अर्थ

कालीगण्डकी करिडोर २०८३ सम्म सम्पन्न हुने, ६० प्रतिशत काम सम्पन्न

फाइल तस्बिर

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर आर्थिक वर्ष २०८३/०८४ सम्म सम्पन्न हुने भएको छ।

सरकारले २०८१ सम्मको लक्ष्य राखेपनि भौगोलिक कठिनाइका कारण बढी समय लाग्ने बताइएको हो। कालीगण्डकी करिडोरअन्तर्गत गैँडाकोट–राम्दी सम्मको सडकखण्ड भने हालसम्म  ६० प्रतिशत प्रगति भएको छ। आयोजनाको अवलोकन एवं निरीक्षण गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सडकखण्डको निर्माणको कामले तिब्रता पाएको बताए।

उनले देशभर निर्माणका काममा ढिलासुस्ती भएपनि कालीगण्डकी करिडोरको काम चुस्त रुपमा भइरहेको पाएको भन्दै खुशी व्यक्त गरे। उनले राम्दीदेखि रानीमलसम्मको काम भने सुस्त भएको बताए। कालीगण्डकी करिडोर धार्मिक मात्रै नभइ त्रिदेशीय व्यापारिक मार्गका रुपमा महत्वपूर्ण हुने विश्वास उनले व्यक्त गरे। उनले देशले अब त्रिदेशीय मार्गको उचित लाभ लिन सक्नुपर्ने बताए।

उनले भने, ‘कालीगण्डकी नदी धार्मिक हिसावले अत्यन्तै महत्वपूर्ण नदी, यसको उद्गमस्थल दामोदर कुण्डबाट शुरु भएर विभिन्न घाट, धार्मिक स्थलहरु हुँदै त्रिवेणीधामसम्म जाने भएकाले यसलाई त्रिवेणीधाम हुँदै मुस्ताङ दामोदर कुण्डसम्म जानको लागि एउटा कालीगण्डकी धार्मिक पर्यटकीय राजमार्गको रुपमा अघि बढाउँ भनेर प्रश्ताव गरेका थियौँ, यो सर्वसम्मतिले पास भएको थियो, सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याएर काम थालेका थियौँ। निर्माणका काम राम्रोसँग पनि भएको छ। देशभरका निर्माणका काममा ढिलासुस्ती भइरहेका बेलामा व्यवहारमा पनि त्यो अपवाद रहेको बेलामा यो काम अलि राम्रोसँग भइरहेको छ। राम्रो प्रगति गरेको छ, केही ठाउँमा अझै अफ्ठ्यारा रहेका छन्। दुई पार्टबाट साइड अफिस राखेर जिम्मेवारी दिइएको छ। राम्दीदेखि रानीमलसम्म अलि काम हुन कमजोर रहेको रहेछ, त्यसलाई प्राथमिकता दिन जरुरी देखियो, केही ठाउँमा ठेकेदारले राम्रो काम नगरेको देखियो। यो धार्मिक मात्रै नभइ त्रिदेशीय व्यापारिक मार्ग पनि हुनेभयो। कोरलामा नाका खोल्दा र सुस्तामा नाका खोल्दा त्रिदेशीय मार्ग, धार्मिक, पर्यटकीय र व्यापारिक हिसावले राम्रो छ, यसको लाभ देशले लिनुपर्छ। केही पार्टका कामहरुलाई गति दिन आवश्यक देखियो। अबको ढिलोमा तीन वर्षमा पूरा हुने देखियो।’

प्रकाशित: १४ जेष्ठ २०८० ०८:२३ आइतबार

कालीगण्डकी करिडोर