अर्थ

दोस्रो पूर्वाधार शिखर सम्मेलन फागुन ८–९ मा

काठमाडौं- आगामी फागुन ८ र ९ गते काठमाडौंमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुने भएको छ।
नेपाल उद्योग परिसंघ, नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, युवा निर्माण व्यवसायी संघ नेपालको आयोजना र विभिन्न सरकारी निकाय, दुईपक्षीय र बहुपक्षीय विकास साझेदारको सहकार्यमा दोस्रो नेपाल पूर्वाधार शिखर सम्मेलन हुन लागेको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल मुख्य अतिथि रहने शिखर सम्मेलनमा भारत सरकारका रेलमन्त्री सुरेशप्रभाकर प्रभु विशिष्ट अतिथि तथा प्रमुख वक्ता रहने आयोजकले जानकारी दिएका छन् । साथै विभिन्न क्षेत्रका विशिष्ट र बौद्धिक व्यक्तित्वबाट फरक–फरक विषयमा प्रस्तुतीकरण रहने यो सम्मेलन सन् २०१४ को नोभेम्बरमा सम्पन्न पहिलो पूर्वाधार सिखर सम्मेलनको निरन्तरता हो ।
सम्मेलनमा दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका लगानीकर्ता, परामर्शदाता, निर्माता, विद्वान, सरकारी निकाय, कूटनीतिज्ञ, विकास साझेदार, नीति–निर्माता र विभिन्न सञ्चारमाध्यमको सहभागिता रहने भन्दै परिसंघले सम्मेलनको उद्देश्य पूर्वाधार विकासमा निजी क्षेत्रको परिहार्यता माथि बहस गर्नु रहेको जनाएको छ ।
त्यस्तै देश विकासमा निजी क्षेत्रको लगानी आकर्षित गर्नु, नेपालमा दिगो र दरिलो पूर्वाधार सञ्जाल किन आवश्यक छ भन्ने चेतना जगाउनु पनि सम्मेलनको लक्ष्य रहेको भन्दै परिसंघले शिखर सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेको करिब ५० वटा सम्भाव्य पूर्वाधार परियोजनाको प्रदर्शनी समेत गर्ने कार्यक्रम रहेको जनाएको छ ।
नेपालमा पूर्वाधार क्षेत्रको अवस्था दयनीय रहेका कारण उद्योग व्यवसायका साथै आर्थिक सामाजिक विकासमा उपलब्ध अवसरलाई उचित उपयोग गर्नमा अप्ठेरो परिरहेको बताइएको छ ।

प्रकाशित: २४ माघ २०७३ ०३:२५ सोमबार

दोस्रो पूर्वाधार शिखर सम्मेलन ८–९