अर्थ

ललितपुरको खास सामर्थ्य प्रयोग हुन सकेन

ललितपुर उद्योग वाणिज्य संघ यही चैत ४ गतेदेखि ५० वर्षमा प्रवेश गर्दैछ। मुलुकको पुरानो यस उद्योग वाणिज्य संघले काठमाडौं उपत्यकाका व्यवसायी र स्थानीयसँग लामो सम्बन्ध स्थापित गरिसकेको छ। ललितपुरका व्यवसायीको हकहितमा लामो समयदेखि काम गर्दै आएको यस संघले विदेशमा समेत बजार विस्तारको काम गरिरहेको छ। स्वर्णजयन्ती मनाउदै गरेको यस संघका अध्यक्ष सविन श्रेष्ठसँग नागरिकका सन्तोष न्यौपानेले गरेको कुराकानी : 

संघको स्वर्ण जयन्ती कसरी मनाउँदै हुनुहुन्छ?

२०२३ सालमा ललितपुर उद्योग वाणिज्य संघको स्थापना भएको हो। हामी देशमा सबैभन्दा पहिला स्थापना हुने २५ वटा पुरानो उद्योग वाणिज्य संघभित्र पर्छौं।

प्रत्येक वर्ष स्थापना दिवस मनाउँदै आए पनि यसलाई अझ विशेष बनाउने तयारीमा छौं। यस संस्थाका सस्थापकहरूलाई सम्मान गर्ने योजना छ। विभिन्न छात्रवृत्ति दिँदैछौं। जस्तो कि ललितपुरमा हाइस्कुल पढ्ने १० जना विद्यार्थीलाई छात्रवृत्ति दिँदैछौं। त्यसैगरी, सैस्थापक अध्यक्ष बेखानाथ श्रेष्ठको नाममा पाटन क्याम्पसमा एक जना उत्कृष्ठ एमबिएस पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिन्छौं।

यसै वर्षदेखि राष्ट्रिय उत्पादन पुरस्कार दिँदैछौं। उत्पादकत्व बढाउन प्रेरणा मिलोस भनेर पुरस्कार दिन थालेका हौं। यो पुरस्कार राष्ट्रिय स्तरको हुनेछ। उत्पादनलाई बढाउने केही कार्यक्रम पनि सुरुआत गर्दैछौं।  

कसरी संघमा प्रवेश गर्नुभयो?

पढाइ सकिनेबित्तिकै बिजनेसमा लागियो। यसैबीच चेम्बरको आकर्षणले तान्यो नौ वर्षअघि यसमा प्रवेश गरेको हुँ। नौ वर्षे लामो अनुभवसँगै अहिले यो पदमा आइपुगेको छु। चेम्बरबाट मैले धेरै सिकें र यसमा मलाई काम गर्न पनि रस बन्दै गयो।

मेरो पुरानो व्यससाय भनेको पस्मिना उत्पादन हो। हेन्डिक्राफ्ट पनि निर्यात गर्छु। केही समय पहिला रेस्टुरा एन्ड बार बिजनेस (एफएनबी) मा पनि संलग्न थिए। अहिले समय दिन सकेको छैन। त्यसमा फेरि पनि लाग्छु।

५० वर्षको अवधिमा यो संघले ललितपुरलाई के योगदान दियो?

सबैभन्दा पहिलो कुरा त व्यवसायीलाई एक अभिभावकको भूमिका दिन सकेका छौं भन्ने बोध गराएको छ। ललितपुरमा धेरै व्यवसायी सुरक्षित र सहज छन्। यसमा यो संघको महŒवपूर्ण भूमिका छ।

कुनै पनि समस्या आउँदा यो संघमा आउने बानी छ। यसले स्थानीय स्तरमा धेरै समस्या लिएर हामीसँग आउनुहुन्छ। व्यवसायी मात्र होइन, टोल सुधार, स्थानीय बासिन्दा हामीसँग आउनुहुन्छ। यो पनि हाम्रो योगदानले नै भएको हो।

व्यवसायीको आवश्यकता अनुसार विभिन्न कार्यक्रम पनि गर्दै आएका छौं। लबिङ गर्न, विदेशमा एक्पोजर टि्रपलगायत  यहाँ विभिन्न ट्रेनिङ पनि दिइरहेका छौं। यस संघप्रति स्थानीयको ठूलो भरोसा छ।

ललितपुर व्यवसायको हब हो भनिन्छ। यहाँको मुख्य आकर्षण के हो?

