अर्थ

एनआइसी एसिया बैंकले व्यवस्था गर्यो निशुल्क बैंक खाता

मुगु – भर्खरै सदरमुकाम गमगढीमा स्थापना भएको एनआइसी एसिया बैंकले सर्वसाधारण मजदुरहरुको शुन्य मौज्दातमा निशुल्क रुपमा बैक खाता खोल्ने व्यवस्था मिलाएको छ ।
 अहिले सदरमुकाम स्थित छायानाथ रारा गाउँ पालिकामा पर्ने श्रीनगर, कार्कीवाडा, भामवाडा, तुम , ढुम लगायतका गाउँबस्तिका सर्वसाधारणका लागि बैंकले निशुल्क खाता खोल्ने व्यवस्था मिलाएको हो । विभिन्न गाउँपालिका मार्फत सञ्चालन हुने कर्णाली रोजगार कार्यक्रम अन्र्तगत एक घर एक रोजगारमा संलग्न मजदुरहरूका लागि बै‌क खाताबाट भुक्तानी दिन सहज होस भनेर कार्यक्रमको समन्वयमा बैंकले शून्य मौज्दातबाट सर्वसाधारणको खाता खोल्ने व्यवस्था मिलाएको कर्णाली रोजगार कार्यक्रमका कार्यक्रम संयोजक हंसराज न्यौपानेले जानकारी दिए । 
सदरमुकामबाट निशुल्क बैंक खाता खोल्ने कार्य सुरु गरेको बैंकले विस्तारै ग्रामीण क्षेत्रका सर्वसाधारणका लागि लघुवित्त कार्यक्रम, सहकारी मार्फत बैंकसंग आवद्ध गराउने लक्ष्य लिएको  जनाएको छ । मंगलवार र बुधवार ७० जना बढी सर्वसाधारणले निशुल्क बैंक खाता खोलेका छन् । चालु आर्थिक वर्षको असार मसान्तसम्म सदरमुकाम आसपासका तीन हजार सर्वसाधारणलाई शून्य मौज्दातमा निशुल्क खाता खोलेर बै‌कमा आवद्ध गराउने लक्ष्य राखिएको  बैंकले जनाएको छ ।

प्रकाशित: ९ चैत्र २०७३ १०:३२ बुधबार

एनआइसी एसिया बैंकले व्यवस्था गर्यो निशुल्क बैंक खाता