अर्थ

सेयर किनबेच आदेश इन्टरनेटबाट

काठमाडौं- नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई इन्टरनेटमार्फत खरिद बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न परिपत्र गरेको छ। लगानीकर्ताले धितोपत्रको खरिद–बिक्री आदेश दिँदा ब्रोकर कम्पनीबाट सम्बन्धित लगानीकर्तालाई केवाइसीको आधारमा लगानीकर्ता स्वयंलाई युजर नेम र पासवर्ड दिई इन्टरनेटमार्फत खरिद–बिक्री आदेश दिन सक्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

लगानीकर्ताबाट इन्टरनेटमार्फत प्राप्त खरिद–बिक्री आदेशलाई समय प्राथमिकताको आधारमा खरिद–बिक्री प्रणालीमा प्रविष्ट गर्ने व्यवस्था मिलाउन र धितोपत्र कारोबार सम्बन्धी विवरण/सूचना समेत लगानीकर्ताले इन्टरनेटमार्फत पाउन सक्ने व्यवस्था गर्न समेत बोर्डले निर्देशन दिएको छ।

उक्त व्यवस्थाबाट धितोपत्र खरिद–बिक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित भई आदेश दिनुपर्ने झन्झटको अन्त्य भई धितोपत्रको कारोबार प्रक्रिया थप सहज, सरल र छिटो छरितो बनाउन तथा यससम्बन्धी अभिलेख सुदृढ भई यसले लगानीकर्तालाई विशेष सुविधा हुने तथा दोस्रो बजारको कारोबारमा स्थलगत तथा परिणात्मक रुपमा व्यापकता आएर नयाँ अध्याय थप्ने बोर्डले अपेक्षा गरेको छ।

धितोपत्र दलाल व्यवसायीले आफ्नो कारोबार, अभिलेख तथा सूचना प्रवाह व्यवस्थापन सम्बन्धमा हाल नेेपाल स्टक एक्सचेन्जबाट स्वीकृत ब्याक अफिस सफ्टवेयर प्रयोग गरिरहेको अवस्थामा लगानीकर्ताको हितलाई दृष्टिगत गरी धितोपत्र कारोबार प्रक्रियालाई थप सहज, पारदर्शी, सरल, छिटो छरितो र लगानीकर्तामैत्री बनाउन तथा ब्रोकर कार्यालयमा रहने कारोबार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न धितोपत्र दलाल व्यवसायीले हाल उपयोग गरिरहेको स्वीकृत ब्रोकर ब्याक अफिस सफ्टवेयरमा आवश्यक सुधार/थप गरी शीघ्र उक्त व्यवस्था गर्नुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ फाल्गुन २०७३ ०४:३७ शुक्रबार

सेयर किनबेच आदेश इन्टरनेटबाट