अर्थ

गुन्द्रुकदेखि समुद्रको माछासम्म

काठमाडौं- दक्षिण ललितपुर भारदेउकी लालमाया तामाङले आर्मी अफिसर्स क्लबमा जारी अन्तर्राष्ट्रिय महिला उद्यमी मेलाको स्टल नं १३ मा जिम्बु, मुला, रायो र तोरीको गुन्द्रुकदेखि स्थानीय तहमा उत्पादित तरकारी बेच्न राखेकी छिन्। उनको स्टलमा बिहीबार गृहणी महिलाहरुको भीड थियो।

उनको स्टलमा ग्राउन्ड एप्पल, पिँडालु, भटमास, लसुन प्याजदेखि विभिन्न प्रकारका तरकारी राखिएकोले पनि घुइँचो बढी थियो। उनले भनिन्, 'हामीले विशेषगरी अर्गानिक तरकारी उत्पादनलाई प्राथमिकता दिएका छौं। यही कारण हाम्रो स्टलमा भीड भएको हो।'

महिला उद्यमी महासंघबाट तालिम लिएर आफू दक्षिण ललितपुरको आठ गाविसमा व्यवसायी विकास परामर्श सहायकको रुपमा कार्यरत रहेको लालमायाले बताइन्। उनले भनिन्, 'ललितपुरको चौघरे, दविचौर, भारदेउ, आश्राङ, प्युटार लगायत आठ गाविसलाई अर्गानिक उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्न लागिपरेका छौं। हामीलाई महिला उद्यमी महासंघले सहयोग गरेको छ।'

उनको स्टलमा कोदोको पिठो प्रतिकेजी ८० रुपैयाँ, स्याउ प्रतिकेजी ५० रुपैयाँ, गुन्द्रुक प्रतिपाकेट सय रुपैयाँमा बिक्री भइरहेको छ।

नेपाल महिला उद्यमी महासंघले आयोजना गरेको यो मेलामा सुर्खेतकी दुर्गा पुन मगरले पनि विभिन्न खाद्यान्नको पिठो बेच्न राखेकी छिन्। उनले भनिन्, 'अहिले सहरमा ढिँडो खाने बानी बसेको र कतिले रहर गर्ने भएकाले हामीले कोदो, गहुँ, मकै, फापरको पिठोदेखि टिम्बुरसम्म राखेका छौं।' व्यापार ठिकठिकै छ।' मेला प्रवेशमा टिकट नराखेको भए अझ व्यापार राम्रो हुने दुर्गाको भनाइ छ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडले पनि विभिन्न खाद्यान्नको परिकारदेखि अचार, गुन्द्रुक, गेडागुडीको स्टल राखेको छ। धादिङ घर भएका कृषि कम्पनीका निरज आलेले अर्गानिक च्याउको व्यापार राम्रो रहेको बताए। तर यो वर्ष अवलोकनकर्ता कम भएको उनको गुनासो छ।

यस्तै, घरेलु महिला समूहद्वारा उत्पादित 'सानेपा स्नाक्स'को पनि बजार फस्टाएको देखिन्छ। अमिलो, पिरो, सगुर फ्री स्नाक्स प्रतिपाकेट ५० रुपैयाँमा बिक्री वितरण भइरहेको छ।

स्थानीय तहमा पाउने अर्गानिक तथा हाइब्रिडका विभिन्न सामग्री मेलामा बिक्रीका लागि राखिएको महिला उद्यमी महासंघको भनाइ छ। मेलामा ललितपुर धोबीघाटस्थित हजुरी खाद्य उद्योगले ३६ प्रकारको अचार राखेको छ। यहाँ अचार, मसला अचार, लप्सी, आँप, टिम्बुरको छोक्रा, अकबरे खुर्सानी, कुखुराको मासुको अचार जस्ता परिकार छ।

यस्तै मेलामा पाँचथरको बास्कोटा ग्रुपद्वारा उत्पादित स्वदेशी ग्रिन टी पनि छ। मेलामा कोरियामा पाइने समुद्री खाना समेत छ। 'सिफुड, सिउइड, अक्टोपस जस्ता माछा स्टलमा राखिएको छ। मेला शनिबारसम्म चल्नेछ।

प्रकाशित: ६ फाल्गुन २०७३ ०५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App