काठमाडौं- दोस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको प्रवेशद्वारमा देखिन्छ मुस्कान लोगो भएको हस्तकलाबाट निर्मित विभिन्न सामग्री। अवलोकनकर्ताहरु प्रवेशद्वारको उक्त स्टलमा आँखा अल्झाएपछि मात्रै अन्य स्टलतिर लम्किन्छन्। उक्त स्टलमा कोठा, बैठक कोठा, घर सजावटका विभिन्न हस्तकलाबाट निर्मित सामग्री राखिएका छन्।
यस्तै, स्टलको भित्तामा सफा र चिटिक्क परेको बोरोबाट निर्मित झोला, ब्याग, पर्स झुन्डाएको देख्न सकिन्छ। मास्टर्स 'सोसल इन्टरप्रेनर सेलबस' अध्ययन गरिसकेका चारजना विद्यार्थीले भूकम्पपछि भेटिएको त्रिपाल, प्लास्टिक, बोराबाट हस्तकलाबाटै निर्मित फरक सामग्री बनाउने उदेश्यका साथ उनीहरुले पहिलो पटक बोराको झोला बनाएको मुस्कान वि्रगिङ ब्याग स्माइल प्रालिका अनिसा शाक्ले जानकारी दिइन्।
उनले भने 'बजारमा पाइने सामग्री भन्दा विलकुलै फरक उपयोगी हुने सामग्री बनाउने सोचका साथ हामीले सुरु गरेका थियौं। एक वर्षकै दौरामान नेपाली बजारमा युनिक तरिकाले हाम्रो उत्पादनको ग्रोथ छ।' उनका अनुसार अहिले थाइल्याण्डका महिला उद्यमीसँग सहकार्य गरेर हस्तकलाबाट बनेको विभिन्न सामग्रीको बजार प्रवर्द्धन गरेकाछन्। घरमा नै बसेर महिलाहरुले आम्दानी गर्ने स्रोतको विकासका लागि कच्चा पदार्थहरुको पुन प्रयोग गर्न सकिने बोरा, लुगाबाट आकर्षक सामान बनाउन सकिने अनिसाको भनाई छ।
नेपाल उद्यमी महिला महासंघकले आर्मि अफिर्सस् क्लवमा आयोजना गरेकोमा मेलामा कर्णालीको जाजरकोट हुँदै पुर्वाञ्चलको ताप्लेजुङ सम्मको महिला उद्यमीको हस्तकला अन्तराष्ट्रिय मेलामा आकर्षणको केन्द्रविन्दु बनेको छ। महासंघको मातहतमा विभिन्न जिल्लामा स्थापना भएको ३२ वटा जिल्ला शाखाहरुमा हस्तकला सम्बन्धी तालिम दिएपछि स्थानीय तहका महिलाहरु उद्यमीशिलता तर्फ अग्रसर भएको महासंघले जनाएको छ।
कर्णालीको कालिकोट जिल्लाबाट मेलामा महिला उद्यमीले तयार पारेको डालो, नाङलो जस्ता सामाग्री मेलाको आकर्षक 'ह्यान्डिक्राफ्ट' बनेको छ। कालिकोट महिला उद्यमी जिल्ला संघका अध्यक्ष मधु शाहिले मेलामा सहभागी हुनेहरुले चोयाबाट बुनेको नाङलो र डालो निकै लोकप्रिय भएको बताए। गृहणीहरुले घरमा प्रयोग गरिने डालो गाउँमा मात्रै नभएर सहरमा समेत सजावटका लागि किन्ने गरेको जानकारी दिए। उनले भने 'गाउँमा पाउँने निगालोको चोयाबाट भकारी (कोठा), पाथि (पार्थी), नाङलो(सुक्पा) जस्ता सामग्री महिलाहरुले नै तालिम पछि बनाए र अहिले हामी उद्यमी भएकाछौं।' मेलामा आठ सयदेखि एक हजार रुपैया पर्ने डालो राखिएको मधुले बताईन। कालिकोटबाट काठमाडौंसम्म आउँन दुइदिन बसयात्रा गरेर मेलामा सहभागी भएको उनको भनाई छ।।
