अर्थ

भन्सारका पाँच सुब्बाको मिलोमतोमा मलखाद लिलाम

हाकिम भन्छन् – 'गुड फेथ'मा सही गराए

गौर भन्सार कार्यालय अगाडी राखिएकाे मलखाँद।

गत सोमबार भएको रासायनिक मलखाद लिलाम प्रक्रियामा गौर भन्सार कार्यालयका पाँच जना नायब सुब्बाको मिलोमतो रहेको पाइएको छ। भन्सार प्रमुख वासुदेव नेपाल विदामा रहेको बेला कार्यालयका पाँच जना नायब सुब्बाहरुले सबै तारतम्य मिलाएर लिलाम गराउन प्रमुखलाई अन्तिम समयमा बोलाएको स्रोतबाट बुझिएको छ।

भन्सार प्रमुख नेपाल विदामा भएको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले राजपुर नगरपालिका-५ बाट १३ सय ६ बोरा रासायनिक मल बरामद गरेको थियो। भारतबाट अवैध रुपमा तस्करी गरी गोदाममा थन्क्याइएको अवस्थामा व्यापक अवरोधका बिच चार राउन्ड अश्रुग्याँस हानेर बरामद गरेको रासायनिक मललाई भन्सार दाखिला गरेको थियो।

भन्सार दाखिला हुन आएको मललाई सेटिङमा नै लिलाम गर्न कार्यालयका नायब सुब्बाहरुले मिलेर चलखेल गरेको पाइएको छ। भन्सारका नायब सुब्बाहरु शिवहरि निरौला, नवीन कुमार ठाकुर, गजेन्द्र थापा, निशा सर्राफ तथा रेवती रोक्का मिलेर तत्काल मलखाद लिलाम गरे ठूलो कमिसन आउने देखेर सबै तारतम्य मिलाएका थिए।

भन्सारमा थन्किँदा वर्षा भएर सबै गल्ने र राजस्व नउठ्ने बहाना बनाई भन्सारका पाँच जना नासुहरुले सरसल्लाह गरी आफूलाई कार्यालयमा हाजिर भई लिलाम गराउन बारम्बार फोन गरेको प्रमुख नेपाल बताउँछन्। प्रमुख नेपाल भन्छन् – बारम्बार फोन आएपछि आफूले प्रक्रिया अगाडि बढाउन भनेको र अन्तिममा बेलुकी आएर हतारमा सही गरेको हुँ।

भन्सार प्रमुख नेपालले कार्यालय चलाउने टिमले आफूलाई 'गुड फेथ'मा लिएर सही गराएको तर गल्ती भएको स्वीकार गरेका छन्। भन्सारबाट लिलामीको प्रक्रिया सम्पन्न भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटबाट छानबिनको लागि कागजपत्र माग गरिएको पत्र आएपछि आफूले कागजपत्र मिलाएर हेर्दा त्रुटि भएको पाइएको प्रमुख नेपालले  बताएका छन्।

लिलाम प्रक्रियामा जय माता दी जेनरल सप्लायर्स गौर, जैएमडी सप्लायर्स गौर र जय मा दुर्गा सप्लायर्स राजपुरलाई समावेश गराइएको थिया । तीमध्ये जेएमडी र जय माता दी सप्लायर्र्सलाई रासायनिक मलको कारोबार गर्ने अनुमति नै नभएको बुझिएको छ। भन्सार कार्यालयका नायब सुब्बाहरुले मिलोमतोमा एक विचार गरी कार्यालय प्रमुखलाई गुमराहमा राखेर हतारमा लिलाम प्रक्रिया अगाडि बढाएको पाइएको छ।

कम्तीमा तीनओटा आधिकारिक फर्म लिलाम बढाबढमा सहभागी हुनुपर्ने र कार्यालयले निकालेको सूचना बमोजिम नियमानुसार लाग्ने रकम बैंक दाखिला गर्नुपर्नेमा कागजपत्र पनि नभएको र बैंक दाखिला पनि नगरेको अवस्थामा कार्यालयका नासुहरुले मिलोमतोमै २० लाखभन्दा बढीको रासायनिक मल १० लाख २ हजारमा लिलाम गराएका थिए। 

प्रकाशित: ६ जेष्ठ २०८० ०८:०१ शनिबार

भन्सारका पाँच सुब्बाको मिलोमतोमा मलखाद लिलाम