अर्थ

सेयर बजारको पैसा बैंकतिर

काठमाडौं– ब्याज उच्च दरले बढेपछि ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थालेका छन् । बैंकले मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि सेयर बिक्री गरेर बैंकमा पैसा राख्न थालेका हुन् । सेयरमा लगानी गर्नुभन्दा बैंकमा जम्मा गर्दा जोखिम कम हुन्छ ।

बैंकले ब्याज बढी दिन थालेसँगै सेयर बजार निरन्तर ओरालो लागेको छ । एक महिनाको बीचमा सेयर बजारका परिसूचक नेप्सेमा १०८ बिन्दुको गिरावट आएको छ ।

पुस १८ गते १४८२.८५ बिन्दुमा रहेको सेयर बजार परिसूचक नेप्से गत बिहीबारसम्ममा १०८ ले घटेर १३७५.१४ मा आइपुगेको छ । सेयर बजार निरन्तर घट्नुको कारण लगानीकर्ताले बैंकको ब्याजदर बढ्नुलाई मानेका छन् ।
बैंकले मुद्दती निक्षेपमा ब्याजदर बढाएका कारण सेयर बजार घटेको नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष प्रवीणरमण पराजुलीले शनिबार नागरिकलाई बताए । ‘सामान्य जोखिम (नर्मल रिस्क) लिएर बढी प्रतिफल पाउने भएपछि सेयर खरिदतिर नलागेर लगानीकर्ताहरु बैंकमा पैसा राख्न पुगेका हुन्,’ उनले भने, ‘सेयर बजार निरन्तर ओरालो लाग्नुको मुख्य कारण पनि यही नै हो ।’

अस्थिर सेयर बजारबाट प्रतिफल आशा गर्न नसकिएको भन्दै लगानीकर्ताले सेयरको धेरै हिस्सा बिक्री गरी उच्च ब्याजदरमा बैंकमा रकम राख्न र घर–जग्गामा लगानी गर्न थालेका हुन् । यद्यपि, उनीहरूले यसलाई लगानी विविधीकरण भन्छन् ।
बैंकमा पैसा राख्दा १० प्रतिशतभन्दा बढी ब्याज लगानीकर्ताहरुले पाउन थालेपछि सेयर बजारमा थप लगानी नभित्रिएको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्रराज सिजापती बताउँछन् । ‘बैंकमा पैसा राख्दा दोहोरो अंक (डबल डिजिट) मा ब्याज पाउन थालेपछि लगानीकर्ताले सेयरमा लगानी गर्न छाडेका हुन्,’ उनले भने, ‘लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि बैंकले सेयर बजामा थप लगानी गर्न सकेका छैनन् ।’
बैंकबाट सस्तो र सजिलैसँग सेयर धितो राखेर कर्जा पाउन छाडेपछि बजार घट्न थालेको हो । ‘पहिला ७–८ प्रतिशतमै बैंकहरुले सेयर धितोमा राखेर कर्जा दिने गर्थे,’ उनले भने, ‘अहिले मुद्दती खातामै १२ प्रतिशत ब्याज दिन थालेका छन्, त्यति महँगो दरमा लिएको रकम कति ब्याजदरमा ऋण दिने र लगानीकर्ताले पनि उच्च ब्याजदरमा लिएको ऋण सेयर बजारमा लगानी गर्दा प्रतिफल नआउने भएकाले पनि सेयर बजार निरन्तर ओरालो लाग्दै आएको हो ।’ अहिले बैंकहरुले सेयर बजारमा ऋण लगानी गर्नै छाडेको पनि सिजापतीको भनाइ छ ।
लगानीकर्ता स्थिर भएर नबस्ने भएकाले सेयर बजारबाट कमाएको लगानी बैंकमा राख्न थालेको विश्लेषक बताउँछन् । ‘एकातिर लगानी घट्यो भन्नुको अर्थ अर्कौतिर बढ्यो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘बैंकबाट विना जोखिम सजिलैसँग उच्च ब्याज पाउन थालेपछि किन जोखिममा लगानी गर्नु ?’
अधिकांश लगानीकर्ताले परिचय बदल्न थालेका छन् । सेयर लगानीकर्ताबाट अब निक्षेपकर्ता बनें,’ भक्तपुरका पुरुषोत्तम सुवेदी भन्छन्, ‘मसँग भएको सेयरमध्ये आधा बिक्री गरेर बैंकमा रकम राखेको छु । सेयरको मात्रै भर पर्न सकिएन ।’
नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा लगानी बढी गर्न थालेको भन्दै बैंकलाई कस्न थालेपछि सेयर बजारमा ऋण प्रवाह गर्न छाडेको हुन् । यसले गर्दा पनि सेयर बजारमा उच्च गिरावट आएको हो ।
चालु आर्थिक वर्षको सुरुमै सेयर बजार बियरिस ट्रेन्डमा जाने संकेत देखाएको सिजापतीको भनाइ छ । साउन १२ गते कीर्तिमानी १८८१.४५ बिन्दुमा पुगेको नेप्से ओरालो लाग्दै १४०० अंकभन्दा तल आइपुगेको छ । करिब ६ महिनाको अवधिमा ५०६ बिन्दुभन्दा बढीले सेयर बजारमा गिरावट आएको छ ।
अहिलेको समयलाई लगानीकर्ता ‘अफ सिजन’ भन्ने गर्छन् । गत वर्षको नाफाबाट कम्पनीहरूले लाभांश वितरण गरिसकेको र चालु आवको लाभांश पाउन अर्को वर्ष कुर्नुपर्ने भएकाले पनि लगानीकर्ताले सेयर बेच्न थालेका हुन् ।
पुसदेखि फागुनसम्म सेयर घट्ने परम्परा यो वर्ष पनि कायम भएकाले लगानी सेयर बजारबाट बाहिरिएको ब्रोकरहरू बताउँछन् । ठूला र चलाख लगानीकर्ताहरू कम्पनीको सेयर माथि चढ्दा बिक्री गर्ने र न्यून बिन्दुमा झर्दा किनेर राम्रो प्रतिफल लिँदै अन्य क्षेत्रतिर जाने गरेका छन् । सिजापती भन्छन, ‘चलाख लगानीकर्ताहरू स्थिर भएर बस्दैनन्, मनस्थिति परिवर्तन गरिरहन्छन् ।’
बजार घट्ने क्रममै रहिरहँदा उनीहरूले थप लगानी गरेका छैनन् । केही लगानीकर्ताले चालु वर्ष बैंक, वित्तीय संस्थाले वितरण गरेको बोनस र हकप्रद राखेर अरु सेयर बिक्री गरिसकेका छन् । बैंक÷वित्तीय संस्थाले वितरण गरेको बोनस तथा सेयर सूचीकृत नभइसकेकाले पनि बिक्री गर्न सकिँदैन । सेयर मूल्य बढे बोनस र
हकप्रद सेयरले पनि फाइदा पु¥याउँछ भन्ने उद्देश्यले पनि यसो गर्ने गरिन्छ ।

