अर्थ

आनद्वारा एकद्वार विज्ञापन नीतिको विरोध

नेपाल विज्ञापन संघ आनले सरकारले जारी गर्न लागेको विज्ञापन नीतिको विरोध गरेको छ। सरकारले प्रस्ताव गरेको विज्ञापनमा एकद्वार नीतिको विषयमा आनले बिरोध जनाउँदै शृङ्खलावद्ध विरोधको कार्यक्रमको घोषणा गरेको छ।

आनका अध्यक्ष सोमप्रसाद धितालले विज्ञापनमा एकद्वार नीति सच्याउनुपर्ने माग गरे। अध्यक्ष धितालले देश आर्थिक रूपमा कमजोर रहेको अवस्थामा देशमा ठूल–ठूला मुद्दालाई समाधान गर्नुको सट्टा केही अमूक व्यक्ति र स्वार्थ समूहलाई खुसी बनाउने हेतुले ल्याइन लागेको आरोप लगाए।

यसैगरी, आनका निवर्तमान अध्यक्ष रविन्द्रकुमार रिजाल (शशी) ले नेपाल खुला बजार अर्थतन्त्रमा प्रवेश गरिसकेको अवस्थामा कसैको पनि स्वतन्त्र रूपमा गरिने व्यापार व्यवसायलाई अंकुश लगाउन नपाइने बताए। विज्ञापनमा एकद्वार नीतिलाई लोकतान्त्रिक सरकारले जस्ताको तस्तै कार्यान्वयनमा ल्याउन खोज्नु लोकतन्त्रकै उपहास भएको आरोप लगाए।

आनले सरकारी विज्ञापनमा एकद्वार खारेज गर, सञ्चार माध्यमको दररेट कायम गर, विज्ञापन बोर्ड विज्ञापन बाँड्ने अखडा हैन, विज्ञापनमा पारदर्शिता लागु गर, विज्ञापन आचारसंहिता लागु गर, विज्ञापन बोर्डमा संघको प्रतिनिधित्व सुनिश्चित गर लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।

प्रकाशित: २८ वैशाख २०८० ०२:०६ बिहीबार

नेपाल विज्ञापन संघ आन एकद्वार विज्ञापन नीतिको विरोध