अर्थ

वाणिज्य बैंक भारत र चीनमा विस्तार गरिने

अर्जुन पाख्रिन तामाङ

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि बैंकिङ सेवा विस्तार गर्ने तयारी सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले भारतमा शाखा खोल्ने निर्णय भइसकेकाले छिटोभन्दा छिटो शाखा विस्तारमा लागेको बताए। राजधानीमा बिहीबार आयोजित बैंकको ५२औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष पाण्डेले उक्त जानकारी दिएका हुन्।

'अन्तर्राष्ट्रिय रुपमा वाणिज्य बैंकको सेवा विस्तारका लागि पनि यो निर्णय आवश्यक थियो,' उनले भने, 'त्यसैले छिमेकी मुलुक भारतसँगै चीनमा पनि शाखा विस्तार गर्ने योजनाअनुसार गृहकार्य गरिरहेका छौं।' उनले भारतमा शाखा खोल्न ढिलाइ भएको भन्दै नयाँ आर्थिक वर्षभित्र शाखा स्थापना गरिसक्ने पनि बताए। 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरणकुमार श्रेष्ठले २०७२/७३ मा २ अर्ब ३५ करोड खुद मुनाफा गरेको जानकारी दिए। २०७३ पुनस मसान्तसम्म कूल निक्षेप १ खर्ब ३८ अर्ब र कूल कर्जा ९३ अर्ब ४८ करोड रुपैयाँ भएको सिइओ श्रेष्ठको भनाइ छ। आव २०५९/६० मा वार्षिक करिब ५ अर्ब घाटा थियो। विगतको कार्यशैली र प्रविधि परिवर्तनका कारण बैंक मुनाफासहित अग्रणी बैंकको रुपमा स्थापित भएको उनले बताए। 

बैंकले चालू आवमा कृषि उत्पादन अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुलीको नाकाजोलीमा जुनार खेती र रुपन्देहीको छपियामा माछा व्यवसायलाई लक्षित गरी १५ करोड सुविधायुक्त कर्जा कार्यक्रम सञ्चालन गरेको छ। भूकम्पपीडित कर्जाको कार्यविधि तयार गरी लगानी कार्य सुरु गरिएको बैंकले जनाएको छ।

बैंकले ठूला उद्योगदेखि साना मझौला उद्यम व्यवासय, पर्यटन, जलविद्युत, शैक्षिक कर्जा, घर निर्माण, गाडी खरिदजस्ता उपभोक्ता कर्जा लगानी गर्दै आएको छ। त्यस्तै, सरकारको नीति बमोजिम व्यावसायिक कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरी ७ अर्ब ७४ करोड कर्जा प्रवाह गरिएको बैंकले जनाएको छ। यसमध्ये १ अर्ब ९० करोड अनुदान सहितको कृषि कर्जा रहेको वाणिज्य बैंकको भनाइ छ।

बैंकले नेपाल प्रहरीसँग तलबी बचत खाता खोल्ने सम्झौता गरी करिब ७० हजार प्रहरीको तलबी बचत खाता खोली बैंकमार्फत तलब भुक्तानी गर्ने व्यवस्था मिलाएको छ। त्यस्तै नागरिक लगानी कोषसँग सम्झौता गरी बचतकर्ताको रकम 'एविविए' सेवामार्फत सोझै केन्द्रीय खातामा जम्मा हुने व्यवस्था पनि गरिसकेको जनाएको छ। 'एनसिएचएल'सँग सम्झौता गरी 'इन्टर बैंक पेमेन्ट सिस्टम' कारोबारसमेत सञ्चालनमा ल्याएको बताइएको छ।

७५ जिल्लामध्ये ६८ जिल्लामा शाखा कार्यालय विस्तार गरिसकेको वाणिज्य बैंकले एटिएम सेवालाई विश्वसनीय बनाउन 'चिप बेस्ट डेविट कार्ड' सञ्चालनमा ल्याउने तयारी गरेको सिइओ श्रेष्ठको भनाइ छ। त्यस्तै बैंकले ९० वटा एटिम, १७ स्थानमा एक्सटेन्सन काउन्टर तथा ७५ स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको जनाएको छ। 

चालु आवभित्र सेयर खुल्ला

तत्कालीन अर्थमन्त्री रामशरण महतले दुई वर्षअघि वाणिज्य बैंकको सेयर  सर्वसाधरणका लागि खुलाउने निर्णय गरेका थिए। तर, सरकार परिवर्तनपछि सेयर निस्काशन रोकिएको थियो। बैंकका सिइओ श्रेष्ठले यस विषयमा अर्थ मन्त्रालयमा बैंक सञ्चालक समितिको बैठकको निर्णय पठाई सकेको बताए। सिइओ श्रेष्ठले सेयर जारी गर्ने विषयमा मोडालिटिबारे छलफल भइरहेको जानकारी दिँदै चालू आवभित्र नै सर्वसाधारणका लागि वाणिज्य बैंकको सेयर खुल्ला हुने बताए।

प्रकाशित: ७ माघ २०७३ ०४:१८ शुक्रबार

वाणिज्य बैंक भारत चीनमा विस्तार गरिने