अर्थ

साढे ८ अर्बका विद्युतीय सवारी साधन आयात

फाइल तस्बिर

चालु आर्थिक वर्षको १० महिनाको अवधिमा तीन हजार विद्युतीय सवारी साधन आयात भएका छन्। भन्सार विभागका अनुसार गत साउनदेखि वैशाखसम्मको अवधिमा करिब साढे ८ अर्ब रूपैयाँका २९ सय ५५ वटा चार पाङ्ग्रे विद्युतीय सवारीसाधन आयात भएका हुन्। 

आर्थिक वर्ष २०७८÷७९ मा भने १८ सय ७ वटा मात्रै विद्युतीय सवारीसाधन आयात भएका थिए। चालु आवको १० महिनाको अवधिमा गत आवको तुलनामा झण्डै ११ सय बढी विद्युतीय सवारीसाधन आयात भएका हुन्। चालु आर्थिक वर्षमा निजीक्षेत्रले ८ अर्ब ४१ करोड ६४ लाख ११ हजार रूपैयाँ खर्चेर ती सवारीसाधन आयात गरेका हुन्। विभागका अनुसार चार वटा मुलुकबाट एक सय किलोवाट क्षमताका चार पाङ्ग्रे २८ सय ८२ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्।

नेपाल भित्रिएका एक सय किलोवाट क्षमतामा चार पाङ्ग्रे सवारी साधनमा भारतबाट १९ सय ६८ वटा भित्रिएका छन्। चीनबाट ६ सय ६२ वटा आयात भएका छन्। दक्षिण कोरियाबाट २ सय ४९ वटा आयात भएका छन्। त्यसैगरी इण्डोनेसियाबाट ३ वटा विद्युतीय सवारी साधन आयात गरिएका छन्। विभागका अनुसार चालु आवको १० महिनाको अवधिमा एक सयदेखि २ सय किलोवाट क्षमताका ६६ वटा विद्युतीय सवारीसाधन आयात भएका छन्। २ सयदेखि ३ सय किलोवाट क्षमताका विद्युतीय सवारीसाधन भने ७ वटा आयात भएका छन्।

सरकारले चालु आवको बजेटमा तीन सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको भन्सार महसुल ४० प्रतिशतबाट वृद्धि गरेर ६० प्रतिशत बनाएको थियो। त्यसैगरी ३ सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको अन्तःशुल्क ४५ बाट बढाएर ६० प्रतिशत पु¥याइएको थियो। जसको कारणले चालु आर्थिक वर्षको १० महिनामा यो क्षमताका विद्युतीय सवारी साधन न्यून मात्रामा आयात भएका छन्। सरकारले आर्थिक ऐन मार्फत एक सय किलोदेखि दुई सय किलोवाट क्षमताका विद्युतीय सवारी साधनको १५ प्रतिशत भन्सार महसुल वृद्धि गरेर ३० प्रतिशत गराएको थियो।

चालु आवको १० महिनाको अवधिमा विद्युतीय तीनपाङ्ग्रे ५६ सय ७३ वटा सवारी साधन आयात भएका छन्। ती तीन पाङ्ग्रे सवारीसाधन आयात गर्न ५५ करोड ९० लाख रूपैयाँ लागेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको ८ महिनामा मात्रै चार पाङ्ग्रे २१ सय ९८ वटा विद्युतीय सवारी साधन भित्रिएको थियो।

विभागका अनुसार आठ महिनाको अवधिमा ५ अर्ब ४८ करोड २७ लाख ७२ हजार रूपैयाँका ९ वटा मोडेल तथा क्षमताका सवारी साधन आयात भएका थिए। विभागले जनाए अनुसार चार अर्ब ९२ करोड रूपैयाँ बराबरको १७ सय ४९ वटा चार पाङ्ग्रे सवारी साधन भित्रिएका थिए। माघ र फागुन महिनामा मात्रै ५६ करोड २७ लाख रूपैयाँ बराबरको ४ सय ४९ वटा विद्युतीय सवारी साधन आयात भएका थिए। विभागले आठ महिनाको अवधिमा एक सय किलोवाट क्षमताका २१ सय ३९ वटा विद्युतीय सवारी साधन विभिन्न मुलुकबाट आयात गरिएको जनाएको छ। चीनबाट एक सय किलोवाट क्षमताका ३३३ वटा चार  

पाङ्ग्रे विद्युतीय सवारी साधन आयात गर्दा ७६ करोड २२ लाख रूपैयाँ लागेको छ। भारतबाट एक सय किलोवाट क्षमताकै १५ सय ७१ वटा चार पाङ्ग्रे विद्युतीय सवारी साधन आयात गर्दा राज्यले ४ अर्ब २५ करोड ५८ लाख रूपैयाँ खर्चिएको छ। दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका २३२ र इन्डोनेसियाबाट ३ वटा विद्युतीय सवारी साधन आयात गरिएका छन्। विभागका अनुसार गत आर्थिक वर्षभरिमा १८ सय ७ वटा विद्युतीय सवारी साधन आयात भएका थिए। २०७७÷७८ मा भने २४९ वटा मात्रै आयात भएका थिए। 

प्रकाशित: १० जेष्ठ २०८० ०२:२७ बुधबार

साढे ८ अर्बका विद्युतीय सवारी साधन आयात