अर्थ

केन्द्रको काम अब भैरहवा सेजबाटै प्रदान गरिने

भैरहवास्थित विशेष आर्थिक क्षेत्रको कार्यालय उद्घाटन गर्न आएका उद्योग मन्त्री नविन्द्रराज जोशी। तस्बिरः रेखा भुसाल

भैरहवा–  केन्द्रबाट सञ्चालन हुँदै आएको विशेष आर्थिक क्षेत्रको प्रशासनिक काम अबदेखि भैरहवास्थित सेजको कार्यालयबाटै हुने भएको छ। बिहीबार औपचारिक रुपमै सेज कार्यालयको उद्घाटन गरी प्रसासनिक सेवा प्रदान गर्न लागिएको हो। विशेष आर्थिक क्षेत्र कार्यालयको उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्घाटन गर्दै शुक्रबारदेखि नै सम्पूर्ण प्रसासनिक सेवा प्रवाह गर्न सम्बन्धित निकायलाइ निर्देशन दिए। उद्घाटन कार्यक्रमका बोल्दै उद्योग मन्त्री जोशीले नेपालमा आर्थिक क्रान्ति सम्भव छ भन्ने कुराको थालनी गर्न बर्तमान सरकार लागि परेको बताए।

लगानीको वातावरण बन्दै गएकाले सरकारले निजी क्षेत्रलाई लगानी सुरक्षाको प्रत्याभूति दिलाएर आर्थिक क्रान्ति गर्ने दिशातर्फ अगाडि बढिसकेको उनको दाबी छ। मन्त्री जोशीले आयात निर्यातबीचको ठूलो अन्तरका कारण वर्षेनी व्यापार घाटा डरलाग्दो गरी बढेकाले निर्यातजन्य उत्पादनलाई प्राथमिकता राखेर काम अगाडि बढाइएको बताए । त्यसका लागि भैरहवा सेजको सञ्चालन अती जरुरी रहेको भन्दै मन्त्री जोशीले छिटै नै निर्यातजन्य उद्योग स्थापना गरी सञ्चालनमा ल्याइने बताए। सेजमा बाँकी रहेका पूर्वाधार निमार्ण तथा प्रशासनिक कामलाई तत्काल अगाडी बढाउन सम्बन्धित निकायलाइ निर्देशन दिँदै उद्योग मन्त्री जोशीले अबको ८ महिना भित्रै विद्युतको व्यवस्था गर्ने दावी समेत गरे।

विद्युतका लागि सम्बन्धित मन्त्रालयसँग छलफल तथा गृहकार्य अगाडि बढाइसकेको उनको भनाइ थियो। सेजमा बैकल्पिक उर्जाको समेत व्यवस्था गर्न  मन्त्रालयले सोलार जडानकालागि आवश्यक गृहकार्य गरिरहेको मन्त्री जोशीले जानकारी दिए। भैरहवा सेजलाई नमुना सेजको रुपमा सञ्चालन गरिने मन्त्री जोशीले दाबी गरे। अबको दशवर्षभित्र कुनै पनि नेपालीलाई विदेश जानु नपर्ने गरी उद्योग मन्त्रालायले स्वरोजगार मुलक उद्योग व्यवसायको विकास गर्ने पनि उनले बताए। कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले औद्योगिक हबको रुपमा विकास हुँदै गएको भैरहवामा लगानीको प्रसस्त सम्भावना रहेको बताए। सेज ऐन पास भइसकेको र नियमावलीहरु पनि बन्दैगरेको अवस्थामा अब सेज सञ्चालनमा कुनै समस्या नआउने राज्यमन्त्री बादेले बताए।

कार्यक्रममा बोल्दै सेज विकास समितिका कार्यकारी निर्देशक चन्डिकाप्रसाद भट्टले शुक्रबारदेखि नै सेजकै कार्यालयबाट उद्योग दर्तालगायत प्रशासनिक काम सुरु हुने बताए। सेजमा उद्योग स्थापनाका लागि हालसम्म २१ वटा उद्योगले स्वीकृती लिइसकेको उनले बताए । ती उद्योगले पाँच अर्वको लगानी भिœयाउने भट्टले  जानकारी दिए।

यसअघि दुइ जना कर्मचारी रहेको सेजको कार्यालयमा हाल ११ जना कर्मचारी रहेको इन्जिनीयर लक्ष्मण भट्टराइले बताए। प्रशासनिक सेवा प्रवाहका लागि आवश्यक जनशक्ति र पुर्वाधारको व्यवस्था भइसको उनले बताए । सिद्धार्थनगर नगरपालिकासंग सिमा जोडीएको बगाह गाविसमा ५२ विगाहा क्षेत्रफलमा सेज निमार्ण गरीएको छ । सेजमा १६ सय देखि ३७ सय बर्गमिटरक ६८ वटा प्लट छन । गत भदौमा सेज ऐन पारीत भइसकेको छ भने हाल सम्म २१ उद्योगले उद्योग स्थापनाका लागि स्वीकृती लिएका छन । निर्यात प्रबद्र्धनसंगै बैदेशिक लगानी भित्र्ने अपेक्षा गरीएको सेजमा हाल सम्म बाह्य लगानी भने भित्रन सकेको छैन ।


 

प्रकाशित: ५ फाल्गुन २०७३ १२:०५ बिहीबार

केन्द्रको काम अब भैरहवा सेजबाटै प्रदान गरिने