अर्थ

कोशी प्रदेशमा बजेटको आकार घट्ने

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको बजेट चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिकमा वर्ष ५ अर्ब रुपैयाँले घट्ने बताएका छन्। 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले शुक्रवार विराटनगरमा आयोजना गरेको पूर्व बजेट अन्तर्क्रिया  कार्यक्रममा मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षको तुलनामा कम्तीमा ५ अर्बले आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने बताएका हुन्। 

चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३९ अर्ब ७३ करोड रुपैयाँको बजेट ल्याएको थियो। विश्वव्यापी आर्थिक मन्दी र राजस्वका स्रोतमा सङ्कुचन आएका कारण बजेटको आकार घटाउनुपर्ने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए। कार्कीले  सिद्धान्त र व्यवहारमा तालमेल नमिल्दा बजेटले लक्ष हासिल गर्न नसकिरहेको समेत बताए।

 उनले सरकारको बजेटले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरे पनि व्यवहारमा त्यस्तो नदेखिएको स्पष्ट पारे । राष्ट्रिय पूँजीको विकास नभई समाजवाद उन्मुख अर्थतन्त्र स्थापना हुन नसक्ने भए पनि व्यवहारमा राष्ट्रिय पूँजीको विकास हुन नसकेको उनको भनाई छ। 

‘बजेटले समाजवाद उन्मुख अर्थतन्त्रको परिकल्पना गरेको छ ’ कार्कीले भने ‘तर व्यवहारमा समाजवाद उन्मुख अर्थतन्त्रका लागि गर्नुपर्ने राष्ट्रिय पूँजीको विकास हुन सकेको छैन।’ कार्कीले राजस्व छुट दिने र पैसा बाँड्ने प्रवृत्ति मुख्य समस्याका रुपमा रहेको स्पष्ट पारे । 

मुख्यमन्त्री कार्कीले सरकार बजेट निर्माणको चरणमा रहेका कारण बजेटका विषयमा लिखित रुपमा सुझावहरू पठाउन निजी क्षेत्रलाई आग्रह गरे। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेश कृषिको हबका रुपमा रहे पनि विडम्बना विदेशबाट अरबौँको खाद्यान्न आयात भइरहेको बताए। 

यसरी आयात हुने क्रम वार्षिक १५ प्रतिशतले वृद्धि भइरहेका कारण  कृषि उत्पादन बढाउने नीति तथा कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गरे । कार्यक्रममा  कम्युनिटी इन्गेजमेन्ट एण्ड आउटरिचका डेपुटी टिम लिडर अनिरुद्र न्यौपाने, विरोक एण्ड कम्पनीका राजेश पन्त, साउतीका अध्यक्ष निलु थापा लगायतले बजेटका विभिन्न सुझावसहितको प्रस्तुति  राखेका थिए। 

कार्यक्रममा प्रदेशका विभिन्न क्षेत्रका उद्योगी व्यवसायीहरूले कोशी प्रदेशमा निजी क्षेत्रले सामना गरिरहेका समस्यालाई सम्बोधन गर्ने नीति कार्यक्रम तथा बजेट ल्याउन प्रदेश सरकारलाई सुझाव दिएका छन्। 

प्रकाशित: ६ जेष्ठ २०८० ०९:४१ शनिबार

कोशी प्रदेशमा बजेटको आकार घट्ने