अर्थ

आन्तरिक पहिरोका कारण नागढुंगा सुरुङमार्गको रफ्तार घट्यो

नागढुंगा सुरुङमार्गमा आन्तरिक पहिरोका कारणले निर्माणकार्य ढिलो हुँदै गएको छ। विगतमा दैनिक ६ देखि १० मिटर सुरुङ खनिदै आइरहेको भए पनि अहिले मुस्किलले साढे तीन मिटर मात्रै खन्ने काम भएको छ। आयोजनाका अनुसार बुधबार मात्रै सुरुङको काठमाडौंतर्फको पोर्टलबाट एक मिटर सुरुङ खनिएको थियो भने धार्दिङतर्फको सुरुङको पश्चिम पोर्टलबाट भने २.४ मिटर खनियो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजना प्रमुख नवीनमान श्रेष्ठले सुरुङमार्गको माथिल्लो भागबाट सामान्य खालको पहिरो देखिएको निर्माण कार्यको गति केही सुस्त भएको बताए।

‘सुरुङमार्गको माथिल्लो भागबाट भएको आन्तरिक पहिरो नियन्त्रण गर्न रिप तथा बोल्टिङ गरेर सुरुङमार्ग निर्माणको कामलाई अघि बढाउँदै आइरहेका छौं,’ उनले भने, ‘अहिले पनि सुरुङमार्गको मनिटरिङ गर्दै सुरुङ निर्माणको कामलाई निरन्तरता दिँदै आइरहेका छौं।’

आयोजनाका अनुसार बुधबारसम्म मुख्य सुरुङतर्फ १९६५.४० मिटर सुरुङ खनिएको छ। अब मुख्य सुरुङ छिचोल्न ७२२.६० मिटर बाँकी छ। काठमाडौंतर्फ ९ सय १३ मिटर सुरुङ खनि सकिएको छ। त्यसैगरी धादिङतर्फ भने एक हजार ५१ मिटर खनिएको छ।

आयोजनाका अनुसार इभाक्युएसन टनेलतर्फ भने २२ सय ७१ मिटर सुरुङ खनिएको छ। इभाक्युएसन टनेलतर्फ अब २ सय ८५ मिटर मात्रै सुरुङ खन्न बाँकी छ। काठमाडौंतर्फ इभाक्युएसन टनेलको १२ सय १७ मिटर खनिएको छ भने धादिङतर्फ भने १ हजार ५४ मिटर खनिएको छ। वर्किङ अडिटतर्फ १२६ मिटर मात्रै तयार भएको छ। मुख्य सुरुङको भुईं ढलानको काम पनि निकै सुस्त गतिमा भइरहेको छ।

आयोजनाका अनुसार मुख्य सुरुङको भुईं ढलानको काम ९ सय ६५ मिटर मात्रै भएको छ। यसतर्फ अझै १७ सय २२ मिटर भुईं ढलानको काम बाँकी छ। आयोजना प्रमुख श्रेष्ठले आयोजनाको समष्टिगत भौतिक प्रगति ५१ प्रतिशत पुगेको बताए।

नागढुंगा सुरुङमार्ग निर्माणको काम थप एक वर्ष धकेलिने भएको छ। सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ। सुरुको ठेक्का सम्झौता अनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो।

यो परियोजनामा अहिलेसम्म पनि सुरुङको ब्रेक थ्रु र फिनिसिङ लगायतका काम अधुरै भएकाले पनि तोकिएको समयमा नसकिने भएको हो। यो परियोजनाको लागि पहिलो चरणमा ८६ दिन मात्रै म्याद थप गरिएको थियो तर थपिएको ८६ दिनमा पनि आयोजना सम्पन्न नहुने भएपछि २५ अप्रिल २०२४ सम्म म्याद थप गरिएको छ।

आयोजना प्रमुख श्रेष्ठले म्याद थप गरिएको समयभित्र पनि आयोजना निर्माण सम्पन्न नहुने बताए। ‘हामीले एक वर्ष म्याद थप गरेका छौं,’ उनले भने ‘आयोजना निर्माण सम्पन्न गर्न अझै डेढ/दुई वर्ष लाग्ने अनुमान गरेका छौं।’

धादिङ र काठमाडौंतर्फ ५-५ सय मिटर सडक, दुई फ्लाइओभर र सुरुङ मार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब लागत लाग्नेछ। यो परियोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको छ।

सुरुङ मार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत व्याज दरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङ मार्ग शिलान्यास गरे पनि सुरुङ खन्ने काम झण्डै १४ महिनापछि मात्र सुरु भएको थियो।  

प्रकाशित: २२ वैशाख २०८० ०२:२५ शुक्रबार

आन्तरिक पहिरो नागढुंगा सुरुङमार्ग