अर्थ

श्रीराम सुगर मिल्स सञ्चालनमा, उखु बेच्न किसानकाे अानाकानी

फाइल फाेटाेः रौतहटको गरुडास्थित श्रीराम सुगर मिलमा क्रसिङका लागि उखु लैजाँदै किसान। तस्बिरः मदन ठाकुर

रौतहट– वितेका दुई वर्ष उखुको पैसा समयमा भुक्तानी नदिएको रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले किसानलाई उखुको चलान पूर्जी वितरण गरे पनि किसानमा उत्साह भने देखिएको छैन। १४ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएर शनिबार मध्यरातिदेखि सञ्चालनमा आएको चिनी उद्योगलाई उखु बेच्न किसानले उत्साह नदेखाउँदा कर्मचारीसमेत निराश भएका छन्।

उखु बिक्रीका लागि विगतका वर्षमा मिलबाट प्राप्त हुने चलान पूर्जीका लागि किसान नै कर्मचारीको अघिपछि गर्नु परे पनि यसपाली कर्मचारीले चलान पुर्जी घरैमा पु¥याउँदा पनि त्यत्ति उत्साह देखिएको छैन। मिलले अपेक्ष गरेको परिमाणमा उखु उपलब्ध नहुँदा पनि शनिबार मध्यरातदेखि उद्योग सञ्चालनमा आएको हो।

गत दुई वर्ष उखु बेचेको रकम भुक्तानी लिनका लागि किसानले उद्योगसँग पटकपटक सडक संघर्ष गर्नुपरेको थियो । गत वर्षको करिब सम्पूर्ण रकम र अघिल्लो वर्षको प्रतिक्वीन्टल ८६ रुपैयाँ उद्योगले किसानलाई तिर्न बाँकी राखेकोले किसानले उखु उपलब्ध गराउन आनाकानी गरेका हुन्।

बारा जिल्लामा रहेको चिनी उद्योगले प्रतिदिन न्युनतम २५ ट्रक उखु रौतहटबाट लगिरहेको भए पनि रौतहटकै चिनी उद्योगले किसानको विश्वास जित्न नसक्दा त्यसको आधा उखु पनि श्रीरामले पाउन सकेको छैन। उद्योग सञ्चालनमा आएको दुई दशकको समयमा सबैभन्दा कठिन समय अहिले नै भएको कर्मचारीहरु बताउँछन्।

उखुको अभावमा मिल्न चल्न नसक्ने अवस्था आउन लागेपछि यस वर्ष भने श्रीरामले उखु खरिद गरेको १५ दिनमा नै भुक्तानी दिने प्रतिबद्धता व्यक्त गरेको छ। उद्यपी, मिल्को प्रतिबद्धताप्रति किसान भने विश्वस्त हुन सकेका छैनन्। गत वर्ष पनि उखु उपलब्ध गराएको पच्चीस दिनमा भुक्तानी दिने बताएको मिलले एक वर्षसम्म रकम नदिँदा किसानहरुले उद्योगपतिको भनाइमा विश्वास गर्न छाडेका हुन्।

यस वर्ष सर्लाही, रौतहट, बारालगायतका जिल्लामा उखु उत्पादन घटेको र चिनी उद्योगको संख्या बढेकाले किसानले आफूले चाहेको उद्योगमा उखु बिक्री गर्ने विकल्प प्राप्त गरेको छन्। यही विकल्पका बीच चाँढो भुक्तानी दिने मिल नै किसानको रोजाइमा परेको पिपराका उखु किसान राजेश चौधरीको भनाइ छ।

‘दुई हप्ता होइन, एक हप्तापछि भुक्तानी गर्छु भने मात्र श्रीरामले उखु पाउँछ,’ उनले दाबी गरे, ‘रौतहटका उखु किसान अहिले पर्ख र हेरको नीतिमा छन्।’

जिल्लाको दश प्रतिशतभन्दा बढी उखु सख्खर उद्योगहरुले क्रसिङ गरिसकेको र कम्तीमा २५ प्रतिशत उखु बाराको चिनी उद्योगले लैजाने निश्चित भइसकेको अवस्थामा गरुडामा रहेको चिनी उद्योगले लक्ष्यको आधाभन्दा बढी उखु क्रसिङ गर्न मुस्किल हुने उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवको ठम्याइ छ।

मूल्य निर्धारणको विषयलाई लिएर उखु उद्योग ढिलो सञ्चालनमा आए पनि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सले दश हजार क्वीन्टल उखु क्रसिँग गरिसकेको र पन्ध्र हजार क्वीन्टल भन्दाबढी उखु चिनीमिल परिसरका किसानहरुले बिक्री गर्नका लागी ल्याइसकेको उखु प्रबन्धक सियाराम साहको दाबी छ।

गत वर्षको तुलनामा यो वर्ष उखु उत्पादनमा कमी आए पनि किसानसित यो वर्ष खरिद गरेको उखुको दुइ हप्तामै भुक्तानी दिने प्रबन्धक साहले बताए।

 

प्रकाशित: १८ पुस २०७३ १०:३३ सोमबार

श्रीराम सुगर मिल्स सञ्चालनमा उखु बेच्न किसानकाे अानाकानी