अर्थ

उखुखेती बढ्दै

रौतहट- समनपुरका कामेश्वर सहनीले पाँच बिघा जमिनमा उखु रोपेर सिध्याएका छन्। गत वर्ष सहनीले दुई बिघामा मात्र उखु लगाएका थिए। उखुको मूल्य समयमै पाउँदा दंग परेका सहनीले यस वर्ष उखुखेती थपेका हुन्। रौतहटको उखु किन्न विभिन्न जिल्लाका चिनी उद्योगबीच पछिल्लो समय प्रतिस्पर्धा बढेको छ।

पिपराका राजेश चौधरी पनि यसपालि अघिल्लो वर्षभन्दा दोब्बर जग्गामा उखुखेती गर्दै छन्।

चिनी उद्योगले तीन वर्षसम्म उखुको मूल्य नदिएपछि पहिलेको तुलनामा २५ प्रतिशतभन्दा कम खेतमा चौधरीले उखुखेती गरेका थिए। उखुको मूल्य तत्कालै पाउन थालेपछि अघिल्लो वर्षको तुलनामा उनले दोब्बर उखुखेती गरेका हुन्। गत वर्ष सात बिघामा उखुखेती गरेका साहले यस वर्ष करिब १५ बिघामा उखुखेती थप्दै छन्। चौधरी रौतहटमा सबैभन्दा बढी उखुखेती गर्ने किसान हुन्।

चौधरी र सहनी उदाहरण मात्रै छन्।

जिल्लाका अधिकांश किसानले यसपालि गत वर्षभन्दा केही बढी नै खेतमा उखु लगाएका छन्। नगदेबाली उखुको मूल्य तीन वर्षसम्म नपाउँदा किसानले 'उधारो खेती' भनी हेला गर्न लागेका थिए।

उखुखेती कम भएर चिनी उद्योग नै सुक्ने अवस्थामा पुगेका छन्। रौतहटका साथै अन्य जिलाका किसानले पनि उखुखेती कम गरेपछि चिनी उद्योगमै उखु किन्न प्रतिस्पर्धा हुन थालेको छ। प्रतिस्पर्धाले करिब आधा दशकभन्दा लामो समयपछि उखु किसानको हातमा उखुको पैसा तत्कालै पर्न थालेको छ।

किसानले समयमै उखुको भुक्तानी पाउन थालेकाले चालू आवमा कम्तीमा ५० प्रतिशतले उखुखेती बढ्ने उखु उत्पादक संघ रौतहट अध्यक्ष अशोकप्रसाद यादवले बताए। अहिले किसानले उखु धमाधम रोपिरहेकाले आगामी वर्ष कम्तीमा २५ लाख क्विन्टल उखु जिल्लामा उत्पादन हुने अध्यक्ष यादवको अनुमान छ। चालू आवमा जिल्लामा १५ लाख क्विन्टल उखु मात्रै उत्पादन भएको अध्यक्ष यादव बताउँछन्।

सर्लाही र रौतहटमा थप एक–एक चिनी उद्योग निर्माणाधीन रहेकाले आगामी वर्षमा पनि चिनी उद्योगबीच प्रतिस्पर्धा बढ्ने र उखुको मूल्य तुरुन्त भुक्तानी गर्ने उद्योगलाई किसानले उखु दिन पाउने हुनाले किसानले उखुको मूल्य समयमै भुक्तानी पाउने युगको फेरि सुरुआत भएको उखु उत्पादक संघ रौतहटका सदस्य सफिन्दरप्रसाद यादवको अनुमान छ।

यसपालि जिल्लामा करिब ६ हजार बिघा उखुखेती मात्र रहेकाले आगामी सिजनका लागि करिब दोब्बर बढ्ने अनुमान रहेको श्रीराम सुगर मिल्सका उखु प्रबन्धक सियाराम साहले बताए।

प्रकाशित: २२ माघ २०७३ ०४:४० शनिबार

उखुखेती बढ्दै