अर्थ

व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ

अर्जुन पाख्रिन तामाङ

काठमाडौं- राष्ट्रिय युवा परिषदले बेरोजगार युवालाई लक्षित गरी व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ निर्ब्याजी  लगानी गर्ने भएको छ। तर, परिषदले व्यक्तिलाई नभई सामूहिक रुपमा संगठित संस्थालाई  लगानी गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए।

उनका अनुसार परिषदले आर्थिक वर्ष २०७३/०७४ को वार्षिक कार्यक्रम अनुसार २ सय ४० निर्वाचन क्षेत्रमा ५ लाखको दरले उक्त कार्यक्रम तय गरेको छ। ढुंगेललेे १६ देखि ४० वर्ष उमेर समूहका युवाको संस्थाले फागुन ३ गतेभित्र पाँचबर्से व्यावसायिक उद्यम सञ्चालनका लागि नवीकरण भएको संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि सहित जिल्ला युवा परिषदमा प्रस्ताव पेस गर्नुपर्ने पनि बताए।

परिषदका प्रशासकीय प्रमुख तथा व्यावसायिक उद्यम सञ्चालन समितिका सदस्य सचिव मुक्तिसिंह ठकुरीले जिल्ला युवा समितिको कार्यालयमा व्यावसायिक उद्यम सञ्चालनका लागि दर्ता भएको प्रस्ताव फागुन पहिलो हप्ता जिल्लामै छनोट हुने जानकारी दिए।

परिषदको केन्द्रीय कार्यालयमा फागुन दोस्रो साताभित्र जिल्लामा छानिएका उद्यम प्रस्ताव आएपछि अन्तिम साता विशेषज्ञ टोलीले अन्तिम छनोट गर्ने सदस्य सचिव ठकुरीको भनाइ छ।

उद्यम सञ्चालनका लागि कृषि, वन, पशुपन्छी विज्ञान, सूचना प्रविधि, सञ्चार, कला, संस्कृति, पर्यटन प्रवर्द्धन, निर्माण आदि हुनुपर्ने ठकुरीको भनाइ छ।

आवेदनका लागि एउटै वडाको १६ देखि ४० वर्षका युवामा ५० प्रतिशत महिला हुनुपर्ने, न्यूनतम आधार नभएको युवाको हकमा भने सीमा जोडिएको वडाको युवा समूह बनाउन सकिने परिषदले जनाएको छ।

युवा समूह सम्बन्धित निकायमा दर्ता भएको हुनुपर्ने, तोकिएको अवधिभित्र नयाँ युवा समूह दर्ता गरी आवेदन दिन सकिने छ। यस्तै, सम्बन्धित निकायमा संस्था दर्ता भएको प्रमाणपत्रको नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि  समेत बुझाउनु पर्नेछ। 

उद्यम सञ्चालन गर्ने समूहका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पनि हुनुपर्ने छ।

साथै वडा कार्यालयले बेरोजगार युवा भएको सिफारिस पत्र, उद्यम सञ्चालन गर्न आवेदन दिने समूहको बैठक निर्णयको प्रतिलिपि बुझाउनुपर्ने ठकुरीले नागरिकलाई जानकारी दिए। 

छानिएको समूहलाई तालिम

छानिएको युवा समूहलाई उद्योग मन्त्रालयले तालिम दिने परिषदले जनाएको छ। परिषदले छानिएको समूहसँग दुईपक्षीय सम्झौता गर्ने छ।

पाँचबर्से योजना छनोटपछि उद्यमी युवाले आफ्नो बैंक खातामा १ लाख रुपैयाँ जम्मा गर्नुपर्ने र यसपछि मात्रै परिषदले १ लाख रुपैयाँ दिने व्यवस्था रहेको परिषदले जनाएको छ।

उद्यम सञ्चालन कार्ययोजनाको दोस्रो चरणमा थप ४ लाख रुपैयाँ परिषदले उद्यमी टोलीलाई दिने व्यवस्था छ।

युवालक्षित पहिलो कार्यक्रम भएकाले प्रभावकारी हुने प्रमुख ठकुरीको भनाइ छ। उनले भने, 'युवा उद्यमीलाई दिएको ५ लाख रुपैयाँ ३ वर्षमा २० प्रतिशत र ४ वर्षमा ३० प्रतिशत र ५ वर्षमा ५० प्रतिशत गरी फिर्ता गर्नुपर्ने छ।'

प्रकाशित: ४ माघ २०७३ ०३:१३ मंगलबार

व्यावसायिक उद्यम सञ्चालनका लागि १२ करोड रुपैयाँ