प्युठानका 'कोही हिमाल अल्लो कपडा उद्योग'का अध्यक्ष चित्रकली बुढामगरले पनि सिस्नोको रेसाबाट बनेको विभिन्न प्रकारका सामग्री मेलामा राखेका छन्। उनले टोपि, झोला, सल, आउटर, कोट, स्टकोट जस्ता सामग्री विक्रिका लागि राखेका छन्। विगतमा प्रचार प्रसार नभएका कारण बजार थिएन अहिले मिडियाले गर्दा बजार पाउँने गरेको चित्रकलीले बताईन। अल्लोबाट बन्ने कपडाको आफ्नै मौलिकता र पहिचान भएका कारण संरक्षणगर्दै बजार प्रवर्द्धन गनुपर्नेमा उनको जोड थियो।
उनको पसलमा निकै भिडभाड थियो। उनले भने' अहिले यसको बजार बढेको छ। स्टाइलका लागि पनि लगाउने गरेका छन्।'
मेलामा भेडाकै उनबाट बनेको विभिन्न घर तथा कोठा सजावटका सामग्रीहरु समेत राखिएका छन्। विएनएन फेल्ट ह्यान्डिक्राप्टले भेडाको उनबाट बनेको विभिन्न फ्लेबार प्रदर्शनीमा राखेका छन्। विशेषगरी भेडाको उनको म्याट, चकटि, टोपि, पञ्जादेखि स्वीटर समेत मेलामा राखेकाछन्। उक्त ह्यान्डिक्राफ्टका अध्यक्ष डिवि लामाले नेपाली बजारमा पछिल्लो समय महिलाहरुले घरमा नै बनाएका सामग्रीले बजार पाउँदै गएको बताए।
झापामा महिला उद्यमीले तयार पारको सुपारीको पातबाट निर्मिट टपरी, दुना, थाल प्रदर्शनीमा राखेका छन्। जिल्लामा व्यापार भने जस्तो नभएपनि केन्द्रले बजार व्यवस्थापना गरेको झापा महिला उद्यमी संघका उपाध्यक्ष पुनम सुब्बाले जानकारी दिए। यस्तै महिलाहरुले तयार पारेको चोयाको टायल, छानाले समेत बजार पाउँदै गएको उपाध्यक्ष पुनमले बताईन।उनका अनुसार झापा जिल्लामा ३५ जना महिला उद्यमी क्रियाशिल रहेकाछन्।
ताप्लेजुका महिला उद्यमीले भने अलैची विक्रिपछि प्रयोग विहिन भएको रेसाबाट विभिन्न घरको सजावटका सामग्री तयार गरेर प्रदर्शनीमा राखेकाछन्। उनीहरुले २०६८ सालमा तालिम लिएर ७० सालबाट भने अलैचिको रेसाबाट सजावटका लागि मात्रै नभएर प्रयोग गर्न मिल्ने पेन होल्ड, पर्स, लेडिज व्याग, मयाट, राउण्ड टेबल सजावटका सामग्री, ल्याप्टप ब्याग जस्ता सामग्री तयार पारेका छन्। ताप्लेजुङका महिला उद्यमी संघका अध्यक्ष माया गुरुङले भने ' खेर गएको अलैचिको रेसालाई भिजाउने, कस्तो आकारको बनाउन हो यसपछि मात्रै तान तयार गर्नु पर्छ।' अहिले स्थानीय तहमा खेर गएको वस्तुको प्रयोग गरेर पनि महिलाहरु उद्यमी भएकाछन्।तर, यस विषयमा राज्यले प्राथमिकता दिन नसकेको मायाको गुनासो छ।
दोस्रो अन्तराष्ट्रिय महिला उद्यमी मेलामा भारत, चीन, पाकिस्तान, अफ्गानस्तान, भुटान, फिलिपिन्सबाट महिला उद्यमीले आफ्नो सिपको प्रवर्द्धन गर्न स्टल बुक गरेर सिपको प्रर्दशन गरिरहेका छन्। फागुन ७ गतेसम्म चल्ने मेलामा स्वदेशी सहित विदेशी महिला उद्यमीका एकसयभन्दा बढी स्टल राखिएको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, अन्तराष्ट्रिय श्रम संगठन लगाएतको सहयोग रहेको छ।
मेलामा, हस्तकला, पहिरन, कृषि उत्पादन, आइटी, शैक्षिक सामग्रीको राखिएका छन्। यस्तै, अर्ग्यानिक उत्पादन, बिजुली बत्तीका सामन, खानाको परिकार परिकार, सजावटका सामन,पस्मिना समेत राखेका छन्।
अार्मी अफिसर्स क्लबमा भइरहेको मेला फागुन १८ सम्म चल्नेछ।
प्रकाशित: ५ फाल्गुन २०७३ ०३:०८ बिहीबार