अर्थ

पशुमा खोप प्रभावकारी, किसानलाई राहत

आफुले पालेको बाख्रालाई खोप लगाउने तयारीमा बाख्रापालक किसानहरु। तस्बिरः नागरिक

पशुचौपायामा लाग्ने रोगको न्युनिकरण गर्न भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले वर्षेनी खोप कार्यक्रम गर्दै आएको छ। गण्डकी प्रदेश सरकारले २०७६/७७ देखि पूर्ण खोप लगाउने व्यवस्था गरेको थियो। पूर्ण खोपको व्यवस्था अनुसार नै कास्कीका विभिन्न क्षेत्रका पशु चौपायालाई खोप कार्यक्रम गरिएको केन्द्रले जनाएको छ। खोप कार्यक्रम पछिल्लो समय प्रभावकारी समेत बन्दै गएको छ।  

केन्द्रको तथ्यांक अनुसार गत बर्ष मात्र गाई, भैसी र बङ्गुरमा मात्र ९४ हजार ४ सय १ खोप लगाइएको थियो। गाई भैसीमा नै हुने अर्को भ्याकुते र चरचरे रोग न्युनिकरण गर्न गरी २६ हजार ३ सय ७१ खोप लगाईएको छ। बङ्गुरका स्वाईनफिबरका लागि झन्डै १५ हजार खोप लगाइएको छ । खोप कार्यक्रमले पशुपालन गर्दै किसानलाई समेत राहत पुगेको छ। पशुमा लाग्ने रोग संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ लागु गरिएको खोप कार्यक्रम प्रभावकारी देखिएपछि कास्कीका किसानहरु खुसी भएका छन्।  

गाई, भैसी, भेडा,बाख्रा, बङ्गुर लगायतका चौपायालाई खोप लगाउन थालिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख डा. शम्भुराज पाण्डेले जानकारी दिए।  त्यसैगरी भेडा बाख्रामा हुने पिपिआर रोग नियन्त्रणका लागि झन्डै ७७ हजार र रेविज विरुद्धमा ६१ हजार भन्दा बढी खोप लगाइएको डा. पाण्डेको भनाई थियो। कार्यालयले विभिन्न क्षेत्रमा गरी २ लाख १८ हजार ७ सय खोप लगाईसकेको  तथ्यांक छ।  

खोप लगाउनका लागि प्राविधिक जनशक्तिको जटिलता रहेको उनको भनाई थियो। खोप लगाउनको लागि गाउँगाउँमा किसान सचेत कार्यक्रम गरिएको छ। सचेतना कार्यक्रमले पनि किसानहरुले पशुमा खोप लगाउने तर्फ चासो दिदैं आएका छन्। किसानहरु माझ खोपको माग बढिरहेको छ।

हेमजा गाई फर्मका संचालक एवं किसान घनश्याम तिमिल्सिनाले खोप प्रभावकारी रहेको बताए। उनले खोरेतको दुई पटक र अन्य खोप एक पटक लगाउने नीति सरकारले अगडि बढाउन आग्रह समेत गरे। पूर्णखोप कार्यक्रमले किसानको पशुधनमा हुने क्षति निकै कम भएको पोखरा ३३ का किसान शोभाखर भण्डारीको थियो।  

कार्यालयका पशु बिकास अधिकृत सहदेव पौडेल पशुधनको क्षति न्युनिकरण हुने र राष्ट्रिय उत्पादनमा टेवा पुग्ने बताए। यसबर्षको पूर्णखोप कार्यक्रम पोखरा महानगरपालिकाबाट सुरु भैसकेको छ। गाउँपालिकामा किसानलाई अभिमुखीकरण गरिएको छ। भेडाबाख्राका लागि पिपिआर खोप चलिरहेको केन्द्रले जनाएको छ। महानगरपालिकाबाट प्राविधिक जनशक्ति अन्य पालिकामा पुगेपछि सबै किसिमका खोपहरु गाउँपालिकामा पुर्याउने पौडेलको भनाई छ।  

प्रकाशित: २२ चैत्र २०७९ १०:५४ बुधबार

पशुमा खोप