अर्थ

भारतीयले खोजे कालोधन नभित्रिने प्रतिबद्धता

काठमाडौं- प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्ने विषयमा छलफल गर्न रिजर्भ बैंक अफ इन्डिया (आरबिआई) बाट मंगलबार नेपाल आएको टोली यहाँ रहेका उक्त दरका भारु नोट साट्न सकारात्मक देखिए पनि भ्रष्टाचार र कालोधन नआउने प्रतिबद्धता खोजेको छ। आरबिआईको प्रतिनिधित्व गर्दै आएको दुई सदस्यीय उक्त टोलीले नेपालको बैंकिङ प्रणालीमा प्रतिबन्धित ५०० र हजार दरका तीन करोड ३६ लाख ९० हजार भारु नोट साट्ने विषयमा सकारात्मक देखिए पनि सर्वसाधारण, व्यापारी लगायतसँग भएको प्रतिबन्धित भारु नोट साट्न भने सकारात्मक नदेखिएको छलफलमा सहभागी नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए।

उक्त प्राविधिक टोलीले नेपालमा भएका प्रतिबन्धित भारु नोटको  व्यवस्थापन कसरी सुरक्षित तवरले गर्न सकिन्छ भन्नेमा नेपाल राष्ट्र बैंकका प्रतिनिधि, विभिन्न वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत लगायतसँग छलफल गरेको थियो। टोलीका सहभागीले भ्रष्टाचार गरेको रकम र कालोधन नआउने गरी कसरी प्रतिबन्धित भारु नोट साट्न सकिन्छ भन्ने विषयमा मात्र केन्द्रित भएर नेपाली पक्षसँग सोध्ने गरेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बुधबार नागरिकलाई बताए।

नेपाल राष्ट्र बैंकका उच्च अधिकारी र वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले नो योर कस्टुमर (केवाइसी) र एन्टी मनी लाउन्ड्रिङ लगायत कानुनी व्यवस्था भएकोले कालोधन साट्न सकिने सम्भावना नभएको पनि प्रस्ट पारेका थिए। भारतीय टोलीका सदस्यले नेपालमा भएका प्रतिबन्धित नोटबारे आफूहरुले तत्कालै निर्णय गर्न नसक्ने भन्दै नेपाली पक्षसँग भएको छलफलको निचोड आरबिआईलाई बुझाउने र आरबिआई प्रतिबन्धित भारु नोटका विषयमा छिट्टै निर्णयमा पुग्ने आश्वासन दिएका थिए।

एक नेपालीले २५ हजार भारुसम्म उक्त दरका नोट राख्न पाउने व्यवस्था छ। नेपाली पक्षले एक व्यक्तिले २५ हजारसम्म प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था गर्न उक्त टोलीलाई अनुरोध गरेको थियो।

सर्वसाधारण, व्यापारी लगायतसँग ठूलो परिमाणमा भारु नोट छ। भारतले प्रतिबन्धित नोट साट्ने वा नसाट्ने भन्नेबारे ठोस निर्णय दिन नसक्दा यहाँ अन्योल छाएको छ। आरबिआईको उक्त टोलीले राष्ट्र बैंकका उच्च अधिकारी भेटेर प्रतिबन्धित भारुको समस्या समाधान गर्ने अपेक्षा गरिएको थियो। तर, त्यो आशा निराशामा परिणत भएको छ।

प्रतिबन्धित भारु नोट साट्नका लागि नेपाली पक्षले बारम्बार अनुरोध गर्दा पनि भारतीय पक्ष सकारात्मक देखिएको छैन्। प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुईपटक र अर्थमन्त्री कृष्णबहादुर महरा र उनका भारतीय समकक्षीबीच पनि दुईपटक कुराकानी भए पनि प्रतिबन्धित नोट साट्ने वा नसाट्ने विषयमा भारतले ठोस निर्णय दिएन।

नेपाल राष्ट्र बैंकका गभर्नर नेपालले रिजर्भ बैंक अफ इन्डियाका गभर्नर उर्जित पटेलसँग बारम्बार कुराकानी भएको बताए पनि त्यसले पनि ठोस निर्णय निकाल्न सकेन। नेपालमा रहेका प्रतिबन्धित भारु नोट सटही गर्ने विषयमा भारतसँग कूटनीतिक तरिकाबाट समेत बारम्बार प्रयास भइरहेको छ। तैपनि त्यस्तो प्रयास सफल भएन।

