अर्थ

समयमा सम्पन्न हुँदैनन् ठूला आयोजना

काठमाडौं- सरकारी निकायले आफैंले लिएको लक्ष्य पूरा गर्न सकेको भए दुई वर्षअघि नै बाँकेको अधिकांश जमिन हराभरा भइसक्ने थियो। वर्षौंदेखि सिँचाइको प्रतीक्षामा रहेका बाँकेका किसानले अझै सिँचाइ कहिले प्राप्त गर्ने हुन् कुनै टुंगो छैन। निकै लामो रस्साकस्सीपछि आर्थिक वर्ष २०६१/०६२ मा सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्यले लक्ष्य अनुसार गति नलिँदा किसानबीच खुसी ल्याउन नसकेको हो।

निर्माण कार्य सुरु गर्दा उक्त आयोजना १० वर्षमा सम्पन्न गर्ने र जसको लागि करिब सात अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। काम थालेको १० वर्षमा लक्ष्य अनुसार निर्माण कार्य हुन नसकेपछि सिँचाइ मन्त्रालयले उक्त आयोजना सम्पन्न हुने मिति अर्को दुई वर्ष थप गर्‍यो। थपेको अवधिमा आयोजना सम्पन्न हुनु त कता हो ५० प्रतिशत काम हुन नसकेपछि पुनः उक्त आयोजना सम्पन्न हुने मितिलाई अरु तीन वर्ष लम्ब्याइएको छ।

सिक्टा सिँचाइ आयोजनाको काम सक्ने अवधिलाई तेस्रो संशोधन गरी आर्थिक वर्ष ०७६/७७ सम्म पुर्‍याइएपछि जनस्तरमा भने सरकारी निकायप्रति अविश्वास बढ्न थालेको छ। बाँके, सीतापुर–१ का अगुवा किसान मोहनप्रसाद रिजाल सम्पन्न हुने मिति पटकपटक संशोधन भएको देख्दा अबको तीन वर्षमा सिक्टा सिँचाइको पानी किसानको खेतमा पुग्ला भनेर पत्याउन नसकिने बताउँछन्। 'आर्थिक वर्ष २०७१/७२ मा आयोजना सक्ने लक्ष्य सरकारी कर्मचारीले नै लिएका हुन्,' रिजालले भने, 'पछि आफैंले दुईपटक सक्ने अवधि सारिसके। आयोजना समयमा किन सक्दैनन्। बु‰न गाह्रो भइरहेको छ।'

बाँकेको करिब ४३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका साथ भइरहेको काम अब पनि तोकिएकै अवधिमा सकिएला भनेर किसानहरू पत्याउने पक्षमा छैनन्। आर्थिक वर्ष ०६१/६२ मा सुरु गरिएको उक्त आयोजना समयमै सम्पन्न भएको भए सात अर्ब रुपैयाँ खर्च हुने थियो। काम लम्बिँदै जाँदा यतिखेर किसानले पानी पाउन त सकेेनन् नै राज्यले गर्ने लगानी पनि निकै बढेको छ। उक्त आयोजनाका अनुसार पछिल्लो संशोधन अनुसार सिक्टाको लागत खर्च सात अर्बबाट बढेर २५ अर्ब नाघेको छ। काम सम्पन्न गर्न तेस्रोपटक संशोधन गरिएको समयावधि आर्थिक वर्ष ०७६/७७ मा काम नसकिए पुनः लागत बढ्ने सम्भावना रहेको प्राविधिक बताउँछन्। आयोजनाका अनुसार हालसम्म ४८.०२ प्रतिशत वित्तीय प्रगति रहेको छ भने भौतिक प्रगतिको अवस्था ४७.६९ प्रतिशत  छ।

किसानका अनुसार अहिले भइरहेको निर्माण कार्यलाई कम्तीमा दोब्बर नगर्ने हो भने अबको तीन वर्षमा पनि सिक्टा सम्पन्न हुन कठिन छ। तेस्रो संशोधित समयावधिलाई भेट्न वर्षमा कम्तीमा चार अर्ब रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ। जबकि चालु आर्थिक वर्षका लागि छुट्ट्याइएको एक अर्ब ४३ करोड ८७ लाख ६४ हजार बजेटमध्ये अहिलेसम्म ४२.३६ प्रतिशत मात्र खर्च हुन सकेको छ। अहिलेकै गतिमा काम गर्ने हो भने उक्त आयोजना सकिन अझै अरु १० वर्ष लाग्ने भन्दै किसान चिन्तित छन्।