नेप्से परिसूचक निरन्तर ‘बियरिस ट्रेन्ड’मा रहँदा धेरै लगानीकर्ताले सेयर बेच्ने मनस्थिति बनाएको सेयर विश्लेषक बताउँछन् । ‘सेयर बजार साइकल सिद्धान्तमा चल्ने गर्छ,’ उनले भने, ‘५–६ वर्षमा तलमाथि गर्ने भएकाले जसले माथि गएको बेलामा बेच्छ, उसले कमाउँछ, झरेका बेला बेच्नेले गुमाउँछ ।’
नेप्सेमा आएको गिरावटसँगै पुराना खेलाडी ब्रोकरको कार्यालयबाट समेत पलायन हुँदैछन् ।


हकप्रद–एफपिओले घटायो बजार
लगानीकर्ताहरु हकप्रद र साधारण सेयरको नयाँ निष्काशन (एपपिओ)को पछाडि दौडन थालेपछि सेयर बजार घट्न पुगेको हो । हकप्रद र एफपिओतिर लागेसँगै दास्रो बजार (सेकेन्डी मर्केट) घट्न पुगेको हो । एफपिओमा मात्र करिव ६० अर्ब रमक प्रवाह भएको छ । सेयर बजारमा आउने उक्त रकम बैंकमा अड्किएपछि सेयर बजार प्रभावित हुन पुगेको बिज्ञहरुको भनाइ छ ।

दोस्रो बजारमा भन्दा करिव आधा मूल्यमा एपपिओको सेयर खरिद सकिने भएपछि सेयर बजार घट्न पुगेको बिश्लेषको भनाइ छ । शिखर इन्सुरेन्सले प्रतिकित्ता १६ सय २० रूपैयाँका दरले एफपीओ ल्याउने भएको छ । कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यमा १५ सय २० रूपैयाँ प्रिमियम थपेर १३ लाख ६२ हजार ७८१ कित्ता एफपीओ ल्याउन लागेको हो ।

शिखरले अघिल्लो वर्ष पनि एफपीओ बिक्री गरेको थियो । एफपीओ ल्याउन शिखरले कम्पनी रजिष्ट्रार कार्यालय र धितोपत्र बोर्डमा आवेदन दिने पनि जानकारी दिएको छ ।

कम्पनीले तोकेको यो एफपीओ दर धितोपत्र बोर्डले भने अनुमोदन गर्न बाँकी छ । बोर्डले अनुुमोदन गरेपछि मात्र भाउले अन्तिमरुप पाउनेछ ।

प्रिमियर इन्सुरेन्स कम्पनीले ६ लाख ५९ हजार ५६५ कित्तामात्र एफपीओ बिक्री गर्न लागेको जानकारी दिएको छ । कम्पनीले नेप्सेलाई उपलब्ध गराएको सूचनमा यस्तो जानकारी दिइएको हो । प्रिमियर इन्सुरेन्सले एक सय रुपैयाँ अंकित मूल्यमा ९०४ रुपैयाँ प्रिमियम भाउ थपेर एक हजार चार रुपैयाँका दरले उक्त कित्ता सेयर एफपीओ जारी गर्नेछ ।
यसअघि एसविआई बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एफपिओमा सेयर बिक्री गरेका छन् ।

 

प्रकाशित: १६ माघ २०७३ ०४:४६ आइतबार

सेयर बजारको पैसा बैंकतिर