अर्थ

बारम्बार ब्याजदर नबढाउन निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्जा दिने बेला गरेको बाचाविपरीत बारम्बार ब्याजदर नबढाउन निर्देशन दिएको छ। बैंक तथा वित्तीय संस्थाले ब्याजदर बारम्बार बढाउन थालेपछि केन्द्रीय बैंकले यस्तो निर्देशन दिएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै तिर्न नसक्ने ऋणी र उसको परिवारप्रति सम्मान र सहानुभूति राख्न निर्देशन दिएको छ। आइतबार सबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो।

प्रत्येक ऋणीले ठगी गर्ने नियतले कर्जा नबुझाएको हो भन्ने मान्यता कर्जा प्रदायक संस्थाले राख्नु उपयुक्त नहुने भन्दै ऋणी र उसको परिवारप्रति सम्मान र सहानुभूति राखी न्यायोचित किसिमले कर्जा असुली प्रक्रिया थाल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ।

ऋण दिने बैंक तथा वित्तीय संस्थाले प्रत्येक ऋणीले ठगी गर्ने नियतले नै कर्जा चुक्ता नगरेको भन्ने मान्यता राख्न नहुने भन्दै यस्तो निर्देशन दिएको हो ।

यस्तै कर्जा लिने क्रममा नै ऋणीको सम्पत्तिको सही मूल्यांकन हुने वातावरणको सुनिश्चितता पनि बैंक तथा वित्तीय संस्थाले मिलाउनु पर्नेछ। समयमै ऋण तिर्न नसकेर धितो लिलामी भएका ऋणीले आफ्नो धितोको प्रचलित बजार भाउ अनुसार मूल्यांकन गर्न/गराउन पाउने भएका छन्।

यस्तै ऋण असुली प्रक्रिया सुरु भएपछि ऋणीको परिवारसँग सम्बन्धित अन्य सदस्यको सामाजिक प्रतिष्ठा, इज्जत, सम्मानमा प्रतिकूल प्रभाव नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रकाशित: ७ चैत्र २०७३ ०५:०५ सोमबार

बारम्बार ब्याजदर नबढाउन निर्देशन