अर्थ

नेपालसँगको व्यापार अभिवृद्धिमा सहयोग गर्छौंः इयुका राजदूत

नेपालमा वैदेशिक लगानी भित्र्याउने तथा व्यापार अभिवृद्धि गर्ने प्रतिवद्धतासहित दुई दिने इयु नेपाल विजनेस फोरम राजधानीमा सम्पन्न भएको छ। सोमबार र मंगलबार दुई दिन राजधानीमा आयोजित सो कार्यक्रममा नेपालमा वैदेशिक लगानीको सम्भावना र व्यापार अभिवृद्धि गर्ने विषयमा विस्तृत रूपमा छलफल भएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले मुलुकलाई न्यून आय भएको मुलुकबाट मध्यम आय भएको मुलुकको रूपमा लैजाँदा आउने अल्पकालीन चुनौतीलाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने बताए। ‘हामीले युरोपियन युनियनबाट न्यून आय हुने मुलुकबाट मध्यम आय हुने मुलुकको रूपमा अघि बढ्नका लागि आवश्यक पर्ने सहयोग र सहजीकरणको महसुस गरिरहेका छौं,’ उनले भने, ‘हामीले निरन्तर व्यापार र लगानी नीतिहरू सुधार गर्दै आएका छौं। सरोकारवाला निकायले दिने सुझावलाई मार्गदर्शनको रूपमा लिँदै आइरहेका छौं ।’ नेपालका लागि युरोपियन युनियनका राजदूत डोना डिप्रेजले युरोपियन युनियनले नेपालको लागि सहयोग र एकता देखाउने अनुपम अवसर भएकाले सबै मिलेर सहयोग गर्नुपर्ने बताइन्।

नेपालका लागि जर्मनीका राजदूत डा. थोमम प्रिन्जले अहिले भएका प्रतिवद्धतालाई वास्तविक रूपमा कार्यान्वयन गर्न आगामी दिनमा थप बैठक गर्नुपर्ने बताउँदै छलफल तथा बैठकलाई नियमितता दिने प्रतिबद्धता व्यक्त गरे। नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काले फोरम अनुभव आदान प्रदान र नेटवर्क विस्तारको लागि उपयुक्त मञ्च भएको बताइन्। 

प्रकाशित: २७ वैशाख २०८० ०२:२८ बुधबार

नेपालसँगको व्यापार अभिवृद्धिमा सहयोग गर्छौंः इयुका राजदूत