अर्थ

चौंरीपालकसम्म पुग्दैन अनुदान

फाइल तस्वीर

वर्षमा नौ महिना चौंरीपालनका लागि खर्कमै बिताउने गरेका सिन्धुपाल्चोकका किसानले सरकारले आफ्ना लागि कुनै कार्यक्रम नल्याएको गुनासो गरेका छन्।

हिमाली भेगका किसानको प्रमुख आयस्रोत चौंरीपालन हो। चौंरीको दूध र छुर्पी बेचेरे नै यहाँका किसानले गुजारा चलाउँदै आएका छन्। खासगरी जिल्लाका जुगल, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको हिमाली भेगका किसान चौंरीपालन गर्दै आएका छन्। जीविकोपार्जनका लागि अन्य स्रोत नभएपछि चौंरीपालन गर्न बाध्य भएको जुगल गाउँपालिका दिपुका म्ङिमालमू शेर्पा बताउँछन्। सरकारले कृषि क्षेत्रमा लगानी गरेको सुने पनि आफूहरूलाई अहिलेसम्म कुनै अनुदान नमिलेको उनले गुनासो गरे।

जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पा सरकारले चौंरीपालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरू व्यावसायिक चौंरीपालन गर्न तयार रहेको बताउँछन्। ‘अहिले त जीवन निर्वाहका लागि मात्र चौंरीपालन गर्दैछौं’, उनले भने, ‘सरकारको साथ पाए व्यावसायिक रूपमै चौंरीपालन गर्न तयार छौं।’

शेर्पा एक्लैले ४२  चौंरी पालेका छन्। खर्कमै जन्मिएका उनी ४० वर्षदेखि यही पेसामा छन्। खर्कमा चौंरी चराउनु, हेरचाह गर्नु, दूध र छुर्पीलाई बजार पु¥याउनु उनको दिनचर्या भएको छ। ‘आम्दानी त खासै छैन, यसबाट घर चलेको छ’, शेर्पाले भने।

जुगल गाउँपालिका तेम्बाथानका पेरन्जी शेर्पा सरकारले चौंरीपालनका लागि उचित वातावरण सिर्जना गरे आफूहरू व्यावसायिक चौंरीपालन गर्न तयार रहेको बताउँछन्।

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौंरीको लस्कर देख्न सकिन्छ। यहाँका किसान त्यहीं निमिल्हा हुँदै दोङजाङमा, चासीखर्क, ने-पेमाछाल हुँदै सामुद्री सतहबाट तीन हजार आठ सय मिटर उचाइमा अवस्थित जुगल हिमशृंखलाको बेसक्याम्प पुम्बासेर्पुसम्म चौंरीगोठ सार्दै पुग्ने गर्छन्। कहिलेकाहीं गोठमा चौंरी मात्र होइन, मान्छे पनि बिरामी हुने गर्छन्। त्यो समय यहाँ चौंरी र मान्छे दुवैको उपचार स्थानीय जडीबुटीबाटै हुने गर्छ।

किसान म्हिमालमू शेर्पा भन्छन्, ‘सरकारले कृषि क्षेत्रमा काम गर्नेलाई अनुदान दिन्छ भनेर सुनेका छौं,पाएका भने छैनौं।’

समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा रहेको जुगल गाउँपालिकाको निमिल्हा खर्कमा यतिखेर चौंरीको लस्कर देख्न सकिन्छ।

उच्च भेगमा आम्दानीको मुख्य स्रोत चौंरीपालन पेसा अहिले व्यवसायभन्दा पनि बाध्यता मात्र बनेको छ। चौंरी, खर्क र आफ्नो परिवारको घेरा नै पुस्तौंदेखि चौंरीपालन व्यवसाय गर्दै आएका किसानको दिनचर्या हो।

चौंरीको दूधबाट बन्ने चिज, छुर्पी, नौनी, घिउ लगायतका परिकारको बजारमा अझै माग बढ्दो छ। एउटै गोठमा कम्तीमा पनि ३० भन्दा बढी चौरी पाल्ने गरेका किसानको उत्पादन लिन व्यापारी खर्क नै पुग्ने गर्छन्। किसानको उत्पादन सस्तोमा किनेर महँगोमा बिक्री गर्ने व्यापारीलाई आर्थिक फाइदा भए पनि चौंरीपालक किसान मारमा छन्। नालुङ शेर्पा आफूले ऋण गरेर चौंरी पालेको तर वर्षौंसम्म पनि ऋणमुक्त हुन नसकेको बताउँछन्।

उच्च भेगमा आम्दानीको मुख्य स्रोत चौंरीपालन पेसा अहिले व्यवसायभन्दा पनि बाध्यता मात्र बनेको छ। चौंरी, खर्क र आफ्नो परिवारको घेरा नै पुस्तौंदेखि चौंरीपालन व्यवसाय गर्दै आएका किसानको दिनचर्या हो।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बोले भने चौंरीपालक किसानलाई अनुदानका लागि संघ र प्रदेश सरकारसँग पहल गरेको बताए। उनले पालिकाबाट पनि याक खरिदका लागि १० लाख रुपैयाँ विनियोजन गरेको बताए।

प्रकाशित: २९ वैशाख २०८० ०५:०७ शुक्रबार

चौंरीपालकसम्म पुग्दैन अनुदान सिन्धुपाल्चोकका किसान