयार गर्ने कार्य गरिरहेका छन्। निकट भविष्यमा अन्य सहरहरुबाट कारोबार सुरु हुने स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले बताए।

धितोपत्र दलाल व्यवसायीहरुको वर्षौंदेखिको माग, स्थानीय तहमा सेवा उपलब्ध होस् भन्ने लगानीकर्ताको अपेक्षा, नेपाल सरकारको वित्तीय क्षेत्र विकास रणनीति र नेपाल धितोपत्र बोर्डले पटकपटक दिएकोे निर्देशन बमोजिम नेपाल स्टक एक्सचेन्जले देशका सम्भाव्यता भएका सहरहरुमा स्वैच्छिक रुपमा एक व्यवसायीलाई एक शाखा बिस्तार गर्न अनुमति दिएसँगै व्यवसायीले शाखा सञ्चालनमा ल्याएको स्टक ब्रोकर एसोसिएसनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

'यसबाट काठमाडौं उपत्यकाबाहिरका लगानीकर्ता तथा सरोकारवालाहरुको धितोपत्रको दोस्रो बजारमा पहँुच सहज हुने र स्थानीय स्तरबाटै सेवा प्राप्त हुनेछ। यो कार्यबाट लगानीकर्तामा थप उत्साह बढ्ने विश्वास लिएका छौं,' जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालमा हाल ५० वटा धितोपत्र दलाल व्यवसायी कार्यरत छन्। स्टक एक्सचेन्जले दिएको एक व्यवसायीलाई एक शाखा सञ्चालन अनुमतिबाट अब देशको विभिन्न १८ सहरमा दलाल व्यवसायीको शाखा सञ्चालनमा आउने छन्।

प्रकाशित: १४ चैत्र २०७३ ०५:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App