नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को भाेलि हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ तथा उनको टिमले आज मंगलबार मनोनयन दर्ता गरेको छ।
वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठ सहितको टिमले टेकुस्थित महांघको कार्यालयमा पुगेर आफ्ना समूहका सबै उम्मेदवारहरुको सामुहिक उम्मेदवारी दर्ता गरेको हो।
श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुण सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले उम्मेदवारी दर्ता गरेका छन्।
एसोसिएट्सतर्फ अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै उपाध्यक्ष पदमा भरतराज आचार्यले स्वतन्त्र प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन्। जसमा अन्जन समूहका प्रबलजंग पाण्डे लगायतका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरे। एसोसिएट्समा दुवैतर्फका बराबर सदस्यहरु राख्ने सहमति भएको छ।
यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूहका प्यानल सदस्यहरुले समेत आफ्नो मनोनयन दर्ता गरेका हुन्।उम्मेदवारी दर्तापछि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफूले उम्मेदवारी दिएको बताएका छन्।
आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे।
बरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठको चुनावी प्रतिवद्धतापत्र
राज्यको विकास र निर्माणका लागि निजी क्षेत्रको भूमिका सदियौँदेखि रहँदै आएको छ। बदलिँदो विश्व परिवेशमा निजीक्षेत्रको भूमिका झन् महत्वपूर्ण देखिँदै आएको छ। अर्थतन्त्रमा निजीक्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध साधन र श्रोतको अधिकतम परिचालन गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने आवश्यकता छ।
संविधानले परिकल्पना गरेको स्वाधीन तथा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीतिको कार्यान्वयन गर्न निजी क्षेत्रहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले महत्वपूर्ण भूमिका खेलेको छ। निजीक्षेत्रका अग्रजहरूले परिकल्पना गरेर जन्माएको व्यावसायिक सङ्गठन आज नेपालमा सरकारपछि सबैभन्दा धेरै सञ्जाल भएको सङ्गठनका रूपमा स्थापित छ। यो संगठनको सवल र सक्षम रूपमा नेतृत्व गर्नका लागि केही योजना बनाएर वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बनेको हुँ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त व्यावसायिक छाता सङ्गठनको रूपमा महासंघ विगत ५७ वर्षदेखि व्यवसायीहरू सँगसँगै हिँडिरहेको छ। महासंघ नेपाली उद्योगी व्यवसायीहरूको पेसागत संरक्षण र हक हितको सुनिश्चित गर्ने अभिप्रायले स्थापना गरिएको संस्था भएकाले यसको लक्ष्य, उद्देश्य परिपूर्ति गर्न काम गर्ने अठोट।
नेपालमा समग्र उद्योग तथा वाणिज्य क्षेत्रको विकास र प्रवद्र्धनलाई मध्यनजर गर्दै स्थापित यो संस्थाले विगत ५ दशकमा नेपाली समाजमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ। महासंघले सदैव आफ्नो तर्फबाट नेपाल र नेपालीको हक हित, आर्थिक विकास, लोकतन्त्र र संविधानको रक्षाका लागि भूमिका खेलेको छ। महासंघ उद्योगी व्यवसायीहरूसँगै मुलुकको पनि आर्थिक उन्नतिको लागि समर्पित संस्था हो। नेपाली उद्योग व्यवसायहरूलाई सहजीकरण गर्दै विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन महासंघले विभिन्न तवरबाट भूमिका खेल्दै आएको छ।
