अर्थ

'जनताका सबै माग पूरा गर्न थप ३५ खर्ब आवश्यक'

धादिङ– अर्थमन्त्री कृष्णबहादुर महराले नेपाली जनताको माग पूरा गराउन थप ३५ खर्ब बजेट आवश्यक रहेको बताएका छन्।

यस आर्थिक वर्षमा सरकारले १० खर्ब बजेट बिनियोजन गरेकोमा जनताको माग पूरा गर्न ३५ खर्ब थप गर्नुपर्ने बताएका हुन्। बुधबार धादिङबेसीमा नेपाल पत्रकार महासंघ मध्यमाञ्चल क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महराले भने– ‘अहिले सबै जनताको माग पूरा गर्ने हो भने ४५ खर्ब बजेट आवश्यक छ।’

बजेट कम भएकोले जनताको सबै माग सम्बोधन गर्न नसकिने उनले बताए। ‘१० खर्बको बजेट छ । त्यसमा अधिकतम बढाउदा १२ खर्ब पु¥याउन मुस्किल छ । जनताको माग पूरा गराउने हो भने ऋण नलिई अरु विकल्प छैन,’ अर्थमन्त्री महराले भने।

अर्काे प्रसङ्गमा अर्थमन्त्री महराले सरकारले महत्वका साथ थालनी गरेको बुढिगण्डकी जलविद्युत आयोजनाको काममा बजेट अभाव हुन नदिने बताए। ‘यो आयोजना सरकारले महत्वका साथ निर्माणको थालनी गरेको आयोजना हो। अब पछि हट्ने सम्भव छैन। उनले भने, ‘मुआब्जा वितरण गरी प्रगति देखाउनुस्, मुअब्जालाई आवश्यक पर्ने अपुग ३६ अर्ब रकम हामी ऋण लिएर पनि पठाउँछौं।’

देशकै आर्थिक भविष्य निर्धारण गर्ने आयोजना भएकोले आन्तरिक ऋण लिएर भए पनि सबैलाई मुआब्जा दिएर बुढिगण्डकी परियोजना सम्पन्न गर्ने उनले बताए। महराले परिणाममुखी विकास गर्ने कुनै पनि जिल्लाका आयोजनालाई बजेटको अभाव हुन नदिने दावी गरेका छन्। विकासको प्रत्यक्ष अनुभूती दिलाउने खालका योजनाहरु सञ्चालन गर्न नसक्ने आयोजनाहरुबाट बजेट कटौती गर्ने  र काम गर्न सक्ने आयोजनालाई थपिने बताए ।

मुआब्जा वितरणको लागि मन्त्रालयले पहिलो चरणमा ५ अर्ब ४१ करोड बजेट निकासा गरिसकेको छ। पहिलो चरण्मा धादिङ र गोरखाका तीन÷तीन गाविसमा मुआब्जा वितरण गर्ने तयारी भइरहेको छ।

प्रकाशित: २६ माघ २०७३ १२:०५ बुधबार

जनताका सबै माग पूरा गर्न ३५ आवश्यक