अर्थ

महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन

नेपाल उद्योग वाणिज्य महासंघले उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ। अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव लिन महासंघद्वारा विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरू संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरेको हो।

विज्ञ समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल,आयोगका पूर्व सदस्य डा. गणेश गुरुङ, नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरू केशव आचार्य र डा. कल्पना खनाल रहेका छन्।

विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बसेको छ। विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुझावलाई प्रभावकारी रूपमा सरकारसमक्ष पेश गर्न थप सहयोग पुग्ने विश्वास लिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। विज्ञ समूहको पहिलो बैठकले वर्तमान आर्थिक अवस्थाबाट अर्थतन्त्र सुधार गर्न केन्द्रीय बैंक र सरकारले निजी क्षेत्रको विश्वास बढाउनुपर्नेमा जोड दिएको छ।

प्रकाशित: २० वैशाख २०८० ०२:३२ बुधबार

नेपाल उद्योग वाणिज्य महासंघ उच्चस्तरीय विज्ञ समूह गठन