तोकिएको समयमा  सम्पन्न नहुने आयोजना सिक्टा सिँचाइ मात्र एक्लो होइन। सरकारी निकायबाट सञ्चालन भइरहेका साना तथा मझौला आयोजना मात्र नभई सरकारले आफैंले घोषणा गरेका राष्ट्रिय गौरवका अन्य आयोजनाको निर्माण कार्य निकै सुस्त छ। जसले गर्दा वर्षौंदेखि विकास पाउने आशामा बसेका सर्वसाधारण निराश भइरहेका छन्। त्यस्ता आयोजनाको लागत खर्च वृद्धि हुँदा राज्यको ढुकुटी अनावश्यक रूपमा प्रयोग भइरहेको  छ।

सरकारले सडक, सिँचाइ, विमानस्थल खानेपानी गरी देशभरिका २१ आयोजनालाई राष्ट्रिय गौरवका आयोजना भन्दै आएको छ। ती आयोजनालाई बजेट र जनशक्तिमा सम्पन्न बनाइएको मन्त्री र सरकारी कर्मचारीले दाबी गर्दै पनि आएका छन्। पर्याप्त बजेट र जनशक्तिको व्यवस्था गरिएकाले राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न हुने धेरैको अनुमान विपरीत पछिल्लो समयमा बजेट नै खर्च गर्न नसक्ने स्थिति सिर्जना भएको समेत देखिएको छ। चालु आर्थिक वर्षमा समेत ती आयोजनाको निर्माण कार्यमा कुनै सुधार हुन सकेको छैन। अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुससम्म) मा राष्ट्रिय गौरवका कुनै पनि आयोजनाले तोकिएको बजेट खर्च गर्न सकेका छैनन्। ६ महिनाको अवधिमा पाँचवटा गौरवका आयोजनाको खर्च शून्य प्रतिशतको वरिपरि छ।

दक्षिण–एसिया पर्यटन पूर्वाधार विकास आयोजना, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको खर्च शून्य छ। बुढीगण्डकी जलविद्युत आयोजनाको खर्च ०.४७ र काठमाडौं–तराईं द्रुत मार्गको खर्च ०.०५ प्रतिशत  रहेको मन्त्रालयले जनाएको छ। ६ महिनाको अवधिमा रानीजमरा–कुलरिया सिँचाइ आयोजनाले सबभन्दा बढी विनियोजितमध्ये ५८.२८ प्रतिशत बजेट खर्चेको छ। एक वर्षका लागि एक अर्ब ४१ करोड ५७ लाख ५२ हजार बजेट विनियोजन गरिएको उक्त आयोजनाले ६ महिना बित्दा ८२ करोड ४९ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ।

 रानीजमरा–कुलरियापछि धेरै रकम पुष्पलाल लोकमार्गले खर्च गर्न सकेको छ। उक्त आयोजनाले पुस मसान्तसम्म ४५.२६ प्रतिशत विनियोजित बजेट खर्चेको छ। चालु आर्थिक वर्षका लागि दुई अर्ब ८८ करोड ७१ लाख १६ हजार रुपैयाँ बजेट छुट्टाइएको उक्त आयोजनाले अहिलेसम्म एक अर्ब ३० करोड ६८ लाख २५ हजार रुपैयाँ खर्च गरेको हो। पूरै वर्षका लागि एक अर्ब ४३ करोड ८७ लाख ६४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको सिक्टा सिँचाइले ६ महिनामा ४२.३६ प्रतिशत बजेट खर्च गरेको छ। ६ महिनाको अवधिमा करिब ५० प्रतिशत बजेट खर्च गर्नुपर्ने भए पनि अधिकांश आयोजनाले तोकिएको रकम खर्च गर्न असफल भएपछि बाँकी रकम आर्थिक वर्षभित्र खर्च गर्न सक्छ या सक्दैन भन्ने अन्योल यथावत छ।

सिँचाइ मन्त्रालयका सहसचिव सागरचन्द्र राई भने अस्थिर राजनीतिको मार विकास निर्माणमा गरिरहेको बताउँछन्। 'कहिले बन्द, कहिले निर्माण सामग्रीको अभाव त कहिले प्रक्रियामै समय लाग्दा काममा ढिलाइ हुने गरेको हो,' राईले भने, 'समयमै विकास निर्माणका आयोजना सम्पन्न गर्न सबैको सहभागिता र सहयोग चाहिन्छ।'

प्रकाशित: २० फाल्गुन २०७३ ०४:२८ शुक्रबार

समयमा सम्पन्न हुँदैनन् ठूला आयोजना