अर्थ

‘जोसिलो निजी क्षेत्र बनाउँछौं’

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनमा उम्मेदवारहरूले समूह घोषणासँगै आफ्ना प्रतिवद्धता सार्वजनिक गर्ने क्रम जारी रहेको छ। वरिष्ठ उपाध्यक्षका प्रत्यासी अन्जन श्रेष्ठले बुधबार आफ्नो समूहसँग प्रतिवद्धता समेत जारी राखे।

अन्जन समूहले वाचापत्र सार्वजनिक गर्दै जीवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्र बनाउन आफूले उम्मेदवारी दिएको उनले बताए।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले स्थानीय उत्पादनहरूको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्नेमा जोड दिए। नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउन व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने धारणा राखे। ‘महासंघलाई नयाँ उचाइमा पुर्याउन र संस्थाको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने प्राथमिकता छ,’ उनले भने।

श्रेष्ठले सहभावना र सहकार्यको मूल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता जाहेर गरे। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरूणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिषलाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे।

अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहीअनुसार सहकार्य गरिएको बताए।

प्रकाशित: २३ चैत्र २०७९ ०२:४२ बिहीबार

नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) औद्योगिक विकासमा अगाडि बढनुपर्ने