अर्थ

नेपाटपले डिडब्लुसी पाईपकाे उत्पादन शुरु गर्यो

विभिन्न निर्माण सामाग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डिडब्लुसी पाईपको उत्पादन शुरु गरेको छ। 

भारत, चीन लगायतका विश्वका विभिन्न देशहरुमा केही दशक अगाडीबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्र्तगतको मनमैजु ईण्डष्ट्रिज प्रा.लि., पिपलटार, नुवाकोटले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा नै नेपाटपको ढल निकास प्रयोजनको लागि डिडब्लुसी पाईप उत्पादन शुरु  गरेको हो।  

विगत दुई दशकभन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरुमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजाइनमा कम्पनीले उत्पादन शुरु गरेको हो । कम्पनीले हाल प्रचलित अन्तराष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मि.मि. देखी १२०० मि.मि. गोलाईका पाईप उत्पादन गरिरहेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडी पारित गरेको डिडब्लुसी पाईपको मापदण्ड ने.गु.नं. ५९५ चिन्ह प्राप्तीको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ।  

विगतमा छिमेकी मुलुक भारत एवं चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरुमा उक्त डिजाइन एवं प्रविधियुक्त पाईप प्रयोग हुँदै आएकोमा नेपाटपले स्वदेशी श्रम एवं स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन शुरु गरेपछी भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलीकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ।

विगतमा प्रयोगमा आईरहेको कंक्रिट ढल पाईपको तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाईपको तुलनामा बलियो एवं भरपर्दो, सामान्यतया जडानपश्चात मर्मत सम्भारको झन्झट नहुने, पाईपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनौट रिङ्ग आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताहरुको कारण कम्पनीका अन्य उत्पादनहरु जस्तै यो उत्पादन पनी उपभोक्ताहरुको पहिलो रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ।  

नेपालको पूर्वाधार विकासको क्षेत्रमा आफ्नो उच्च गुणस्तरीय उत्पादन मार्फत सदैव सेवा दिंदै आईरहेको नेपाटपले यो उत्पादन प्रयोग हुने साना–ठुला ढल निकास आयोजना, ढल प्रशोधन केन्द्र, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायत अन्य परियोजनाहरुका लागि समेत नेपाटपको ढल निकास प्रयोजनको लागि डिडब्लुसी पाईप उत्कृष्ट हुने कम्पनीको विश्वास छ। 

प्रकाशित: ४ जेष्ठ २०८० १२:५१ बिहीबार

नेपाटपले डिडब्लुसी पाईप उत्पादन शुरु गर्यो