अर्थ

सामान्य अंकले घट्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ। मंगलबार नेप्से परिसूचक ५.२० अंकले घटेर १८६६.६८ बिन्दुमा झरेको छ। मंगलबार नेप्से परिसूचक निकै उतारचढावपूर्ण रह्यो। मंगलबार सुरुवाती चरणमा उच्च अंकले घटेको नेप्से परिसूचक कारोबार बन्द हुने बेलामा भने ५.२० अंकले घटेको छ।

मंगलबार ११६ कम्पनीको सेयर घटेको छ भने ८६ कम्पनीको सेयर बढेको छ। १५ कम्पनीको सेयर स्थिर रह्यो। मंगलबार २९ लाख ७१ हजार ९ सय ४७ कित्ता सेयर किनबेच हुँदा ९१ करोड ७६ लाख १० हजार २ सय ९६ रूपैयाँको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेका तीनवटै सूचक घटे। सेन्सिटिभ सूचक ०.७३ अंक, फ्लोट सूचक ०.४१ अंक र सेन्सिटिभ फ्लोट सूचक भने ०.१५ अंकले घटेको छ।

नेप्सेका १३ वटा उपसूचकमध्ये मंगलबार ६ उपसूचक घटे पनि ७ उपसूचक बढेका छन्। घट्ने उपसूचकमा निर्जीवन बिमातर्फ ११९.६३ अंक, जीवनबिमातर्फ ८०.७० अंक, बैंकिङतर्फ भने ५.८१ अंकले घटेको थियो। मंगलबार विकास बैंकतर्फको उपसूचक १०.७८ अंकले बढ्यो। माइक्रो फाइनान्सतर्फको भने ७.६४ अंक र हाइड्रोपावरतर्फ भने ४.४० अंकले बढेको थियो।

मंगलबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा कालिञ्चोक दर्शन कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेको थियो। सनिमा ग्रोथ फन्डको सेयर ८.९३ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको सेयर ७.७३ प्रतिशतले बढेको छ।

मंगलबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा प्रभु डिबेन्चर कम्पनी रह्यो। सो कम्पनीको सेयर ९.२९ प्रतिशतले घटेको थियो। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर ८.०३ प्रतिशतले घट्यो। आशा लघुवित्त कम्पनीको सेयर पनि ३.८० प्रतिशतले घटेको छ।

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ बिन्दुमा झरेको थियो। सो दिन २८ लाख २९ हजार ४ सय २६ कित्ता सेयर किनबेच हुँदा ९२ करोड २४ लाख ९ हजार ११ रूपैयाँको सेयर कारोबार भएको थियो।

एक्सचेन्जका अनुसार सोमबार नेप्सेका तीनवटै सूचक राताम्मे भएर घटे। सेन्सेटिभ सूचक ३.०५ अंक, फ्लोट सूचक १.१६ अंक र सेन्सिटिभ सूचक १.०४ अंकले घटेको थियो। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८.५५ बिन्दुमा झरेको थियो। सो दिन २६० कम्पनीको ३७ लाख ८७ हजार २ सय ४१ कित्ता सेयर १ अर्ब २० करोड ७१ लाख २२ हजार ६ सय रूपैयाँबराबरको सेयर कारोबार भएको थियो।  

प्रकाशित: २२ चैत्र २०७९ ०४:१३ बुधबार

नेप्से परिसूचक नेप्से परिसूचक निकै उतारचढावपूर्ण