अर्थ

होलीको टिसर्टले रंगियो बजार

काठमाडौं- रंगहरूको पर्वको रुपमा मनाइने होली अर्थात् फागुपूर्णिमा आउन अझै एक साता बाँकी छ। काठमाडौंका बजार भने यतिखेर 'ह्याप्पी होली' लेखिएको टिसर्टले रंगीन भइसकेको छ। कपडा पसलहरूमा होलीको टिसर्टहरू झुन्ड्याइएका कारण बजार होलीमय भएको हो।

सहरमा बस्ने युवा पुस्ताले पछिल्लो समय समुहमा होली खेल्दा होलीको शुभकामना लेखेर सप्तरंग पोतिएका टिसर्ट लगाउने प्रचलन बढेको छ। न्युरोडको एक पसलमा टिसर्टको मोलमोलाइ गरिरहेका गोरखाका उदय कुँवर क्षेत्रीले भनेँ, 'सेतो कपडामा रंग पोखिँदा बल्ल होली रमाइलो हुन्छ।'

रुपन्देही, बुटवलका बासु जमरकटेलले सुन्धाराको सडकपेटीमा ह्याप्पी होली लेखिएको दुई टिसर्ट किने। 'छोरा र भान्जाका लागि बुटवल लैजान टिसर्ट किनेँ।' उनले भने। बुटवलमै छिमेकी र आफन्त जम्मा भएर एक अर्कालाई रंग दलेर होली खेल्ने उनको योजना छ।

'ह्याप्पी होली' लेखिएका टिसर्ट 'फागु फेसन'को रुपमा स्थापित भइसकेको भोटाहिटीको सडकमा टिसर्ट व्यापार गर्ने काभ्रे पनौतीका रामकुमार केसीले बताए। 'होली आउन दुई हप्ता बाँकी हुँदादेखि नै होलीका टिसर्ट व्यापार सुरु हुन्छ। आज (शनिवार) मात्र २५ पिस जति बेचिसकेँ।' आइतबारदेखि अझ व्यापार बढ्ने उनले बताए। केसीले होली नसकिएसम्म होलीकै टिसर्टको मात्र व्यापार हुने भएकोले अरु कपडा दुईचार वटा मात्र बेच्न राखेका छन्।

टिसर्ट किन्न कसैकसैको परिवार नै आउने गरेको केसीले बताए। 'कोही परिवार नै आएर लिएर जान्छन्। हजुरआमाहरू समेत नातिनातिनी लिएर होलीको टिसर्ट किन्न आउँछन्,' उन्के भने, ' विशेष गरी युवाहरू समुहमा नै आएर टिसर्ट किन्छन्।'

सेतो पृष्ठभूमीमा 'ह्याप्पी होली' लेखिएको सप्तरंगी प्रिन्ट भएका टिसर्टहरू काठमाडौंका सडक पेटीदेखि सपिङ मलसम्म समेत बेचिने गरेको छ।

२०४८ देखि काठमाडौंको सडकमा टिसर्ट व्यापार गर्दै आएका केसीका अनुभवमा होलीको टिसर्टको व्यापार अत्यधिक हुन थालेको धेरै भएको छैन। दुईतीन वर्षदेखि मानिसहरूले होलीको टिसर्ट लाउने चलन बढेको उनले बताए।

बजारमा एक सय ५० देखि छ सात सय रुपैंयासम्मका टिसर्टहरू पाइन्छन्। एक सय ५० देखि ती सय रुपैंयासम्मका टिसर्ट धेरैको रोजाइमा परेको असनमा तयारी कपडा व्यापार गर्ने दीपक खनालले बताए। २०४३ सालदेखि असनमा पसल गर्दै आएका खनालले दुई वर्षअघिदेखि छोरी योजनाअनुसार होलीको शुभकामना प्रिन्ट गरिएका टिसर्ट बेच्न थालेको सुनाए। बजारमा विभिन्न गुणस्तरका टिसर्ट पाइने भए पनि कटनको कपडा किन्न उनी ग्राहकलाई सुझाव दिन्छन्। उनले भने, 'कटनको कपडा गर्मीमा शीतल हुने र छालाको स्वास्थ्यको दृष्टिकोणले समेत उचित हुने भएर ग्राहकलाई अलि बढी मूल्य तिरेर कटनकै टिसर्ट किन्न सुझाव दिने गरेको छु।'

प्रकाशित: २२ फाल्गुन २०७३ ०३:१५ आइतबार

होलीको टिसर्टले रंगियो बजार