ललितपुरको सामर्थ्य बुझ्न सक्नुपर्छ। यसको सामर्थ्य धेरै ठूलो छ। यो सामर्थ्य अनुसार काम गर्न सकिएको छैन भन्ने हाम्रो अनुभव छ। ललितपुर काठमाडौंसँग जोडिएको भौगोलिक अवस्थाले पनि राम्रो छ। यहाँ हस्तकलादेखि कृषि तथा पर्यटनको राम्रो सम्भावना भएको ठाउँ हो। हस्तकलाका लागि नेपालकै उत्कृष्ट ठाउँ हो। दक्षिणतिर जोडिने राजमार्गले पनि यसलाई अ्कभ ठूलो बनाउने छ। ललितपुरमा अझै पनि भीड ठूलो छैन। यसको दक्षिणी भेगमा खाली नै छ।

परम्परागत व्यवसाय, हस्तकला, हस्त शिल्प यहाँको चिनारी हो। ५०औं पुस्तादेखि यो व्यवसाय चल्दै आएको छ। आठ–नौ सय वर्ष पहिलेदेखिको व्यवसाय हो। देशबाट निकासी हुने हस्तकलामध्ये ६० प्रतिशतभन्दा धेरै त ललितपुरबाटै हुन्छ।

ललितपुरलाई पर्यटन व्यवसायको उपयुक्त अवसर भएको मानिन्छ। पर्यटनको आकर्षण गर्न तपाईंहरूले के गरिरहनु भएको छ?

यहाँ पर्यटक आकर्षण गर्न चाहिने वस्तु, उत्पादन प्रचुर छन् तर धेरै अगाडि जान सकेको छैन। पहिलो कुरा त भौगोलिक अवस्थाले फाइदा पनि छ र घाटा पनि छ। फाइदा भनेको यो काठमाडौंसँगै छ र सुगम छ। घाटा यो अर्थमा कि काठमाडौं उपत्यकामा आउने पर्यटक धेरै काठमाडौंमै बस्छन्। यहाँ दुई–तीन घन्टा बिताउने हिसाबले मात्र आउँछन्। यसले गर्दा ललितपुरमा उनीहरूको खर्च कम छ।

हामीले यहाँको आर्ट एन्ड क्राफ्ट, ऐतिहासिक धरोहरलाई राम्रोसँग प्रयोग गर्न सकेनौं। काठमाडौंमै निर्भर भएरका काम गरिहेका छौं। आफ्नै परिचय बनाउन सकेका छैनौं। आर्ट, संस्कृति, धार्मिक चालचलनले हामी धनी छौं। यिनैको सदुपयोग गरे मात्र पुग्छ।

हामीले केही कार्यक्रम पनि ल्याइसकेका छौं। यहाँको संस्कृति तथा सम्पदा, तथा आकर्षणलाई कसरी पस्कने भनेर स्थानीयलाई शिक्षित गरिरहेका छौं। त्यसैगरी पर्यटकलाई ललितपुर मै बस्ने वातावरण बनाउने ठूला होटल बनाउनु पर्ने छ। त्यो भन्दा पहिला 'होमस्टे' बनाएर एक–दुई रात ललितपुरमा बिताउने वातावरण बनाउन लागेका छौं। तीन महिनादेखि यो कामलाई तीव्ररुपमा लगेका छौं। अहिले होमस्टेको अभियानमा पनि लागेका छौं। ६–७ महिनामा कम्तीमा एक सय कोठा तयार गर्न सकियो भने 'होमस्टे' सुरु गरिहाल्ने योजना छ। यस मार्फत यहाँको संस्कृति पर्यटकलाई देखाउन पाउँछौं।

यस संघमार्फत स्वदेश र विदेशमा विभिन्न मेलामा सहभागी हुँदै आउनु भएको छ। कहाँ–कहाँ कसरी गरिरहनु भएको छ?

