अर्थ

९ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालमा ९ खर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ। वैदेशिक रोजगारी तथा अध्ययनका सिलसिलामा विदेशमा रहेका नेपालीले गत साउनदेखि चैत मसान्तसम्मको अवधिमा ९ खर्ब ३ अर्ब रूपैयाँ बराबरको रेमिट्यान्स पठाएका हुन्।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (आर्थिक वर्ष २०७९/८० को नौ महिनाको तथ्याङ्क) अनुसार चालु आवको ९ महिनामा समग्रमा नेपाल भित्रिने रेमिट्यान्स पनि २४.२ प्रतिशतले वृद्धि भएको छ। गत आवको सोही अवधिमा भने ०.२ प्रतिशतले रेमिट्यान्स घटेको थियो।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा पनि रेमिट्यान्स भित्रिने क्रम १३.९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ९२ करोड अमेरिकी डलर पुगेको छ। गत आवको सोही अवधिमा डलरमा रेमिट्यान्स भने १.८ प्रतिशतले घटेको थियो।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालमा ९ खर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १.८ प्रतिशतले घटेको थियो। बैंकका अनुसार चैत महिनामा मात्रै वैदेशिक रोजगारमा रहेका नेपालीले एक खर्ब ९ अर्ब रूपैयाँको रेमिट्यान्स पाठएका हुन्।

बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा चैत महिनामा अहिलेसम्म कै उच्च रकम रेमिट्यान्सबापत भित्रिएको हो। चालु आवको ९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८ सय ३९ पुगेको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई २ लाख १७ हजार ९ सय ५९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९९.९ प्रतिशतले बढेको थियो।

बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनामा चैत महिनामा अहिलेसम्म कै उच्च रकम रेमिट्यान्सबापत भित्रिएको हो।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा खाता एवम् शोधनान्तर स्थिति ५१ अर्ब ८२ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब १० अर्ब ५८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब २७ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४० करोड २८ लाखले घाटामा रहेको छ।

विदेशी विनिमय सञ्चिति बढ्यो

नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असार मसान्तमा रु. १२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भई २०७९ चैत मसान्तसम्ममा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड डलर कायम भएको छ।

११ महिनालाई आयात थेग्ने

बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनियम सञ्चितिले ११ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा धान्न पर्याप्त रहेको छ। २०७९ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

महँगी पनि बढ्यो

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा उपभोक्ता मूल्यमा मूल्यवृद्धि ७.७६ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आवको ९ महिनाको अवधिमा महँगी केही प्रतिशतले वृद्धि भएको छ। गत आवको सोही अवधिमा भने उपभोक्ता मूल्यको आधार ७.२८ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.९३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४२ प्रतिशत रहेको छ।

निर्यात २६ प्रतिशतले घट्यो

राष्ट्र बैंकका अनुसार चालु आवको ९ महिनाको अवधिमा कुल निर्यात २६.३ प्रतिशतले कमी आएर एक खर्ब १८ अर्ब २८ करोड रूपैयाँको मात्रै भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ६९.४ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३५.१ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः २.२ प्रतिशत र ८.१ प्रतिशतले वृद्धि भएको छ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कुल वस्तु आयात पनि १८.१ प्रतिशतले खुम्चिएको छ। सो अवधिमा १२ खर्ब १ अर्ब ५१ करोड रूपैयाँको वस्तु तथा सेवा मात्रै आयात भएको छ। गत आवको सोही अवधिमा आयात ३२.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.४ प्रतिशत, २३.० प्रतिशत र १९.४ प्रतिशतले कमी आएको छ। 

प्रकाशित: २८ वैशाख २०८० ०३:१५ बिहीबार

नेपाल राष्ट्र बैंक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति वैदेशिक रोजगारी तथा अध्ययन