अर्थ

नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैनः गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन्।

मंगलवार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले नेपालका बैंक वित्तिय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गरे।

उनले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जाखिम नआउने बताए।

अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको उल्लेख गरे। पछिल्लो समय बैंकहरुमा तरलता सहज हुँदै आएको उनको दाबी थियो। उनले विद्युतिय भुक्तानी पूर्वाधारमा भएको विकास भूक्तानी कारोबारको लागि गरिएको सचेतना अभिवृद्धि, प्रात्साहन र सर्वसाधरणको विद्युतीय भुक्तानी उपकरण प्रयोगले विद्युतीय भुक्तानी बढेको बताए। उनले बैंक तथा वित्तिय संस्थाहरु सुरक्षित बन्नुमा राष्ट्र बैंकको मजबुत नीति भएको दाबी गरे। उनले अर्थतन्त्रको शिथिलता आगामी दिनमा सुधार हुने जिकिर गरे।

बैकर र व्यवसायीलाई  आगामी दिनमा उच्च मनोबलका साथ काम गर्न उनले आग्रह गरेका छन्।

राष्ट्र बैंकको तथ्याङक अनुसार पछिल्लो चार महिनामा निरन्तर रुपमा १ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स भित्रिरहेको अवस्था देखिएको छ। चालु आर्थिक वर्षको औषत रेमिट्यान्स ९९ अर्बप्रति महिना भित्रिएको छ। यता सरकारको चालु खाता घाटामा सुधार भएको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म चालु खाता ४४ अर्ब ३१ करोडले घाटामा छ। अघिल्लो वर्षको ८ महिनामा ४ सय ६० अर्बले ऋणात्मक रहेको चालु खाता घाटामा उल्लेख्य सुधार भएको हो। त्यस्तै विदेशी विनिमय सञ्चिति पनि सुविधाजनक अवस्थामा देखिएको छ। गत असार मसान्तमा १२ सय १५ अर्बको सञ्चिति रहेकोमा अहिले १४०१ अर्ब सञ्चिति रहेको छ। फागुन मसान्तसम्म शोधनान्तर स्थिति (नेपालबाट बाहिरिने र भित्रीले विदेशी मुद्राको अन्तर) १ खर्ब ४८ अर्ब रुपैयाँले बचतमा गएको छ। माघ मसान्तसम्म १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले वचतमा रहेको शोधनान्तर स्थिति १५ अर्बले सुधार भएको हो।

गत वर्ष फागुन मसान्तसम्म शोधानान्तर स्थिति २ खर्ब रुपैयाँले घाटामा थियो। असोज यता शोधनान्तर स्थिति निरन्तर वचतमा छ। चालु आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाह १४.८ प्रतिशतले बढ्नुको साथै आयात २० प्रतिशतले घटेपछि शोधनान्तर स्थिति वचतमा गएको हो । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने पैसा बढेको छ। माघमा ५ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो। देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार चालु आर्थिक वर्षको फागुनमा मुद्रास्फीति ७.४४ प्रतिशत कायम भएको हो। माघ मसान्तसम्म महँगी ७.८८ प्रतिशत थियो । गत वर्षको तुलनामा भने महँगी बढेको हो।

प्रकाशित: २८ चैत्र २०७९ १०:३७ मंगलबार