अर्थ

सीमा क्षेत्रका सुरक्षाकर्मी र कर्मचारीमा इमानदारिता आवश्यक

रौतहट– रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मी तथा भन्सारका कर्मचारीहरुमा इमानदारिता आवश्यक रहेको बताएका छन्। राज्यले तोकेकोभन्दा बढी राजस्व संकलन गर्न र सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न सुरक्षाकर्मी र कर्मचारीमा इमानदारिता हुनुपर्ने बताएका छन्।

६५ औं अन्तरराष्ट्रिय भन्सार दिवसको अवसरमा गौर भन्सार कार्यालयद्वारा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले सिमापारीको व्यापारलाई बढावा दिएर त्यस मुलुकबाट आउने मालसामानहरुको यथोचित रुपमा राजस्व दाखिला गराएर नेपाल प्रवेश गराउन भन्सारमा कार्यरत कर्मचारीहरुको योग्यदान महत्वपूर्ण हुने बताए।

भारतसँग जोडिएका करिब २९ किलोमिटरको सीमा क्षेत्रमा भन्सार कर्मचारी तथा सुरक्षाकर्मीहरु तैनाथ छन्। सबै आफ्नो क्षेत्रमा इमानदार भएमा राजस्वमा वृद्धि हुने र अवाञ्छित गतिविधिसमेत नहुने प्रजिअ थापाले स्पष्ट पारेका छन्। असल काम गर्नेलाई राज्यबाट पुरस्कृत गर्ने प्रचलन रहेको भए पनि क्षणिक स्वार्थमा परेर केही अवसरको दुरुपयोग गरेको पाइएको समेत स्मरण गर्दै थापाले भन्सारको नीति एवं उद्देश्यका साथ काम गरेमा कुनै पनि कार्य असम्भव नहुने जिकिर गरे।

कार्यक्रममा नेपाल प्रहरीका एसपी यज्ञविनोद पोखरेलले सीमा क्षेत्रबाट हुने अवाञ्छित गतिविधिबाट राजस्व संकलनमा ह्रास भईरहँदा त्यसता कार्यलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्रियताका साथ काम गरिरहेको बताए।

यसैगरी सशस्त्र सीमा सुरक्षा बलको कार्यालय रौतहटका एसपी भगवान मल्लले विभिन्न बाटो भएर सामानहरु भित्रयाउने कार्यलाई पूर्ण रुपमा निरुत्साहित गरिएको तथा भन्सारको राजस्व बढाउने कार्यमा सशस्त्र प्रहरीका सबै युनिटहरु इमानदारीताका साथ अहोरात्र खटिरहेको दाबी गरे।

गौर भन्सार कार्यालयका निमित्त प्रमुख विमल साहले खुला सीमाना भएको तथा कर्मचारी अभाव भएको हुँदा पनि स्थानीय बासिन्दाहरुको सहयोगमा भन्सार चुहावट कार्यलाई नियन्त्रण गरिएको दाबी गर्दै मुख्य भन्सारबाट आउने मालसामानहरुलाई निर्वाध रुपमा भन्सार विभागले तोकेको शुल्क लिएर मात्रै पठाउने गरेको बताए। अन्य क्षेत्रमा पनि कर्मचारी गौरबाट पठाएर निगरानी राख्ने गरेको तथा ५ हजारसम्मको भन्सार छोटी कार्यालयहरुबाट काटिने तथा सो भन्दा बढी रकमको भन्सार मुख्य कार्यालयमा ल्याएर राजस्व काटिने गरेको स्पष्ट पारे।

प्रकाशित: १३ माघ २०७३ १२:३३ बिहीबार

सीमा क्षेत्रका सुरक्षाकर्मी कर्मचारीमा इमानदारिता आवश्यक