अर्थ

उखु किसानलाई प्रतिक्विन्टल ५१७ रुपैयाँका दरले पेश्की भुक्तानी

रौतहट– उखुको आधिकारिक मूल्य निर्धारण नभएको भन्दै गरुडास्थित श्रीराम सुगर मिल्सले उखु किसानलाई प्रतिक्वीन्टल ५१७ रुपैयाँका दरले उखुको भुक्तानी दिन सुरु गरेको छ।  

गत दुई आर्थिक वर्षको उखु खरिद गरेको रकम भुक्तानी दिन बाँकी रहेको भए पनि चालू आर्थिक वर्षमा क्रसिङ गरेको उखुको मूल्य भुक्तानी दिन थालेपछि किसान खुसी भएका छन्। मिलले चालू आर्थिक वर्षमा किनेको उखुको भुक्तानी शुक्रबारदेखि सुरु गरेको स्रोतले बताएको छ।

गत पुस १३ गते उद्योगले किनेको उखुको मूल्य पहिले नै वाचा गरेअनुसार किसानको खातामा पठाएको उद्योगले जनाएको छ। उद्योगका प्रशासकीय अधिकृत जयमंगल यादवले किसान संघ र उद्योगपतिको सहमतिमा प्रतिक्वीन्टल ५१७ रुपैयाँ भुक्तानी दिन सुरु गरिएको बताएका छन्।

उखुको मूल्य संसदमा गएर अड्किएकोले तत्कालको लागि किसानको पूर्जीमा उखुको मूल्य खाली राखेर उद्योगलाई बेचे पनि किसानको खातामा प्रतिक्वीन्टल ५१७ रुपैयाँ भुक्तानी दिन थालेकोले किसानलाई फाइदा भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले बताएका छन् ।

गत वर्षको बाँकी रकम पनि किसानको हातमा तालिकाअनुसार गइरहेको र चालू आर्थिक वर्षको पनि भुक्तानी भइरहेकोले किसानको पक्षमा उद्योगले काम गरेको अध्यक्ष यादवले बताएका छन्।

प्रकाशित: ७ माघ २०७३ १२:३४ शुक्रबार

उखु किसानलाई प्रतिक्विन्टल ५१७ रुपैयाँका दरले पेश्की भुक्तानी