अर्थ

वर्षाले झण्डै ५ कराेडकाे इँटा नष्ट

रौतहट– दुई दिनको वर्षाले रौतहटका इँटा उद्योगमा करोडौँको काँचाे इँटा क्षति भएको छ । शुक्रबार साँझ हावाहुरीसँगै आएको पानी र शनिबार बिहानसम्म परेको ठूलो पानीले रौतहटका सयभन्दा बढी इँटा उद्योगमा झण्डै ५ कराेड रूपैयाँ बराबरकाे काँचाे इँटा क्षति भएको हो।

रौतहट इँटा व्यावयासी संघका अध्यक्ष विनोदकुमार साहले रौतहटमा सयभन्दा बढी इँटा उद्योग रहेकोमा सबै इँटा उद्योगमा सरदर ५ लाखको दरले मात्रै क्षति भएको मान्ने हो भने पनि जिल्लाको इँटा उद्योगमा ५ करोडभन्दा बढीको क्षति भएको बताए। 

गत असोजको दोस्रो सातादेखि पानी नपरेको रौटहटमा शुक्रबार र शनिबार भएको वर्षाले इँटा उद्योगीलाई निकै ठूलो घाटा भएको उनीहरुले बताएका छन्। ठूलो परिमाणमा इँटा उत्पादन हुने यस सिजन(फागुन–चैत)मा भारी वर्षा हुँदा वर्षेनी करोडौं मूल्य बराबरको इँटा क्षति हुँदै आएको छ।

पोल्नको लागि तयार पारिएको करिब ८ लाख इँटा पानीले गलेर काम नलाग्ने भएको भगवती इँटा उद्योग पिपरा भलोहियाका सञ्चालक अरुण साहले बताए। 

‘८ लाख इँटा बिग्रिँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ,’ उनले भने, ‘इँटा व्यावसायीको ढाड भाँच्चिएको छ।’ 

रौतहटको समनपुरमा आर एन्ड सि इँटा उद्योग चलाएका रामचन्द्र सहनीले पनि पोल्न तयार पारेको करिब साढे चार लाख इँटा वर्षाले बर्वाद भएको बताए। ‘मेरो करिब २० लाख रुपैयाँ बराबरको इँटा क्षति भयो,’ उनले भने, ‘वर्षाले कोइला, इँटा, माटो र मजदुर सबै पक्षमा प्रभाव पारेकाले करिब एक सय कामदारको होली पर्वलाई खल्लो बनाएको छ।’ 

रौतहट इँटा व्यावयासी संघका अध्यक्ष विनोदकुमार साहले रौतहटमा सयभन्दा बढी इँटा उद्योग रहेकोमा सबै इँटा उद्योगमा सरदर ५ लाखको दरले मात्रै क्षति भएको मान्ने हो भने पनि जिल्लाको इँटा उद्योगमा ५ करोडभन्दा बढीको क्षति भएको बताए। 

वर्षाले इँटा उद्यमीको कारोबारमा ज्यादै नकारात्मक असर पु¥याएको बताउँदै अध्यक्ष साहले कम्तीमा ५ करोड र बढीमा २० करोडको क्षति भएको बताएका छन्। दुई दिनको वर्षाले उद्योगमा जमेको पानी पन्छाउँदै गरिएकोले पनि क्षतिको यकिन विवरण निकाल्न बाँकी रहेको उद्योगीहरुले बताएका छन्।

जिल्लाका इँटा उद्योगहरुमा कम्तीमा २ हजार जनाले रोजगारी पाएका छन्। तर, होलीको मुखैमा आएर अत्यधिक वर्षा भएकोले कामदारलाई इँटा उद्योगीले दिने चाडपर्व खर्च दिन सकिने सम्भावना नरहेको संघका अध्यक्ष साहले बताए। 

त्यसैगरी, दुई दिनको वर्षाले जिल्लाको कृषि बालीमा पनि निकै क्षति पु¥याएको छ । खेतमा पाकेको मसुरो, गहुँ र तोरीबालीलाई निकै क्षति पु¥याएको छ । रौतहटको विशुनपूर्वा मानपुरका विनोदकुमार मुखियाले गहुँ, मसुरो र तोरीबालीलाई निकै क्षति पु¥याएको बताएका छन्। जिल्लामा करिब दश करोडको हिउँदेबाली क्षति भएको कृषि उत्पादक संघ रौतहटका अध्यक्ष दीपलाल साहले बताए। हावाहुरीसँगै आएको पानी गहुँबालीे खेतमै ढालेको छ । खेतमा पानी जमेकोले मसुरो बाली नष्ट भएको साहले बताएका छन् ।

वर्षाले अन्य बालीलाई बेफाइदा गरेको भए पनि उखुबालीलाई फाइदा पु¥याएको समनपुरका उखु किसान कामेश्वर सहनीले बताए। खेतमा उम्रिरहेको र उम्रिसकेको उखु बालीलाई वर्षाले फाइदा पु¥याएको सहनीको भनाइ छ ।

प्रकाशित: २८ फाल्गुन २०७३ १०:१२ शनिबार

वर्षाले झण्डै कराेडकाे इँटा नष्ट