अर्थ

दलाल मालामाल, उखु किसान कंगाल

रौतहट- किसानले उखु उब्जाएको भए पनि उखु किनेर चिनी उद्योगहरुलाई बेच्ने बिचौलिया मालामाल भएका छन्। सरकारले उखुको मूल्य समयमा तोक्न नसक्दा बिचौलिया मालामाल भएको पाइएको छ।

कृषि मन्त्रालय र उद्योग मन्त्रालयले उखुको मूल्य प्रतिक्वीन्टल पाँच सय ३१ रुपैयाँ प्रस्ताव गरेको भए पनि उद्योगीहरुले आफूलाई मान्य नभएको भन्दै उखु बेचेपछि किसानले पाउने पूर्जीमा ०० मूल्य कायम गर्दा झन् अन्यौल देखिएको छ। उद्योगीले उखुको मूल्य भुक्तानी गर्ने बेलामा मनोमानी गर्ने सम्भावना रहेकोले धेरै किसानले बिचौलिया मार्फत धमाधम उखु बेचिरहेका छन्।

बिचौलियाले उखु किसानलाई प्रति क्वीन्टल ४६० देखि ४८० रुपैयाँसम्म मूल्य दिइरहेकाले उखु किसान आकर्षित भएका हुन्। बिचौलियाले रौतहटको विभिन्न भागबाट दैनिक २५ देखि ३० ट्रक उखु बारा, सर्लाही र महोत्तरीको चिनी उद्योगलाई बेचिरहेका छन्।

जिल्लाको सुन्दरपुरमा उखु ठेकेदारहरुले अवैधानिक तरिकाले उखु तौल गर्ने काटा नै सञ्चालन गरेर किसानसँग मनोमानी ढंगले उखु खरिद गरेर बाराको मामकोर स्थित रिलायन्स सुगर मिल्समा उखु सप्लाइ गरिरहेका छन्। जिल्लाको भगवानपुर, कटहरिया, हिमालीवास लगायतका स्थानहरुवाट विचौलियाले किसानसँग सस्तोमा उखु खरिद गरेर महंगोमा विक्री गरिरहेको उखु उत्पादक संघका कोषाध्यक्ष मनोज सहनीले बताए।

आफैँले चिनी उद्योगलाई उखु बेच्दा मूल्य नतोकिएको पूर्जी पाउनु र अर्कोतिर दुई दिनमै नगद हात पर्ने हुनाले किसानले बिचौलियालाई सस्तोमा उखु बेच्न बाध्य छन् । किसानसित सस्तोमा उखु किनेर बिचौलियाले चिनी उद्योगलाई प्रति क्वीन्टल ५१३ देखि ५१७ रुपैयासम्ममा नगदै बेचिरहेका छन् । उखुको ढुवानीमा पनि बिचौलियाले कमाउने हुनाले जिल्लामा दुई दर्जनभन्दा बढी बिचौलियाले उखुको खरिदमा करोडभन्दा बढी लगानी गरेका छन्।

गत दुई वर्षको उखुको रकम विभिन्न चिनी उद्योगले बाँकी राखेकाले किसानले सस्तो विकल्प रोजेको संग्रामपुरका किसान दाहु यादवको भनाइ छ । चिनी उद्योगहरुले किसानलाई सास्ती दिएकै कारण धेरै किसानले गत असोजदेखि मंसिरसम्म प्रति क्वीन्टल ३०० रुपैयामा विभिन्न खाँडसारी उद्योगलाई उखु बेचेका छन् । अहिले पनि दुई दर्जनभन्दा बढी खाँडसारी उद्योगले प्रति क्वीन्टल ४६० का दरले नगदमै उखु किनिरहेको यादवको भनाई छ।

सरकारले उखुको न्युनतम मूल्य तोक्न ढिलाइ हुनुले उखु किसान सबैतिरबाट ठगिएको उखु उत्पादक संघका अध्यक्ष अशोक यादवले बताएका छन् । हरेक वर्ष दशैँअगावै सरकारले उखुको न्युनतम मूल्य तोकेमा किसानहरुले समस्या भोग्नु नपर्ने र उखुको सही मूल्य समेत पाउने अध्यक्ष यादवको भनाइ छ। वर्तमान प्रणालीले दलाल मालामाल र उखु किसान कंगाल बन्ने अवस्था सिर्जना भएको उखु उत्पादक संघका अध्यक्ष यादवको दाबी छ । दुईसाता अघि सरकारले उखुको मुल्य प्रति क्वीन्टल ५३१ रुपैयाँ निर्धारण गरेर अनुमोदनका लागि संसदमा पठाएपनि संसदले मूल्य निर्धारण गर्न नसकेको कारण उद्योगिले उखुको मुल्यको वाटो कुरिरहेको र किसान सित खरिद गरेको उखुको भुक्तानी रसिदमा शून्य नै लेख्ने गरेको संघका अध्यक्ष यादवले बताए।

जिल्लाको एक मात्र उखु उद्योग श्रीराम सुगर मिल्सलाई किसानहरुले भुक्तानी समयमा नपाएको कारण उखु नदिएर जिल्ला बाहिरका चिनि मिलहरुमा दैनिक पचास ट्रक भन्दा वढी उखु अन्यत्रका उखु उद्योगमा सस्तोमा बेचिरहेको गरुडाका मनोज चौधरीले बताए। दैनिक उपभोग्य बस्तुको मुल्य दिनदिनै अकाशिदै गएपनि सरकारले ठोस रुपमा उखु सम्बन्धि ठोस कानुन नवनाएर सिजनको सुरुमा मुल्य निर्धारणको नाटक गरेर किसानलाई सास्ति दिने काम मात्रै गरिरहेको किसानको आरोप छ।

गत बर्ष सुगर मिल्स सञ्चालन भइको यति वेला सम्म लाखौं क्वीन्टल उखु क्रसिँग गरिसक्नु पर्थ्यो, तर यो बर्ष सुगर मिल्स सञ्चालनमा आएको दुई साता वितेपनि पचहत्तर हजार क्वीन्टल उखु मात्र क्रसिँग गर्न सकेको चिनिमिल श्रोतले जनाएको छ। श्रीराम सुगर मिल्सले समयमा भुक्तानी नदिएको कारण किसानहरु निरास बनेर यसपाली समेत विक्री गर्ने उखुको भुक्तानी नपाउने डरले अन्यत्र उखु वेचिरहेको किसानहरुको भनाई छ।

प्रकाशित: २५ पुस २०७३ १०:२९ सोमबार

दलाल मालामाल उखु किसान कंगाल