अर्थ

पोखराका पर्यटन व्यवसायीको राजधानीवासीलाई निम्ताः नयाँ वर्ष मनाउन पोखरा आउनुस्

पोखरा घुम्न आइदिन अनुरोध गर्दै पोखराका पर्यटन व्यवसायीले काठमाडौंमा गरेको पत्रकार भेटघाट। तस्बिर: नागरिक

सिजनको बेलामा पनि पाहुना नपाउँदा अत्तालिएका पोखराका पर्यटन व्यवसायीले संघीय राजधानी काठमाडौंका आन्तरिक पाहुनालाई पोखरा घुम्न आउन अनुरोध गरेका छन्। पोखरामा आगामी बुधबारदेखि सुरु हुने १८ औं संस्करणको फेवा नववर्ष महोत्सवको अवसर पारेर आन्तरिक पाहुनालाई पोखरा घुम्न आइदिन व्यवसायीले राजधानीवासीलाई निम्ता गरेका हुन्।  

होटल संघका केन्द्रीय सदस्य भरत पराजुलीले राजधानीबासीलाई पोखरा घुम्न आइदिन निम्ता गरेको बताए। ‘फेवा नववर्ष महोत्सव हुँदै छ। महोत्सवका यही निहुँमा पाहुनालाई पोखरा घुम्न आउनुस् भनेका हौ,’ पराजुलीले भने, ‘पाहुना आउँदा व्यवसायीलाई केही राहत मिल्नेछ। अहिले पर्यटन क्षेत्र पाहुनाविहीन अवस्थामा छ। फाट्टफुट्ट पाहुनाको समूह देखिए पनि सोचे जति व्यापार छैन।’  

पोखरामा हुने महोत्सवबारे राजधानीमा पत्रकार भेटघाट गरेर आन्तरिक पाहुनालाई पोखरा घुम्न आइदिन आग्रह गरेको उनले बताए। ‘विदेशी त निकै नै सानो आकारमा मात्र छन्। यो बेला आन्तरिक पाहुना मात्र आइदिने हो भने पनि हामीलाई राहत मिल्ने थियो, पर्यटन क्षेत्रले आन्तरिक पाहुनाबाट ठुलो अपेक्षा गरेको छ,’ उनले भने, ‘अहिले पाहुनाविहीन अवस्थामा पर्यटन क्षेत्र रहेको छ। अहिले आएका पाहुनाको आकारबाट पर्यटन क्षेत्र चलायमान बनाउन निकै नै सकस भएको छ।’ विद्यालयको वार्षिक बिदा पर्ने र गर्मीको समय सुरु भएकोले पनि आन्तरिक पाहुनालाई यो बेला पोखरा घुमघाममा आइदिन आग्रह गरेको उनले बताए।

पर्यटन व्यवसायी पछिल्लो समय आन्तरिक पाहुना पनि नआएका कारण पनि केही अत्तालिएका छन्। आन्तरिक पाहुना आइदिने हो भने पनि व्यवसायीलाई राहत हुने उनीहरूको भनाई छ। होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन्, ‘हामीले पाहुनालाई पोखरा घुम्न आउनु भनेर निम्ता त दिएका छौ। निम्ता मान्न कति पाहुना आउनुहुन्छ भन्ने एक सातापछि थाहा हुनेछ। तर केही पाहुना पक्कै आउनेछन्।’ पोखरामा आन्तरिक पाहुना भित्र्याउने यो महोत्सव निहुँ मात्र बनेको उनको भनाई छ।

चैत २९ देखि वैशाख १ गतेसम्म आयोजना हुने महोत्सव पोखराको पर्यटकीय क्षेत्र लेक साइडमा संचालन हुनेछ। संघले आन्तरिक पर्यटक भित्र्याउन लागि महोत्सव सहयोगी बन्ने बताएको छ। महोत्सव अवधिमा सङ्घमा आबद्ध होटलका कोठामा २० प्रतिशत छुट दिने पनि संघले बताएको छ। ‘होटलको कोठाको शुल्कमा २० प्रतिशत छुट दिने भनेर हामीले राजधानीवासी पाहुनालाई निम्ता गरेका छौ,’ सुवेदीले भने, ‘यो छुटले केही सङ्ख्यामा पाहुना थपिन्छन् भन्नेमा आशावादी छौ। पाहुनालाई पोखरा घुमघामका लागि आउनका लागि सहयोग पुग्नेछ।’

पोखराका अहिले आन्तरिक पाहुना पनि कम भएको बेला यो छुटले केही पाहुनालाई आकर्षित गर्न सघाउने उनले बताए। व्यवसायीका अनुसार यो बेला पर्यटन क्षेत्रका लागि मुख्य सिजन हो। तर, यो वर्ष भने मुख्य सिजनमा पनि पोखरामा कम सङ्ख्यामा पाहुना आएका छन्। यति बेला पोखराका होटलको अकुपेन्सी करिब ९० प्रतिशत पुग्नुपर्नेमा विदेशी पाहुना अभावमा होटलको अकुपेन्सी दर २० प्रतिशत हाराहारीमा सीमित रहेको अध्यक्ष सुवेदीले बताए।  

अध्यक्ष सुवेदीका अनुसार २० प्रतिशत अकुपेन्सीमध्ये पनि ५ प्रतिशत तेस्रो मुलुक, १० प्रतिशत आन्तरिक र बाँकी भारतीय पाहुना रहेको उनले बताए। ‘कम्तीमा ४० प्रतिशत अकुपेन्सी नहुने हो भने व्यवसाय धान्न सकिन्न, कमाउनका लागि त कम्तीमा ५० प्रतिशत अकुपेन्सी हुनैपर्छ,’ उनले भने, ‘अहिले कमाउने होइन, व्यवसायमा टिकिरहने उपाय व्यवसायीले खोजेका छौ।’

नेपाली संस्कृतिको संरक्षण गर्दै नयाँ वर्षलाई धूमधामका साथ मनाउन लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव आयोजना हुने आयोजकले बताएको छ। नयाँ वर्ष महोत्सवले कोभिड– १९ पछि सुस्ताएको पर्यटनलाई पुनरुत्थान गर्दै लयमा ल्याउने अपेक्षा व्यवसायीले गरेका छन्।  

‘खपौदी कानिर्भल’को तयारी  

यसैबिच नयाँ वर्षमा लेक साइड नजिकैको खपौदीमा पनि मेलाको आयोजना गरिने भएको छ । फेवा पर्यटन विकास समितिले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर ‘फस्ट खपौदी कार्निभल’ नाम दिएर मेला गर्न लागेको हो। फेवा पर्यटन विकास समितिका अध्यक्ष अर्जुन सुवेदीले चैत ३० र वैशाख १ गते दुई दिने मेलाको आयोजना गरिएको जानकारी गराए। मेला पहिले प्याराग्लाइडिङ ल्याण्डिङ हुने स्थान (फेवा सिरान क्षेत्रको खपौदी) मा हुने उनले बताए। ‘हामीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘खपौदी कार्निभल’ नाम दिएर मेलाको आयोजना गर्न लागेका हौँ,’ उनले भने।  

फेवातालको उत्तरतर्फको गैह्राचौतारा देखि चंखपुर पामेसम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रबिन्दु भएका कारण पर्यटकलाई नै आकर्षित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे।  

प्रकाशित: २६ चैत्र २०७९ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App