प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था मिलाउन पछिल्लोपटक नेपालको तर्फबाट नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा एक टोली भारत गएको थियो। त्यो टोलीलाई पनि प्रतिबन्धित भारु नोट साट्ने व्यवस्था मिलाउन सकेन।

भारत सरकारले आफ्ना नागरिकलाई प्रतिबन्धित भारु नोट साट्न दिएको समय सकिइसक्दा पनि नेपालमा रहेका नोटबारे कुनै टुंगो लागेको छैन।

भारतले केही उत्तर नपठाएपछि नेपालमा रहेका उक्त दरका नोटकोे वैधानिक अस्तित्व समाप्त भएको कतिपयको भनाइ छ। नेपाल राष्ट्र बैंक भने अझै पनि नोट साटिनेमा आशावादी छ।

प्रतिबन्धित नोट भारतले साटिदिने आस अझै नमरेको राष्ट्र बैंक, विदेशी विनिमय विभागका प्रमुख एवं कार्यकारी निर्देशक ढुंगानाले बताए। 'भारतले ५०० र हजार दरका भारु नोट साट्नेमा आशावादी छौंं,' उनले भने, 'नेपाल र भुटानमा भएका प्रतिबन्धित नोटबारे भारतले विशेष व्यवस्था गर्ने छ।'

आरबिआईले त्यहाँका वाणिज्य बैंकलाई ५०० र हजार दरका भारु नोट मंसिर अन्त्यदेखि नसाट्न निर्देशन दिएको छ। भारतमा सेन्ट्रल बैंक (आइबिआई) मा उक्त दरका नोट साट्ने व्यवस्था मिलाएको छ। स्रोत उल्लेख गरेर प्रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न पाउने छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत कात्तिक २४ गतेे बुधबार सम्बोधन गर्दै राति १२ बजेदेखि ५०० र हजार दरका नोट नचल्ने घोषणा गरेका थिए। भ्रष्टाचार र कालोधनलाई निरुत्साहित गर्न यस्तो निर्णय गरेको भारत सरकारको तर्क छ। नेपाल राष्ट्र बैंकले पनि त्यसको भोलिपल्टैदेखि उक्त दरका नोट सटहीमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि नेपालमा रहेका प्रतिबन्धित नोट साट्न भारतसँग पहल सुरु भएको थियो।

ठूला दरका नोट लान र ल्याउन सहज भएकाले व्यवसायी तथा सर्वसाधारणले जोहो गरेर राखेको अनुमान उसले गरेको छ।

'भारतले तत्कालै नेपालमा मौज्दात भारतीय नोट साटिदिइहाल्छ भन्ने निश्चित भइसकेको छैन,' राष्ट्र बैंकका एक उच्च अधिकारीले यसअघि नागरिकसँगको कुराकानीमा भनेका थिए, 'आरबिआईले नोट नसाट्ने निर्णय गर्‍यो भने ती कागजको खोस्टोमा परिणत हुने छन्।'

भारतले चासो देखाएर नेपालमा रहेको नोट साट्न तत्पर भयो भने मात्र राष्ट्र बैंकले कानुनी रुपमा सर्वसाधारणसँग रहेका भारतीय मुद्रा थोरै मात्रामा साटिदिन सक्ने छ। करिब दुई वर्षअघिसम्म नेपालमा ५ सय र हजार दरका भारुमाथि प्रतिबन्ध थियो। भारत सरकारको अनुरोधमा नेपाल राष्ट्र बैंकले २०६७ चैतमा ५ सय र हजार दरका भारतीय रुपैयाँमाथि प्रतिबन्ध लगाएको थियो। यसले बारम्बार नेपाल–भारत आउजाउ गरिरहने दुवै देशका सर्वसाधारण, भारतीय पर्यटक र व्यवसायीलाई अप्ठेरो परेको गुनासोपछि राष्ट्र बैंकले २०७१ फागुन ११ गते २५ हजार भारुसम्म उक्त दरका नोट साट्न पाउनेगरी प्रतिबन्ध फुकुवा गरेको थियो।

प्रकाशित: १९ फाल्गुन २०७३ ०५:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App