महासंघ सरकारको सल्लाहकार र सहयात्री रहँदै आवश्यक परेको बेला सरकारलाई सूचना, सल्लाह र परामर्श दिने काममा पनि सक्रिय रहेको छ। महासंघले नेपालमा रहेका उद्योगी व्यवसायीहरूको हकहितका लागि विभिन्न प्रवद्र्धनात्मक सेवाहरू तथा नियमित रूपमा तालिम, कार्यशाला र बहस तथा गोष्ठीहरू पनि आयोजना गर्दै आएको छ। समग्रमा यस महासंघले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र पूर्वाधार विकासका अतिरिक्त अन्तर्राष्ट्रिय विकास प्राथमिकता र अन्तर्राष्ट्रिय मञ्चमा राज्यले गरेका प्रतिबद्धता कार्यान्वयनमा समेत उल्लेखनीय योगदान गरिरहेको छ।
नेपालभरका उद्योगी व्यवसायीहरूको साझा आवाज भएर यस महासंघले अर्थतन्त्रको आधुनिकीकरण, उत्पादन प्रक्रियाको स्तरीकरण एवम् जीवनशैली र उपभोग प्रक्रियामा गरेको योगदानले नेपालको पहिचान र क्षमतालाई विश्वव्यापी बनाउन मदत पुर्याइरहेको सन्दर्भमा महासंघको आसन्न महाधिवेशन र यसले निर्माण गर्ने नेतृत्वको भूमिका अझै बढी महत्वपूर्ण भएको छ।
हाम्रो वाचा, हाम्रो सङ्कल्पः जीवन्त, जिम्मेवार र जोसिलो निजी क्षेत्र’ बनाउने प्रतिवद्धतासहित हामी महासंघको नेतृत्वमा आउन आकांक्षा गरेका हौं। महासंघले देशभरिका व्यावसायीहरूको हक र हितको संरक्षण गर्दै नेपालको आर्थिक तथा सामाजिक विकासको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनवरत रूपमा अगाडि बढेको छ। विश्व परिवेशमा भइरहेका परिवर्तनलाई मान्यता दिँदै खुला बजार अर्थतन्त्रको विकासमा प्रभावकारी र महत्वपूर्ण योगदान पुर्याउने महासंघको लक्ष्य रहेको हुँदा, यी लक्ष्य हासिल गर्नका लागि महासंघको आगामी नेतृत्वका लागि मैले दाबी पेस गरेको हुँ।
नेपालको अर्थतन्त्रमा हाल देखिएका समस्याको समाधान गर्न महासंघको आर्थिक रूपान्तरणको रणनीतिक कार्यान्वयन गर्दै उत्पादनमुखी अर्थतन्त्रको निर्माणका लागि निजी क्षेत्रको भूमिका बढाउनु आजको अपरिहार्यता हो। नेपालमा निजी क्षेत्रको भूमिका र क्रियाशीलता बढाउँदै अर्थतन्त्रमा निजी क्षेत्रको विस्तारका लागि महासंघको वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेद्वारी हो।
व्यवसायीहरूको आत्मनिर्भरता र स्वतन्त्र राष्ट्रिय अर्थतन्त्रको राष्ट्रिय लक्ष्यलाई समर्थन गर्दै देशको व्यापार र उद्योगको सर्वोच्च प्रतिनिधि निकायको रूपमा काम गर्ने र सरोकारवाला स्वदेशी तथा विदेशी संघसंस्थाहरूसँगको सहकार्यलाई मित्रवत् र रणनीतिक ढङ्गबाट अगाडि बढाउने योजना बनाएका छौं।
महासंघले हाल गर्दै आएको व्यवसायी, सरकार र समुदायलाई अद्यावधिक सूचनासँगै सामाजिक उत्तरदायित्व र कर्पोरेट सुशासनका साथ सुसंस्कृत व्यावसायिक अभ्यास गराउने प्रयासहरूलाई निरन्तरता दिन प्रतिबद्ध छौं। मेरो टिमका उद्योगी व्यवसायी ‘मित्रहरूसँग हाम्रा हक हित संरक्षण, हाम्रा समस्याहरूको उचित सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघमा जीवन्त भूमिका निर्वाह गर्न र नेपालमा जिम्मेवार र जोसिलो निजी क्षेत्र निर्माणका लागि वाचा गरेका छौं ।
देशैभर उद्योगी व्यवसायीहरूसँग छलफल गर्दैगर्दा उठेका प्रमुख मुद्दाहरू, अर्थतन्त्रका विद्यमान समस्या निराकरणका लागि महासंघको दायित्व र राज्यका आर्थिक नीतिहरूमा सान्दर्भिक सुधारका लागि मेरो उम्मेद्वारी हो ।
प्रकाशित: २८ चैत्र २०७९ ०९:४४ मंगलबार