अर्थ

उदयपुरको राजश्वः लक्ष्य भेटाउन मुस्किल

करदाता सेवा कार्यालय उदयपुर भवन । तस्विरः महेश्वर

देशभरकै आर्थिक संकटको सूचक बनेर देखिएको उदयपुरको राजश्व संकलन लक्ष्य चुम्ने अपेक्षा गरिए पनि हम्मे छ । स्थानीय तहको अधिकार क्षेत्र भित्रबाहेक करदाता सेवा कार्यालय उदयपुरले चैत मसान्तसम्म संकलन गरेको ‘फिगर’ले राजश्वको वार्षिक लक्ष्य चुम्ने आशा मात्र गर्न सकिन्छ तर, विश्वास गर्ने आधार कमजोर छ।

कार्यालयले चैतको संकलन अवस्थालाई आधार मान्दा लगभग लक्ष्य छुन सक्ने आकलन गरेको छ तर, विश्वास गरिहाल्न नसकिने अवस्था रहेको जनाएको छ । माघभन्दा उताको तुलनामा पछिल्ला २ महिना संकलन दर बढ्दै गएको छ । तर, उत्साहजनक भने नभएको कार्यालयले जनाएको छ। 

माघसम्म निकै कमजोर संकलन दर रहेको उदयपुरमा फागुनमा उत्साहजनक राजश्व उठेको थियो। चैत र वैशाखमा फागुनको दाँजोमा निकै उत्साहप्रद हुनुपर्नेमा त्यस्तो हुन नसके पनि निराशै हुनुपर्ने अवस्था भने छैन। 

वैशाखको राजश्व संकलनको अवस्था हेर्दा शीर्षक अनुसार छ्यासमिसे प्रगति देखिन्छ । कुनै शीर्षकमा लक्ष्यभन्दा बढी त कुनैमा ५० प्रतिशत नाघ्न सकेको छैन । वैशाखमा आयकर १ सय २० प्रतिशत नाघेर उत्साहप्रद रुपमा संकलन भएको छ भने मूल्य अभिवृद्धि कर (भ्याट) ७५ प्रतिशत नाघेको छ । 

घर बहाल कर ४८ प्रतिशतमा सीमित हुन पुग्दा अन्तःशुल्क २१ तथा व्याज कर १६ प्रतिशतमा खुम्चिएको छ । 

आयकर वैशाखमा १ करोड ७७ लाख ५९ हजार उठाउने लक्ष्य लिएकोमा १ सय २१ प्रतिशत प्रगति गरेर २ करोड १५ लाख ६३ हजार संकलन भएको कार्यालयका सूचना अधिकारी रेक मगरले बताए । उनका अनुसार आयकर चालु वर्ष २६ करोड ७५ लाख ८० हजार उठाउने लक्ष्य लिइएको थियो । 

जसमा वैशाख मसान्तसम्म २० करोड ३ लाख ३३ हजार उठेर लक्ष्यको ७४.८७ प्रतिशत प्रगति गरिरहेको छ । 

त्यसैगरी घर बहाल कर वैशाखमा १० लाख ५८ हजार उठाउने लक्ष्य लिएको कार्यालयले ५ लाख १६ हजार मात्र संकलन गरे लक्ष्यको ४८.७९ प्रतिशत प्रगति गरेको छ । चालु वर्ष घर बहाल कर .१ करोड १० लाख १ हजार उठाउने लक्ष्य लिइएकोमा हालसम्म ७४ लाख ८८ हजार उठेर ६८.०७ प्रतिशत प्रगति गरेको छ । व्याज कर वैशाखमा १ लाख ९५ हजार उठेर १६.१३ प्रतिशतमा खुम्चन पुगेको छ । वैशाखमा १२ लाख ८ हजार उठाउने लक्ष्य कार्यालयले लिएको थियो । त्यसैगरी व्याज कर पनि नगण्य उठेको छ । चालु वर्ष ५९ लाख ८६ हजार उठाउने लक्ष्य लिएको व्याज कर हालसम्म ३५ लाख ७२ हजार संकलन भए ५९.६७ प्रतिशत पुगेको छ।  

कार्यालयले हालसम्म भ्याटबापतको राजश्व १८ करोड ५९ लाख ४ हजार उठाएको छ । जुन लक्ष्यको ८३.५८ प्रतिशत प्रगति हो । कार्यालयले यो वर्ष २२ करोड २४ लाख ३५ हजार उठाउने लक्ष्य लिएको थियो । भ्याटवापत यो वर्ष २२ करोड २४ लाख ३५ हजार उठाउने लक्ष्य लिएको थियो । वैशाखमा मात्र भ्याटवापत २ करोड ८ लाख ६९ हजार राजश्व संकलन भएको छ जबकि वैशाखको लक्ष्य २ करोड ७७ लाख ७५ हजार उठाउने प्रक्षेपण थियो । जस अनुसार वैशाखमा लक्ष्यको ७५.१४ प्रतिशत प्रगति भएको छ। 

अन्तःशुल्क बापत वैशाखमा ११ लाख ९२ हजार संकलन भएको छ । वैशाखको लक्ष्य ५५ लाख ६२ हजार थियो भने लक्ष्यको २१.३७ प्रतिशत मात्र प्रगति भएको छ । वार्षिक लक्ष्यको ३०.३६ प्रतिशत मात्र प्रगति हासिल भएको अन्तःशुल्क हालसम्म १ करोड २४ लाख ७८ हजार संंकलन भईरहेको छ। 

यसरी कुल राजश्व कार्यालयले वैशाखमा ४ करोड ४३ लाख ३६ हजार संकलन गरेको छ । मासिक लक्ष्य ५ करोड ३३ लाख ७६ हजार लिएको कार्यालयले ८३.०६ प्रतिशत प्रगति गरेको मगरले बताए । साउनदेखि वैशाखसम्मको लक्ष्य ५४ करोड ८० लाख ९८ हजार उठाउने प्रक्षेपण गरेकोमा ४० करोड ९७ लाख ७३ हजार संकलन गरेर ७४.७८ प्रतिशत प्रगति गरेको सूचना अधिकारी मगरले बताएका छन्। 

कार्यालय प्रमुख टेकबहादुर कार्कीले अहिलेसम्म कुल राजश्व वार्षिक लक्ष्यको ७४.७६ र वैशाखको लक्ष्यको ८३.०६ प्रतिशत हासिल भएको बताए । उनले जेठ र असार महिला सिंगो बाँकी रहेकाले सो अवधिभित्र संभवत लक्ष्य चुम्ने गरी राजश्व उठ्ने अपेक्षा गरेका छन् । साल तमामीको अन्त्यको २ महिना (पिक आवर) बाँकी रहेकाले त्यो अवधिले लक्ष्य चुम्न सहयोग पुग्ने अपेक्षा उनले गरेका छन् । तर, लक्ष्य चुम्न २५ प्रतिशत हाराहारी बाँकी रहेकाले ‘टार्गेट मिट’ हुन्छ नै भन्न नसकिने कार्कीले बताए। 

प्रकाशित: ७ जेष्ठ २०८० ०५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App