अर्थ

भेरी बबई डाइभर्सनमा 'टिबिएम'

काठमाडौं- राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सनमा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिने भएको छ। नेपालमा कुनै पनि आयोजनामा प्रयोग नगरिएको उक्त उपकरण चीनमा रहेको अमेरिकी कम्पनीले तयार गरिरहेको छ। आउँदो जुलाई (भदौ) सम्म नेपालमा ल्याएर टिबिएम प्रयोग गर्ने तयारी भइरहेको भेरी बबई डाइभर्सन आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बताए।

भेरी बबई डाइभर्सनको सुरुङ मार्ग खन्न टिबिएम उपयोगी भए नेपालका अन्य ठूला आयोजना निर्माणमा निकै सहज हुने।

भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाएर बाँके, बर्दियाका ८० हजार बिघा (५१ हजार हेक्टर जमिन) मा सिँचाइ सुविधा पुर्‍याउने तथा ४८ मेगावाट विद्युत निकाल्ने लक्ष्य लिइएको भेरी बबई डाइभर्सनको सुरुङ खन्न टिबिएम प्रयोग गरिने बस्नेतले जनाए। आर्थिक वर्ष २०६८/६९ देखि निर्माण कार्य थालिएको भेरी बबई डाइभर्सनको सुरुङ खन्न टिबिएम उपयोगी भए नेपालका अन्य ठूला आयोजना निर्माणमा निकै सहज हुने बताइएको  छ।

सिँचाइ मन्त्रालयका सहसचिव सागर राईका अनुसार नेेपालमा अहिलेसम्म टिबिएम उपकरण प्रयोग गरेर कुनै पनि आयोजना निर्माण गरिएका छैनन्। विश्वका विभिन्न देशमा भएका ठुल्ठूला विकास निर्माणका आयोजनामा भने टिबिएम प्रयोग गरिँदै आइएको छ। नेपालमा पहिलोपटक प्रयोगमा ल्याउन खोजिएको टिबिएम अमेरिका, चीन लगायत विकसित देशमा मात्र प्रयोगमा ल्याइएको मन्त्रालयका अधिकारी बताउँछन्।

भेरी नदीको पानी बबईमा मिसाउन १२ किलोमिटर सुरुङ खन्नुपर्ने अवस्था छ। नेपालको अहिलेकै पद्धति प्रयोग गरी उक्त सुरुङ मार्ग खन्ने हो भने वर्षौं लाग्ने भएकाले अत्याधुनिक मेसिन प्रयोगको आवश्यकता ठानिएको हो। 'एकातिर अहिलेकै पद्धतिमा १२ किलोमिटर सुरुङ मार्ग खन्दा वर्षौं लाग्ने अवस्था र अर्कोतिर अत्याधुनिक उपकरणको उपयोग गर्ने सोच अनुसार टिबिएमको आवश्यकता ठानिएको हो,' राईले भने, 'टिबिएम सफल भयो भने नेपालको विकासको गति एकदमै छिटो हुन्छ।'

भेरी बबई डाइभर्सननमा टिबिएम सफल भए नेपालका कम्तीमा अन्य आठवटा ठूला आयोजनामा समेत उक्त उपकरण प्रयोग गर्न सकिने बताइएको छ। आगामी दिनमा सुरुङ मार्ग खन्नुपर्ने अन्य आयोजनाको संख्या अझै बढ्न सक्ने बताइएको छ। भेरी बबई डाइभर्सनमा टिबिएम जडान गर्न उक्त उपकरण अटाउने सुरुङ मार्ग तयार गरेपछि बाँकी सुरुङ मार्ग टिबिएमबाट खन्ने लक्ष्य लिइएको छ।

बस्नेतका अनुसार टिबिएम राख्न दुई सय मिटरजति लामो सुरुङ खन्नुपर्छ। भदौसम्म टिबिएम नेपाल आइसक्ने अपेक्षा गरिएकाले अहिले भेरी डाइभर्सनमा करिब ३० मिटर सुरुङ खन्ने काम सकिएको उनले जानकारी दिए। विद्युत उत्पादन र सिँचाइ सुविधा उपलब्ध गराउने उक्त आयोजना नेपालमै नमुना हुने धेरैको अपेक्षा छ। 'तराईको ८० हजार बिघा जमिनमा किसानलाई चाहिएको बेला सिँचाइका लागि पानीको सुविधा उपलब्ध गराउने आयोजना नेपालका लागि नमुना नै हुन्छ,' आयोजना निर्देशक बस्नेतले भने, 'टिबिएम सफल भए तोकेकै अवधिमा सबै काम सक्छौं।'

आर्थिक वर्ष ०७७/७८ मा उक्त आयोजना सक्ने लक्ष्य लिइएको  छ। करिब १२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनामा हालसम्म एक अर्ब २५ करोड रुपैयाँ जति खर्च भइसकेको छ। चालु आर्थिक वर्षका लागि छुट्ट्याइएको ८६ करोड बजेटमध्ये अहिलेसम्म १३ करोड रुपैयाँ खर्च भएको आयोजना निर्देशक बस्नेतले जानकारी दिए। भेरी बबई डाइभर्सनमा १३ किलोमिटर सुरुङ मार्ग निर्माण गर्न मात्र करिब साढे १० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उक्त आयोजनाका लागि सुरुङ खन्नु नै सर्वाधिक जटिल र महँगो मानिएको छ।

टिबिएम सफल भए त्यसले दुई वर्षभित्र सुरुङ खनिसक्ने आयोजनाका अधिकारीले अपेक्षा गरेका छन्। चीनमा तयार गरी टिबिएम नेपालसम्म ल्याउन डेढ अर्ब रुपैयाँ जति लाग्ने बताइएको छ। उक्त उपकरण जुन आयोजनाका लागि प्रयोग गरिन्छ। त्यो बोहक अन्य आयोजनामा त्यसलाई पुनः प्रयोग गर्न नसकिने प्राविधिक बताउँछन्। 'भेरी डाइभर्सनका लागि तयार पारिएको टिबिएम अर्को आयोजनाका लागि उपयोग गर्न सकिँदैन,' राईले भने, 'त्यसैले कथम्कदाचित भेरी बबई डाइभर्सनमा टिबिएमले काम गरेन भने त्यसमा गरिएको लगानी डुब्छ।'

टिबिएमले काम गर्ने या नगर्ने भन्नेबारे सुर्खेतको भौगोलिक वनावटले निर्क्यौल गर्ने बताइएको छ। आयोजनामा खटिएका प्राविधिकका अनुसार कडा चट्टान भएको भूगोल हेर्दा टिबिएम सुरुङ खन्न उपयोगी हुने देखिन्छ। 'तर, सुरुङ खन्न नपाई टिबिएम सफल हुन्छ नै भनेर भने ठोकुवा गर्न अहिले छिटो हुन्छ,' एक प्राविधिकले भने।

प्रकाशित: ३ फाल्गुन २०७३ ०४:२३ मंगलबार

भेरी बबई डाइभर्सनमा टिबिएम