अर्थ

‘भारतीय नोट अभावले आर्थिक क्षेत्र समस्यामा’

नेपालगन्ज- भारतीय नोटको चरम अभावले गर्दा आर्थिक तथा वित्तिय क्षेत्रमा समस्या आएको सम्वद्ध सरोकारवालाले गुनासो गरेका छन्। नेपाल राष्ट्र बैंक नेपालगन्जले शुक्रबार गरेको कार्यक्रममा उपस्थित उद्योगी, व्यवसायी लगायतले भारतीय नोटको अभावले गर्दा सिमापारीबाट व्यवसायिक कारोबार गर्न कठिनाई भइरहेको बताए।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भारतीय पाँच सय र एक हजारको नोटमा लगाएको प्रतिवन्ध पश्चात भारु. नोट अभावको समस्या बेहोर्नु परिरहेको गुनासो गरे। ‘हामी भारतीय सीमासँग जोडिएका छौं, त्यसकारण रोटी र बेटीदेखि हरेक व्यवसायिक कारोबारका लागी भारत जानुपर्छ,’ उनले भने ‘भारतीय नोट पर्याप्त मात्रामा नपाउँदा निकै समस्या भइरहेको छ।’

राष्ट्र बैंकले प्रतिव्यक्ति २ हजार भारु दिने नियम लगाउँदा सिमावर्ती क्षेत्रको व्यापार व्यवसायलाई असर पुर्‍याएको अध्यक्ष बैश्यले गुनासो गरे। उनले थपे, ‘भारतीय नोट अभावले गर्दा हामीले सामान निकासी मात्रै गर्ने, पैठारी गर्न अप्ठ्यारो भइरहेको छ ।’ वरिष्ठ उद्योगी कन्हैयालाल बैद्यले राष्ट्र बैंकले भारतीय बैंकसँग पर्याप्त मात्रामा भारु नल्याउँदा हरेक वर्ष नेपाली उद्योगी, व्यवसायीले समस्या बेहोर्नु परेको बताए। ‘राष्ट्र बैंकले दश वर्ष अगाडी जति भारु मुद्रा ल्याउँथ्यो, अहिले पनि त्यही अवस्था छ,’ उनले भने। 

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले आफुहरुले चाहेर पनि भारतीय रुपैयाँको अभाव अन्त्य गर्न नसक्ने बताए । उनले राष्ट्र बैंकलाई भारतीय बैंकले बार्षिक रुपमा ६ अर्ब भारु दिने गरेको जानकारी दिंदै भने, ‘हामीले बर्षेनी रकमको दर बढाउन अनुरोध गरिरहेका छौं, तरपनि भारतीय बैंकले दिदैन ।’ कानुनी रुपमा भारतीय मुद्राको कारोबार मुलुकभित्र गर्न नपाइने उल्लेख गरे । ‘भारतीय नोटको सुविधा त अत्यावश्यक कामका लागी भारत जाने नेपालीका लागी मात्र दिइएको हो, नियमले मुलुकभित्र भारतीय मुद्राको कारोबार गर्न मिल्दैन,’ उनले भने ‘तर व्यवहारिक हिसाबले मात्र भारु कारोबार गर्न दिइएको हो, मैलेपनि कहिले काँही भारतीय नोटबाटै कारोबार गर्छु।’

राष्ट्र बैंक नेपालगन्जका निर्देशक गुरुप्रसाद पौडेलले व्यवसायिक कारोबारका लागी भारतीय रुपैयाँ दिने नीतिगत व्यवस्था नरहेको जिकिर गरे। ‘नीतिगत रुपमा व्यवसायिक कारोबारका लागी भारु दिने नीति छैन,’ उनले भने।

 

प्रकाशित: २२ पुस २०७३ १३:३८ शुक्रबार

भारतीय नोट अभावले आर्थिक क्षेत्र समस्यामा