अर्थ

एफपिओ-आइपिओको पैसाले बढायो बजार

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्सको थप नयाँ साधारण सेयर (एफपिओ) र फरवार्ड लघुवित्तको साधारण सेयर (आइपिओ) आवेदनमा सेयर नपरेको पैसा फिर्ता हुन थालेपछि सेयर बजार उकालो लाग्न पुगेको छ।  अघिल्ला दिन लगातार ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन बिहीबारबाट नेपाल लाइफको एफपिओको रकम फिर्ता हुन थालेकै दिन सेयर बजार मापक नेप्से परिसूचक ५.९७ बिन्दुले उकालो लागेको हो।

नेपाल लाइफ र फरवार्डको सेयर खरिदका लागि करिब ५५ अर्ब रुपैयाँ गएको थियो। उक्त कम्पनीबाट फिर्ता भएको रकमले लगानीकर्ताले सेयर खरिद गर्न थालेपछि दोस्रो बजार उकालो लागेको हो।

एफपिओ र आइपिओमा लगानी गर्दा मनग्य फाइदा हुने सम्भावना देखेर त्यता गएका लगानीकर्ताले मागे जति सेयर नपाएर दोस्रो बजारबाट किन्न थालेपछि नेप्से उकालो लागेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अन्जनराज पौडेलले बिहीबार नागरिकलाई बताए। 'लगानीकर्ताले राम्रा कम्पनीको सेयर एफपिओबाट खरिद गर्दा मनग्य नाफा हुने देखेका थिए,' उनले भने, 'तर, एफपिओमा गरिएको लगानी हात्ती आयो फुस्सा भनेजस्तै भएपछि उनीहरुले दोस्रो बजारमा सेयर खरिद गर्न थाल्दा बजार बढ्न पुगेको हो।'

एफपिओ र आएपिओमा लगानी गर्दा सेयर नै पर्न छाडेपछि लगानीकर्ता दोस्रो बजारतिर आकर्षित हुन थालेका छन्। 'कम्पनीलाई आवश्यक पर्ने रकमभन्दा अत्यधिक रकम एफपिओ र आएपिओमा पर्न थालेपछि सेयर पर्ने सम्भावना ज्यादै कम हुन्छ,' पूर्वअध्यक्ष पौडेलले भने, 'सेयर नपरेपछि एफपिओ र आइपिओको चार्म घट्न पुगेको छ भने दोस्रो बजारमा आकर्षण बढेको छ। यसले गर्दा सेयर बजार बढ्न पुगेको हो।'

केही दिनयता बजार अलि बढी अस्थिर बनिरहेको सेयर बजार स्थिर हुने सम्भावना बढेको विश्लेषकहरुको भनाइ छ। 'तत्कालका लागि धेरै बढ्ने र घट्नेभन्दा पनि स्थिर हुने सम्भावना देखिएको छ,' ती विश्लेषकले भने, 'पछिल्लो समय सेयर बजारमा निकै उतार–चढाव आएको छ। यस्तो उतार–चढावले लगानीकर्तालाई तुरुन्तै उत्साहित बनाउने र छिट्टै निराश बनाउने काम गर्छ।'

साताको पछिल्लो कार्यदिन सेयर बजारले लगानीकर्तालाई उत्साहित बनाएको छ। साताको अन्तिम दिन बिहीबार बजार बन्द हुँदा नेप्से सूचक ५.९७ बिन्दुले बढेर १३४७.५३ मा गएर अडिएको छ।

स्थानीय चुनाव हुने आसमा लगानीकर्ता उत्साहित भइरहेका छन्। अर्कोतिर मधेस अशान्त बन्दा राजनीतिक अन्योल बढेको छ। सहज तरिकाले निर्वाचन हुन सक्ने हो वा होइन भन्ने आशंका पनि त्यत्तिकै बढेको छ। यसबाट लगानीकर्ता दोधारमा परेका छन्।

राजनीतिक अस्थिरताले सेयर बजार पनि प्रभावित हुन पुगेको छ। यसबाहेक बढ्दो बैंक ब्याजदर र हकप्रद र बोनसका कारण सेयर आपूर्ति बढेको छ। सेयर आपूर्ति बढ्दा सेयर बजार घट्ने गर्छ।

यसैबीच चैत १ गतेदेखि स्ट्यान्डर्ड चार्टर्ड बैंकको एफपिओ आउँदै छ। नेपाल लाइफ र फरवार्ड माइक्रोफाइनान्सबाट फिर्ता भएको रकम लगानीकर्ताले उक्त बैंकको एफपिओ खरिद गर्न थाले भने सेयर बजार उकालो लाग्ने सम्भावना कम हुन्छ। अन्यथा सेयर बजार केही माथि जाने सम्भावना पनि देखिन्छ।

बिहीबार एक सय ३८ कम्पनीको ५२ करोड ४८ लाख रूपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ। १० लाख ४५ हजार नौ सय १८ कित्ता सेयर किनबेच भएको हो। उत्पादनमूलक र अन्यबाहेक बाँकी सबै समूहका सूचक उकालो लागेका छन्। सबैभन्दा धेरै बिमा सूचक ५९.२५ बिन्दुले माथि लागेको छ। वाणिज्य बैंक समूहको सूचक पनि ६.९४ बिन्दुले उक्लेको छ।

कारोबार रकममा ग्लोबल आइएमई बैंकले अग्रता लिएको छ। ग्लोबलको नौ करोड १७ लाख रूपैयाँभन्दा धेरैको कारोबार भएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्सुरेन्स र नेपाल क्रेडिट एन्ड कमर्स बैंक परेका छन्। नेपाल लाइफको २५ प्रतिशत बोनस सुरक्षित गर्न बिहीबार अन्तिम दिन भएकाले कारोबार चुलिएको हो।

प्रकाशित: २७ फाल्गुन २०७३ ०४:३७ शुक्रबार

एफपिओ-आइपिओको पैसाले बढायो बजार