अर्थ

रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। उडान परिक्षण सफल भएपछी साताको एउटा उडान भर्ने गरी सम्झौता भएको हो।

शुक्रबार नेपाल वायुसेवा निगमले विमानस्थलमा गरेको परीक्षण उडान सफल भएको छ। निगमको नाइन एन एबिटी कल साईन जहाजमार्फत विमानस्थलमा गरिएको परीक्षण उडान सफल भएपछी अब उडान नियमित हुने रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए। 'परीक्षण उडान सफल भएसँगै विमानस्थलमा नियमित उडान हुनेछ,उनले भने,'प्रत्येक शुक्रवार निगमको जहाजले विमानस्थलमा उडान भर्ने तयारी छ।'

जहाजका क्याप्टेन मनिष विष्ट नेतृत्वको टोली काठमाडौंबाट ४८ मिनेटको उडानपछि रेसुङ्गा विमानस्थलमा अवतरण भएका थिए।  यसअँघि गत पुस महिनामा तारा एयरलाइन्सले सफल परीक्षण उडान गरेको थियो।

१८ सिट क्षमता भएको जहाजले उडान भर्न सक्ने विमानस्थलको ०६३ सालमा शिलान्यास गरिएको थियो। ११६ रोपनी क्षेत्रफल रहेको विमानस्थलको २०७१ सालबाट नियमित निर्माण कार्य सुरु गरिएको थियो। विमानस्थल निर्माणका लागि  करिब ३३ करोड रूपैयाँ खर्च भएको विमानस्थल कार्यालयले जनाएको छ।

रेसुङ्गमा नियमित उडान हुने भएपछि गुल्मी जिल्लासंगै अर्घाखाँची, पाल्पा, स्याङ्जा, प्युठान लगायतका जिल्लालाई समेत प्रत्यक्ष फाइदा पुग्ने छ। 

प्रकाशित: १५ वैशाख २०८० १२:५४ शुक्रबार

रेसुङ्गा विमानस्थल