ललितपुरको हस्तकला उत्पादन धेरैजसो निर्यात हुन्छ। त्यसैले हामीले विदेशका बजार विस्तार गरिरहेका छौं। नेपालका लागि भुटान एक राम्रो बजार हो। पछिल्लो मेलामा भुटानमा ११ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो । त्यसैगरी भियतनाम, ताइवान, चीनमा हुने मेला तथा प्रदर्शनीमा सहभागी हुँदै आएका छौं। यसबाहेक अब एसियन मुलुक छाडेर क्यानडामा पनि मेला आयोजना गर्ने प्रयास भइरहेको छ। लाओसमा पनि जाने तयारीमा छौं। मेला एक माध्यम मात्र हो। हामीले त्यहाँको बजार विस्तार गर्ने हो। अर्डर धेरै आउँछ।

ललितपुर उद्योग वणिज्य संघका अबका योजना के के छन्?

यस संघको मूख्य काम भनेको व्यवसायीको हकहित नै हो। यो मात्र नहेरेर हामीले सामाजिक काम पनि धेरै गरेका छौं। ललितपुरमा व्यावसायिक वातावरण सधैं राम्रो होस् भन्ने काममा लागिरहेका छौं। यसै अनुसारका कार्यक्रम पनि ल्याइरहेका छौं।

ललितपुर जिल्लालाई एक जिल्ला एक उत्पादन अर्न्तगत हस्तकला उत्पादनको क्षेत्र घोषणा गरेर अगाडि बढ्ने योजनामा हामी छौं। नीतिगत रुपमा घोषणामा सहयोग गर्नुपर्छ। नेपाल सरकारबाट यस कार्यक्रममा सहयोग मिलेको छैन।

पछिल्लो समय व्यवसायीमा बैंकको ब्याजदरमा आएको परिवर्तनले समस्या पारेको छ। बैंकिङ तरलता अभावको कुरा झिकेर पुरानो ऋणमा ब्याजदर बढाइएको छ। यो समस्यामा धेरै व्यवसायी परेका छन्। यसलाई कसरी सम्बोधन गर्ने भन्ने ठूलो चुनौती पनि हामी समक्ष आएको छ। राज्यले यस्ता विषयमा उचित सम्बोधन गरी दिनुपर्छ।

भूकम्पले ललितपुरमा धेरै क्षति पुग्यो। भूकम्पपछिको पुनर्निर्माण कस्तो भइरहेको छ? यसमा तपाईंहरूले के योगदान गर्नु भएको छ?

हामीले धेरै नजिक रहेर यसमा काम गर्‍यौं र गरिहेका पनि छौं। भूकम्पपछि सबैभन्दा पहिला उद्दारमा निस्केको संघ ललितपुर उद्योग वाणिज्य संघ नै हो। पाटन क्षेत्रमा हामीले धेरै सहयोग र उद्दारका काम गर्‍यौं। सफा गर्ने, सुरक्षित गर्ने र व्यवस्थित गर्नेतर्फ हामी लाग्यौं।

पुनर्निर्माणमा व्यक्तिगत घर बनिरहेका छन्। परम्परागत संरचना पनि निर्माण भइरहेका छन्। हामीले पनि केही मन्दिर बनाउने योजना बनाएका छौं। भीमसेनको मन्दिर निर्माण छिटोभन्दा छिटो होस् भन्ने हाम्रो चाहना हो। हामी कुनै पनि किसिमको सहयोग गर्न तयार छौं। सरकारले पनि केही भूमिका दिनुपर्‍यो। कृष्ण मन्दिरको निर्माणमा पनि हाम्रो चाहना हो।

भूकम्पपछि हामीले भौतिक संरचनामा भएको क्षतिको मात्र कुरा गरिहेका छौं तर आर्थिक क्षति, व्यवसायमा परेको प्रभाव अझै ठूलो छ। उद्योगलाई असर गरेको छ। भूकम्पपछि युवाहरू विदेश जाने क्रम बढ्दै गएको छ भने विदेशबाट अर्डर भएको हेन्डिक्राफ्ट पुर्‍याउन नसकेको अवस्था पनि छ।

प्रकाशित: ३ चैत्र २०७३ ०४:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App